अमेरिकी ग्रिन कार्ड सेवा ६० दिनका लागि रोकिने


हरेकपल April 22, 2020

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थत ६० दिनका लागि रहेको स्पष्ट पारेका छन् ।

यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरुका लागि मात्रै हुने पनि ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेर त्यसबारे लगत्तै केही जानकारी नदिएका ट्रम्पले मंगलबार त्यसलाई स्पष्ट पारेका हुन् ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु नहुने जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अनेत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाई छ ।

आप्रवासन जहिले पनि ट्रम्पले पहिलो प्राथमिकताको मुद्दा बन्दै आएको छ ट्रम्पका लागि छ । तर कोरोना भाइरसको महामारीका कारण यो मुद्दा केही ओझेलमा परेको थियो । फेरि उनले यसलाई अघि ल्याएका छन् । उनी मुलतः आप्रवासी विरोधी रहँदै आएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण कम्तिमा ४४ हजार ८४५ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८ लाख २३ हजार सात सय भन्दा बढी पुगेको छ ।