वैदिक वाङ्मयमा आमाको महिमा


हरेकपल April 23, 2020


हाम्रा लागि आज विशेष पर्व , मातृदिवस ! मातातीर्थ अाैँसी तिथि ! अर्थात् आमाको मुख हेर्ने तथा आमालाई खुवाउने दिनका रूपमा हाम्रो समाजमा चल्दै आएको चाड ! अझ साँच्चै भन्ने हो भने हामी पौरस्त्य क्षेत्रवासीका लागि मातृशक्तिको सम्मान गर्ने खास नारीदिवस ! सर्वप्रथम मातातीर्थको यस पावन अवसरमा समस्त मातृवृन्दप्रति सादर नमन गर्दै सबै नेपालीमा शुभकामना समर्पण !


आहा ! कत्ति राम्रो परम्परा बसाएका हाम्रा पूर्वजले ? जसले नौ महिनासम्म गर्भमा राखेर जन्माइन् , दूध पिलाउनदेखि लिएर बोल्न,हिँड्न र जीवनमा सङ्घर्ष गर्दै अघि बढ्न सिकाइन् ,तिनै जन्मदाता जननी तथा ज्ञानदाता प्रथमगुरु आमाको उच्चसम्मानका लागि एकदिन नै छुट्याइदिए, अामाप्रति विशेष श्रद्धा तथा अास्था प्रकटका लागि,अझ भनौँ मातृसेवा वा मातृभक्तिका लागि !


संस्कृतको पूज्यवाची ´मान्`धातुमा ´तृच्`प्रत्यय लागेर बनेको ´माता`शब्दले पूज्य,स्तुत्य,श्रद्धेय,अास्थेय,वन्द्य व्यक्ति भन्ने अर्थ बुझाउँछ। वस्तुतः यस व्युत्पत्ति अनुसारमात्र होइन उनको त्याग,तपस्या,समर्पण आदि सब‌ैदृष्टिले आमा नमस्करणीय छिन्, वन्दनीय छिन्। त्यसैले हाम्रा पूर्वज ज्ञानद्रष्टा ऋषिमहर्षिले वेदमा नै आमाको महिमा गाए र सर्वप्रथम आमाकै वन्दना गर्न सिकाए।´मातृदेवो भव ! पितृदेवो भव! आचार्यदेवो भव!`(तैतिरीयोपनिषद)को उपदेशमा पहिलो पूज्य व्यक्तिका रूपमा आमालाई लिएका छन् र आमालाई देवता मान भनेका छन् । वैदिक वाङ्मयले मातृशक्तिको महत्तालाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैगरी ´त्वमेव माता च पिता त्वमेव`भगवत्स्तुतिका क्रममा पनि मातालाई नै अग्रस्थान दिइएको छ।


मातृशक्तिकै अाधारमा संसार अडिएको मान्दै समस्त प्राणीमात्रमा विद्यमान मातृसत्तालाई भगवतीको रूपमा स्तुति गरिएका प्रशस्त उदाहरण हाम्रा वैदिक वाङ्मयमा प्राप्त हुन्छन्। महिषासुर दैत्यको उग्रयातनाबाट बच्नका लागि पूर्वकालमा देवताहरूले समेत जगदम्बा भगवती माताकै शरण परेका थिए भन्ने कथा देवीभागवत लगायतका पुराणहरूमा भेटिन्छन्। दशैँका बेला विशेषरूपमा पढिने प्रचलन भएकाले हामी सबैले जानेसुनेको ´दुर्गासप्तशती` त अामाको महिमागाथा वा स्तुति गाइएको महत्त्वपूर्ण ग्रन्थ नै हो। त्यहाँ असुरवधपश्चात् आवेगमा आएकी भगवती दुर्गाको रिस शान्त पार्नका लागि देवताहरूले प्रार्थना गरेका छन्-
´देवी प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतो$खिलस्य !
प्रसीद विश्वेश्वरी पाहि विश्व त्वमीश्वरी देवी चराचरस्य !`

