उदयपुरमा मंगलबार एकै दिन थप नौजनामा कोरोना संक्रमण पुष्टि


हरेकपल April 21, 2020

उदयपुर, ९ वैशाख । उदयपुरमा मंगलबार एकै दिन थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार धरानमा उनीहरुको गरिएको पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुसहित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकजनामा कोरोना देखिएको हो ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किएका छन् । बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।