अध्यादेश खारेज गर्न बागमती प्रदेश कांग्रेस संसदीय दलको माग


हरेकपल April 22, 2020

हेटौंडा, १० बैशाख । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ र ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ खारेज गर्न माग गरिएको छ ।

दुबै अध्यादेश नेपालको संविधान र लोकतन्त्रमाथिको ठाडो प्रहार भएको बताउँदै वदनियतपूर्वक ल्याइएका अध्यादेश तत्काल खारेज गर्न कांग्रेसले सरकारको ध्यानार्कषण गराएको छ । विज्ञप्तिमा ‘स्थिरतातर्फ उन्मुख हुँदै गएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्दै पुनः अस्थिरतातर्फ धकेल्न र सत्तामा टिकिरहने आफ्नो स्वार्थपुर्तिका लागि गरिएको सरकारको यो कार्यको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनता र नागरिक समाजमा आव्हान समेत गर्दछ ।’उल्लेख छ ।

अभिभावकको रुपमा रहेको सरकार अन्यत्र बरालिएर जनताको स्वास्थ्यमा खेलवाड गरिरहेको प्रति आपत्ति जनाउँदै कांग्रेसले संक्रमितको उपचारमा जुट्न, परिक्षणको दायरा फराकिलो पार्न, विपन्न श्रमिक वर्गलाई राहत उपलव्ध गराउन र अलपत्र नागरिकको उद्धारमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैबीच वागमती प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घलेले कोरोनाले विश्व अत्तालिरहेको बेला सरकारले संवैधानिक परिषद सम्बन्धी र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश जारी गर्नु र यो विपद्मा नागरिकको जीवन सकंटमा परिरहेको घडीमा नागरिकका समस्यामा सरकार केन्द्रित नहुनु दुःखद भएको बताउनुभयो । साथै उहाँले संवैधानिक नियुक्तिहरुको साझा स्वामित्वको परिकल्पना गरिएको भए पनि सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थामाथीको ठाडो उल्लंघन गरेको बताउनुभयो ।