शरणापन्नको दुख हरण गर्ने स्वभाव भएकी,चराचर जगतकै आमा रहेकी विश्वचराचरकै आमा का रूपमा रहेकी हे देवी प्रसन्न हुनुहोस्! त्यहीँ नै अामाको यसप्रकार वन्दना गरिएको छ-´या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता। नमस्तस्य‌ै नमस्तस्यै नमस्तस्यै नमो नमः।`सम्पूर्ण प्राणीमात्रमा मातृरूपले विद्यमान ती देवीलाई बारम्बार नमस्कार तथा प्रणाम छ।


वैदिकालमा नै हाम्रा ऋषिमहर्षिले आमालाई उच्चस्थानमा राखेका छन्।सम्पूर्ण विश्वव्रह्माण्डक‍ो सृष्टि ,स्थिति र प्रलयङ्कारी शक्तिका रूपमा आमालाई नै लिएका छन्। त्यसैगरी हामी बस्ने पृथिवी र सिङ्गो प्रकृतिजगतलाई नै आमाका रूपमा सम्मान गर्न आह्वान गरेका छन्-´माता पृथिवी तत्पिताद्यौः०`(शु०यजुर्वेद)अादि वेदमन्त्रले पृथिवीलाई आमा मान्न आदेश दिएका छन्। त्यसैगरी ´माता पृथिवी पुत्रो$हम् पृथिव्या:`(पृथिवीसूक्त) भन्दै पृथिवीलाई माता र जीवमात्रलाई सन्ततिका रूपमा चित्रण गरेका छन्। पृथिवीलाई मात्र होइन सिङ्गो प्रकृतिलाई न‌ आमाको स्थानमा राखी पूजा गर्न निर्देशन दिइएको छ। प्रकृति र मानवजीवनको अन्तर्सम्बन्धको अनुसन्धान गरेर मातृवत् भरणपोषण तथा पालन गर्ने प्रकृतिको संरक्षण गर्न सकियो भनेमात्र प्राणीमात्रको अस्तित्व सुरक्षित रहनेमा ज्ञानद्रष्टा ऋषिगण विश्वस्त थिए। त्यसैले उनीहरूले -´ द्यौ शान्ति:, अन्तरिक्षं शान्ति:, पृथिवी शान्ति:०` अादिमन्त्रका माध्यमले पृथिवीदेखि अाकाशसम्म र पृथिवी र आकाशका बीचमा समेत शान्तिको प्रार्थना गरे । पृथिमा कुनै किसिमको विक्षेप तथा आपत् नआओस्, मानव वा प्राणीमात्र प्राकृतिक प्रकोपको सिकार बन्नु नपरोस् भनेर प्रकृतिको पूजा तथा संरक्षण गर्न प्रेरणा दिए ! प्रकृतिको संरक्षणका लागि नै प्रकृतिलाई माता वा देवता भनी चिनाइएको पाइन्छ। ´पृथिवी देवता,वातो देवता०`अादि वेदमन्त्रहरूले भनेझैँ अामाका रूपमा रहेकी प्रकृतिमा देवत्वदर्शन वा मातृदर्शनपूर्वक पूजा पा संरक्षण गर्दै प्रकृतिको काखमा आनन्दले बाँच्न सकौँ ; मातातीर्थका अवसरमा तथा यो कोरोनाको महाविपत्तिको क्षणमा विश्वका समस्त मानवजातिप्रति नै हार्दिक शुभकामना!


