स्वास्थ्य सामग्री हस्तान्तरणसँगै स्वाब सङ्कलनका लागि सहज


हरेकपल April 21, 2020

मेलम्ची, ९ वैशाख । नेपाल इञ्जिनीयरियर्स एशोसिएशन वाग्मती प्रदेश र सिन्धु इञ्जिनीयरिङ समाजले जिल्ला विपद् व्यस्थापन समितिलाई स्वाब सङ्कलन बुथलगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अब चौतारा, बाह्रबिसे र मेलम्ची तीनै ठाउँमा सुुरक्षितरूपमा स्वाब सङ्कलनका लागि सहज भएको छ ।

उक्त सहयोगी संस्थाले सोमबार चौतारामा एक थान स्वाब कलेक्सन बुथ, तीन थान पिपिइ सेट, एक थान थर्मलगन र २० थान एन–९५ मास्कलगायत स्वास्थ्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई हस्तान्तरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त सामग्री चौतारा अस्पताललाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीको मरुल्य रु ९० हजार पर्ने सहयोगी संस्था सिन्धु इञ्जिनीयरिङ समाजका अध्यक्ष सञ्जय सापकोटाले बताउनुभयो । आज बाह्रबिसे स्वास्थ्यचौकी र मेलम्ची स्वास्थ्यचौकीलाई पनि सोही परिमाणको सामग्री उपलब्ध गराइने अध्यक्ष सोपकोटाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको शङ्का लागेका व्यक्तिले अब चौतारा, बह्रबिसे र मेलम्चीमध्ये आफूलाई पायकपर्ने स्थानमा गएर नमूना सङ्कलन गर्न सक्नेछन् । जिल्लाको तीन स्थानबाट सङ्कलन गरिएको नमूनालाई परीक्षणका लागि टेकु प्रयोगशाला पठाइने छ ।

एक जनामा आरडिटी पोजेटिभ

सिन्धुपाल्चोकमा पनि एक जनामा आरडिटी पोजेटिभ भएको पाइएको छ । जुगल गााउँपालिका–७ का ३२ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ती व्यक्तिको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाउने तयारी गरिएको छ । काठमाडौँबाट घर फर्केका ३९ जनाको परीक्षण गरिएकामा एउटा रिपोर्ट पोजेटिभ पाइएको हो । भक्तपुरबाट ४१ जुगल आइपुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार भोटेकोशी गाउँपालिकाको सामग्री बोकेको गाडीमार्फत उनीहरु भक्तपुरबाट घर फर्किएका हुन् ।

पन्ध्र मजदुरको उद्धार

बलेफी गाउँपालिकाले दोलखाबाट हिँडेर आएका १५ मजदुरलाई बसको व्यवस्था गरी काठमाडौँसम्म पु¥याउने व्यवस्था गरेको छ । तीन दिनदेखि हिँडेर आज बलेफी बजार आइपुगेको मजदुरको पालिकाले उद्धार गरेको हो । पुनःनिर्माण र सडकको कामका लागि उनीहरु रुकुम र सल्यानबाट दोलखा पुगेका थिए । उनीहरु रुकुम चौरजहारी नगरपालिका–८ का १२ र सल्यान कोमकका तीन जना छन् । उनीहरुको खुट्टा सुन्निएको र हिँड्नै नसक्ने अवस्थामा पुगेकाले उनीहरुको उद्धार गरिएको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो ।

गाडीको र्निमलीकरण

नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सोमबारदेखि सिन्धुपाल्चोकको बन्देउबाट सिन्धुपाल्चोक तथा दोलखा जाने गाडीलाई निर्मलीकृत गर्ने कार्यको शुरुआत गरेको छ । बाहिरबाट आएका गाडीमा सङ्क्रमण हुनसक्ने भएकाले समुदायमा भाइरस नफैलियोस् भन्नका लागि निमलीकृत गर्न लागिएको हो । आजबाट निर्मलीकृत गर्ने कार्यक्रमको शुरुआत गराउँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले कार्यक्रम राम्रो भएको र यसले गर्दा भाइरस फैलनबाट रोक्नेमा विश्वास व्यक्त गर्नुभयो ।

हाल निर्मलीकृत गर्ने कार्य लकडाउनको अवधिभरका लागि निरन्तरता दिइने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले जानकारी दिएको छ । निर्मलीकृत गर्ने कामका लागि सोसाइटीले चार स्वयंसेवक परिचालन गरिरहेको छ । यो कार्यका लागि आगामी दिनमा समेत सरोकारवालासँग समन्वय गरी आवश्यक प्रक्रिया गरिनेसमेत सोसाइटीले जानकारी दिएको छ ।