आज मातातीर्थऔँसी, आमाको मुखहेर्ने दिन, महिमासहित हेर्नुहोस् २०७७ वैशाख ११ गते


हरेकपल April 23, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २३ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको औँसी तिथि बिहान ७।४० बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र दिवा ३।५७ बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र किंस्तुघ्न करण रहेका छन् । आज सूर्योदय बिहान ५।३३ मा छ भने सूर्यास्त बेलुका ६।३३ बजे हुनेछ । चन्द्रम आज मेष राशिमा रहेका छन् ।


आज मातातीर्थ औँसी हो । वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँशी पर्ने गर्दछ । यस दिन आमाप्रति श्रद्धा भक्ति प्रकट गर्नाले पुण्य प्राप्त हुने शास्त्रीय वचन रहेको छ । आमालाई साक्षात् सृष्टिकर्ताको संज्ञा शास्त्रले प्रदान गरेको छ । आमाप्रति भक्ति भाव व्यक्त गर्ने विशेष दिन मातातीर्थ आँैशी हो । वैशाख कृष्ण अमावाश्यामा मातृप्रति श्रद्धा भक्ति भाव प्रकट गर्ने शास्त्रीय विधान रहेको छ । जुन हाम्रो नित्य परम्परा हो । सृष्टिकर्ताका रूपमा ऋग्वेदले आमालाई उल्लेख गरेको छ : अस्येदु मातुः सवनेषु सद्योमहः ।। (ऋग्वेद, १।६१।७ ) अर्थात् आमा संसारकी सर्जक, सृष्टिकर्ता हुन् । यसैगरी यजुर्वेदले पनि अम्बाका रूपमा आमालाई सम्बोधन गरेको छ –
अम्बे अम्बिकेम्बालिके न मा नयतिकश्चन ।
ससश्त्यश्वकः सुभद्रिकां काम्पीलवासिनीम् ।।
(यजुर्वेद, २३।१८)
आमालाई शास्त्रले देवताको संज्ञा दिएको छ । पौरस्त्य वाङ्मयमा आमाको स्थान सबैभन्दा माथि रहेको छ । आमा संसार सृष्टि गर्ने पहिलो सर्जक हुन् । उनले आफ्नो प्रसव वेदनालई सहन गरेरै भए पनि एउटा नयाँ सृष्टिको जन्म दिन्छन् ।


मातृदेवो भव (तैत्तिरीयोपनिषद्, १।११) अर्थात् आमा देवता समान हुन् । यसैगरी पिता भन्दा पनि हजार गुणा माथिको स्थान आमालाई शास्त्रले दिइएको छ । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते (मनुस्मृति) भन्नुको तात्पर्य पनि यही नै हो ।

सोह्र प्रकारका माताको वर्णन ब्रह्मवैवर्त पुराणले गरेको छ । गुरुपत्नी, राजपत्नी, छोराबुहारी, ठुलीआमा वा सानी आमा, फुपू, शिष्यपत्नी, मित्रपत्नी, माइजू, सौतेनी आमा, भाइबुहारी, सासू, बहिनी, छोरी, जन्मदिने आमा र इष्टदेवीलाई आमा भनिएको छ ।


यसैगरी सोह्र मातृकाको विधान पनि पाइन्छ : गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, शान्ति, पुष्टि, धृति, तुष्टि, आत्म देवता, कुलदेवता । जे भए पनि आमाको स्थान सर्वोपरि रहेको कुरा यस्ता विभिन्न उक्तिबाट पनि प्रष्ट हुन्छ ।


विशेषतः स्वर्गवास भएकी आमाको श्राद्ध गर्ने उपयुक्त दिन औँशी हो । औँशीका दिन पितृलोकमा समुज्वल हुने भएकाले यस्तो विधान गरिएको हो । हाम्रो एक महिना (चान्द्रमास) बराबर पितृका निम्ति एकदिनरात हुन्छ । त्यसैले कृष्णपक्ष पितृका निम्ति दिन हो भने शुक्लपक्ष रात हो । औँशीमा पितृको मध्यदिन हुन्छ । अतः पितृको दिनमा गरिएको श्रद्धाभावले, प्रदान गरिएको तोय पिण्डादिले पितृ तृप्त हुने शास्त्रीय मान्यता रहेको छ ।