काठमाडौं, ९ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएकोबताएका छन् । सरकारले जारी गरेको अध्यादेशप्रति संकेत गर्दै उनले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।
उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु सबैको दायित्व भएको उनको ठहर छ ।
उनले भनेका छन्, ‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनुहुँदैन ।’
