तावाबाट उम्केर भुंग्रोमा परेका मजदुर


हरेकपल April 22, 2020

पोखरा । आमा अर्कैसँग गएपछि बाबुले अर्की आमा ल्याए। साना भाइबैनी छन्, आफ्नै उमेर पनि १७ पुग्दै छ। दाङको शान्तिनगर गाउँपालिका दुबीचौरका दीपक केसी आठ कक्षाको जाँच सकेर दुई/चार पैसा कमाउने सपना बोकेर कास्की आएका थिए।

टाढाको नातामा ठूलोबुबा पर्ने यज्ञराज बुढाथोकीको साथ लागेर उनी कास्कीको मादी गाउँपालिका आएको महिना दिनअघि हो। ठूलोबुवाले मादी नागी गाउँमा खानेपानीको काममा आफूसँगै उनलाई पनि लगाए। अरूले पाइप बिच्छ्याउने नाली खन्दा झाडी फाँड्नेलगायत काममा दीपकले सघाए। बिहान बेलुका खाना पनि पकाए।

काम गर्दागर्दै १५ दिन पनि भएको थिएन, कोरोना भाइरस फैलिएको हल्लासँगै लकडाउन भएको खबर दीपकले सुने। खनेको कुलोमा बिच्छ्याउने पाइप आइपुगेन। सबैको काम रोकियो। गाउँपालिकाको वडाले मजदुरलाई राहत बाँड्यो। उनीहरूले पनि पाए। ७ जनाले १५ दिन त्यही राहतको दाल चामल खाएर छाक टारे। बास बस्न गाउँकै आमा समूहको भवन छँदै थियो। राहतको दालचामल सकियो। ठेकेदारले गाउँकै किराना पसलबाट उधारो खान भन्दिए। केही दिन गुजारा पनि चल्यो। त्यही किराना पसल पनि रित्तियो। मजदुर टोलीले वडाध्यक्षलाई फोन गर्‍यो। अर्को खेप राहत नआएको उत्तर आयो।

गाउँमा बस्दा न काम भयो न माम। टोलीले बिहीबार झिसमिसेमै गुन्टा कस्यो। कोही दाङका थिए, कोही सल्यानका। ‘अब घरै जाने भनेर हिँड्यौं’, दीपकका ठूलोबुबा यज्ञबहादुरले सुनाए, ‘११ घण्टा हिँडेर पोखरा आयौं।’ जसै उनीहरू पोखराको अन्तिम–अन्तिम सीमा बिरौटा पुगेका थिए, गोधुली त्यो साँझले झमक्कै अँध्यारो लिएर आयो। प्रहरीले उनीहरूलाई अगाडि बढ्नै दिएन। जहाँबाट आएका हौ त्यतै जाऊ भन्यो। नागी गाउँबाट बाटो लाग्दा उनीहरू तातो तावाबाट उम्केको माछोजस्तै फुरुंग थिए, उनीहरू यस्तो ठाउँबाट हिँडेका थिए, जहाँ न काम थियो, न माम। एउटै आशा आफ्नै घर फर्किएर आटोपीठो खाने थियो। परिवारसँग बस्ने थियो।

बिहीबार साँझ प्रहरीले रोकेपछि पसलका पिँढीमै बसिरहेका थिए। फर्किने बाटो बन्द थियो, जाने बाटोमा पनि तगारो। आमा समूहकालाई फोन गर्दा अब नफर्कनू है भाइ भनेको यज्ञराज सुनाउँछन्। पछि फर्किने ठाउँ छैन, अघि जाने बाटो बन्द। त्यो नागी गाउँबाट आएर पोखरामा रोकिँदा न बस्ने ठाउँ न खाने ठेगान हुँदा उनीहरू तातो तावाबाट उम्केर भुंग्रोमा परेको माछोजस्तै भए।

किंकर्तव्यविमूढ भएर पसलका पिँढीमा सुस्ताइरहेकाहरूका मजदुरमाथि साढे ६ बजे साँझ घर फर्किरहेका युवा महेन्द्र उपाध्यायको नजर पर्‍यो। बिरौटाकै उनले सोधीखोजी गरे। मजदुरहरू तावाबाट उम्केर भुंग्रोका परेको बुझे। ड्यामसाइड युवा क्लबका पदम ढकालसँग समन्वय गरी स्थानीय एउटा होटलमा बस्ने र खाने चाँजो मिलाइदिए। त्यो रात त कट्यो। तर, दाङका जाबुराम चौधरी, दीपक गिरी, राजेश चौधरी, दीपक केसी, नरेन्द्र पुन र सल्यानका तेजबहादुर ओली एवं यज्ञबहादुर बुढाथोकीको दु स्ख कटेन। भोलिपल्ट शुक्रबारको बिहान सूर्य उदायो र उज्यालो लिएर आयो, रातलाई दिनमा बदल्न सक्यो उनीहरूका दु स्खलाई सुखमा बदल्न सकेन। अब फेरि कहाँ जाने के गर्ने होटल वरिपरिकाले समेत होटलवालालाई यस्तो बेला नचिनेका नजानेका मान्छे ल्याउने भनेर दबाब दिन थाले।

फेरि तिनै महेन्द्र उपाध्यायले मजदुरका लागि उपायको खोजी गरिरिदन पहल गरे भोलिपल्ट पनि। गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाका स्वकीय सचिव उनलाई थापाले नै मजदुरको समस्या समाधानको टुंगो लगाउन अह्राए। उपाध्यायले सीडीओसँग पासका लागि पहल गरे। पास मिल्ने कुरै थिएन। बाहिर जान र आउन नदिने प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्देशन छँदै थियो। पोखराका मेयर मानबहादुर जिसीसँग कुरा गरे। ‘उहाँले पनि जहाँबाट आएका हुन्, उतै पठाउन भन्नुभयो’, महेन्द्रले सुनाए, ‘कतैबाट पनि उपाय भएन, बिहान ओमशान्ति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कहाँबाट ल्याएर खाना खुवाएँ।’

घर जाने पास पाइएला भन्ने आसले ती मजदुर जिल्ला प्रशासन कार्यालयको गेट पुगेका थिए। तर, उपाय चलेन। नजिकैको कोमागाने पार्कमा गएर उतै सुस्ताए। महेन्द्रले मुख्यमन्त्रीसँग गुहार मागे। मुख्यमन्त्री गुरुङले राहतसहित उतै गाउँमा फर्काउने चाँजो मिलाउन आफ्ना मन्त्रीलाई निर्देशन दिए। उपाध्याय राहतको भारी बोकाएर ती मजदुरलाई गाडीमै गाउँ फर्काउने समयको प्रतीक्षामा थिए। अन्नपूर्ण पोष्टमा खबर छ ।