राजधानीका सडकमा खटिएका १२ हजार सुरक्षाकर्मीको सुरक्षा खोइ?


हरेकपल April 23, 2020

काठमाडौं । देश लकडाउन भएको बुधबार एक महिना पुगेको छ । सरकारले १५ वैशाखसम्म लकडाउनको समय तोकेको छ । कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी ८० हजारभन्दा बढी सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । त्यसमध्ये पनि सडकमा खटिएका सुरक्षाकर्मी भने कोरोनाको उच्च जोखिममा छन् । पर्याप्त सुरक्षा सामग्रीविनौ उनीहरूले सडकमा चेकजाँच गरिरहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार अहिले देशभर ४७ हजारभन्दा बढी प्रहरी खटिएका छन् । उपत्यकामा झन्डै नौ हजार प्रहरी खटाइएको उनको भनाइ छ । यस्तै, सशस्त्र प्रहरी देशभर साढे ३१ हजार खटिएका छन् । सशस्त्र प्रहरी प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले उपत्यकामा मात्र तीन हजार सशस्त्र प्रहरी खटिएको जानकारी दिए । सडकमा बसेर चेकजाँच गर्नुपर्ने दायित्व ट्राफिक प्रहरी, जनपद प्रहरी र सशस्त्र प्रहरीको हो । तर, सुरक्षा सामग्रीको अभावकै बीचमा चेकजाँच गर्नुपर्दा उनीहरू आफैं जोखिमको अवस्थामा छन् ।

बुधबार दिउँसो बालाजु बाइपासमा अचानक पानी पर्‍यो । सडकमा बार राखेर चेकजाँच गरिरहेका सुरक्षाकर्मी ओत लाग्न दौडिए । सर्जिकल मास्क जस्तो देखिने कपडाको मास्क लगाएका यी सुरक्षाकर्मी अधिकांशको हातमा पञ्जा छैन । गाडीको पास चेक गर्न र सडकमा हिँडिरहेका मानिस नियन्त्रण गर्नुपर्ने सुरक्षाकर्मीहरूले तोकिएको दूरी कायम गर्नसकेका छैनन् । ‘त्यसमाथि दिनमै कति धेरै मान्छेको सम्पर्कमा आउनुपर्छ,’ ओत लागिरहेका एक प्रहरी भन्छन् ।

सडकमा खटिएका अधिकांश सुरक्षाकर्मी सञ्चारमाध्यमसँग कुरा गर्न मान्दैनन् । चेन अफ कमान्ड र माथिको आदेश भन्दै पन्छिन खोज्छन् । नयाँ पत्रिका टिमले बारम्बार अनुरोध गरेपछि बाइपास गेटमा खटिएका नेपाल प्रहरीका असई नाम नखोल्ने सर्तमा बोल्न राजी भए । उनी भन्छन्, ‘सडकका गाडी, मान्छे, तरकारी पसलको भिडदेखि घटनास्थलसम्म पुग्नुपर्छ, तीन मिटर दूरी त कायम गर्नै सक्दैनौ ।’ १२ घन्टे ड्युटीमा खटिएका उनको हातमा पञ्जासमेत छैन । गोजीबाट स्यानिटाइजरको सानो बोतल निकाल्दै उनी भन्छन्, ‘यो स्यानिटाइजर पनि राहत बाँड्नेहरूले दिएका हुन् ।’ प्रहरी संगठनले आफ्नो ब्यारेकमा स्यानिटाइजर उपलब्ध गराएको भए पनि सडकमा खटिने सुरक्षाकर्मीलाई स्यानिटाइजर उपलब्ध गराउन सकेको छैन । नयाँपत्रिका दैनिकमा खबर छ ।