रामेछापको मन्थलीमा मिनीबस दुर्घटना, १५ जना घाइते


हरेकपल April 22, 2020

काठमाडौं । लकडाउनको समयमा काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन्।
दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ भने, बाँकी घाइतेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ, सामान्य उपचारपछि केहि डिस्चार्ज भइसकेका छन् ।

बसमा बच्चासहित ३९ जना सवार रहेको पौडेलले बताए। उनीहरुलाई अर्को सवारीमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको छ। एक्कासी ब्रेक फेल भएर बस सडकको दाहिने साइडको नालामा फसेको हो। तामाकोसी गापा(३ जफेका बस चालक मनबहादुर खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।