कस्ता व्यक्तिले अहंकारको प्रदर्शन गर्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल April 22, 2020

विद्यामदो धनमदस्तृतीयोऽभिजनो मदः ।
मदा एतेऽवलिप्तानामेत एव सतां दमाः ।।
– विदूर नीति

विद्याकको मद, धन सम्पत्तिको अहंकार र कुलको घमण्ड बुद्धिहीनले मात्र गर्छन् । सदाचारीले त अहंलाई दमन गरेर शान्ति खोजिरहेका हुन्छन् ।


मद भनेको अहंभावको प्रदर्शन हो । मान्छेमा विशेषगरी धन, विद्या, कुल एवं रूपको अहंकार हुनेगर्दछ । विद्याले सम्पन्न व्यक्तिमा ज्ञानको घमण्ड हुने गर्दछ । आर्थिक रूपमा सम्पन्नले धनको अहंकार प्रदर्शन गर्दछन् भने कुल सम्पन्न हुनेले आफ्नो कुलको अहं प्रदर्शन गर्दछन् । यसैगरी कसै कसैमा रूपको घमण्ड पनि हुने गर्दछ । यी सबै अहंकार सदा त्याज्य रहन्छन् । किनकि यस्तो अहंको प्रदर्शनले जीवनमा शान्ति प्राप्त हुन सक्दैन भनिएको छ ।


विद्याको अहंकार गरेर म भन्दा जान्ने कोही छैन भन्नु पनि केवल अज्ञानताको प्रदर्शन मात्र हो । ज्ञानको अथाह संसारमा डुबेर पार पाउन असम्भव छ । जसले यो नै ब्रह्मवाक्य हो भन्छन् ती केवल आफ्नो अहंकार मात्र प्रदर्शन गरिरहेका हुन्छन् । संसारमा विद्याले निपूण व्यक्ति पाउन असम्भव छ ।


यसैगरी धनको घमण्ड गर्नु पनि विवेकहीनताको परिचय नै हो । ज्ञानका अगाडि धन केही पनि हुन सक्दैन । धनले राम्रो ओछ्यान किन्न त मिल्छ तर मीठो निद्रा किन्न सकिदैन । धन केवल साधन मात्र हो । सबैकुरा धनले प्राप्त हुन सक्दैन । विशेषतः धनको अहंकारले जीवनमा अशान्ति छाउने भएकाले धनको अहंकार नगर्नू भनिएको हो ।


यसैगरी कुलको घमण्ड गरी म यस्तो कुल खानदानको हुँ भन्नु पनि मदको प्रदर्शन हो भनिनएको छ । सदाचारी अर्थात् बुद्धिमानीले अहंलाई दबाउछन् भने बुद्धिहीनले अहंको प्रदर्शन गर्छन् । अतः अहंलाई त्यागेर सदाचारको बाटोमा लाग्नुपर्छ । किनकि यसैले जीवनमा शान्तिको श्वास फेर्न सकिन्छ भन्ने नीति वचन मननीय छ ।