कोरोना भाइरस परीक्षण दर घट्दै


हरेकपल April 21, 2020

नेपालमा कोभिड परीक्षण दर क्रमशः घट्न थालेको छ । द्रुत परीक्षण गर्ने उद्देश्यले देशभर १२ स्थानमा पिसिआर मेसिन जडान गरिए पनि परीक्षण दर भने घट्दै गएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मात्रै दैनिक १५ सयसम्म परीक्षण गर्न सक्ने निर्देशक डा. रुणा झा बताउँछिन् । लकडाउन बढ्दै जाँदा कोरोना भाइरसका शंकास्पद व्यक्ति कम भएको हुन सक्ने उनको भनाइ छ ।

एक साताअघि दैनिक नौ सयदेखि ११ सयसम्म परीक्षण हुने गरेकोमा हाल दैनिक चार सयको हाराहारीमा परीक्षण हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घन्टामा देशभर तीन सय २४ जनाको कोभिड–१९ परीक्षण भएको बताए । उनले कोही पनि नयाँ संक्रमित फेला नपरेको पनि स्पष्ट पारे ।

देशभर हालसम्म आठ हजार चार सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण गरिएको छ । जसमा ३० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । एकजनाको भने हङकङमा परीक्षण गरिएको हो ।