हाम्रा पूर्वजले हामीलाई प्रत्येक वस्तुमा मातृदर्शन गर्न सिकाएका छन्। शिवजीको स्वरूपमा समे अर्धनारीश्वरक‍ो परिकल्पना गरेका छन्। मायाको खानी, दया र करूणाकी प्रतिमूर्ति मातृसत्ताकै कारण विषवृक्षसमानको यो संसार पनि रसिलो र स्वादिलो बनेको छ। आमाविनाको संसार कल्पना समेत गर्न सकिँदैन। आहा! कस्तो दिव्यदृष्टि ! हाम्रा पूज्य पूर्वज महर्षिको! उनशिहरूले वारम्वार संसारको सारतत्त्वका रूपमा आमालाई बुझे, मातृशक्तिलाई माने र हामीलाई ´यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:` मातृशक्तिको इज्जत,सम्मान,पूजा र प्रतिष्ठा गर्ने उपदेश छाडे ।


नीतिशास्त्रमा नारीजाति मात्रको इज्जत र प्रतिष्ठामा कतैबाट प्रहार नहोस् भनेरै ´परदरेषु मातृवत्`भन्द‌ै अरूका श्रीमतीमा अामाको दृष्टि गर्नु भनेर उपदेश गरिएको पाइन्छ । अझ चाणक्यले पाँचप्रकारका आमा हुन्छन् भन्ने बताएका छन्-
´राजपत्नी गुरो:पत्नी मित्रपत्नी तथैव च !
पत्नीमाता स्वमाता च पञ्चैता:मातरःस्मृताः!!
` (चाणक्यनीति)अर्थात् राजपत्नी, गुरुकी पत्नी, मित्रकी श्रीमती, श्रीमतीकी माता(सासू) र अाफ्नी जननी समेत पाँचजनालाई आमाका दृष्टिले हेर्नुपर्दछ।


हाम्रा वैदिक शास्त्रमा आमालाई देवी,भगवती,शक्ति अादि सम्मानसूचक शव्दद्वारा सम्बोधन गरिएको पाइन्छ। अामा साक्षात् भगवतीकै साकारस्वरूप हुन्, त्यसैले आमाको सम्मान गर्नु देवी भगवतीकै पूजा अाराधना गर्नु हो। त्यसैले त आमाको महिमा र गरिमा सम्झाउनकै लागि , अामाप्रति विशेष श्रद्धा र अास्था समर्पणका लागि मातातीर्थ अौँसीको तिथि चयन गरिदिए हाम्रा पूर्वजले ! त्यसको मत्लव यो होइन कि आमाको एकदिन पूजा गरे पुग्छ। अपितु आमाप्रति सदैव श्रद्धालु तथा समर्पित भइरहनु पर्छ भन्ने सन्देश दिन खोजिएको हो। जीवनमा पिताको जति योगदान रहन्छ त्यो भन्दा हजारौँ गुना आमाको त्याग-तपस्या रहेको हुन्छ ! त्यसैले त शास्त्रमा ´सहस्रन्तु पितृन्माता गौरवेणातिरिच्यते` भनेर हजारौँ बाउभन्दा एउटी आमा नै महान् हुन्छिन् । त्यसैले त नेपोलियनले भनेका थिए रे -´मलाई एउटी असल अामा देऊ म तिमीलाई सिङ्गो असल राष्ट्र दिन्छु`। जसका रक्तका कणकण मिलेर गर्भावस्थामा हाम्रो शारीरिक संरचनाको विकास भयो अनि जसको त्याग र समर्पणले जीवनमा शक्ति सञ्चार गर्यो , शारीरिक र बौद्धिक चेतनाको विस्तार गर्यो त्यस्ती जननीको वास्तविक वर्णन गर्नका लागि त संसारका सारा भाषाका शब्दहरू खर्चँदा पनि निश्चय नै त्य‍ो पूर्ण हुन सक्दैन ! जीवनमा मातृवात्सल्यको शब्दमा वयान हुन‌ै सक्दैन ; वयान गर्ने जे जति प्रयास गरिएको छ त्यो त केवल दृष्टिविहीनले छामेर हात्तीको स्वरूप पत्ता लाउन खोज्नु जस्तो मात्र हो ! वस्तुत:अामाले जन्माएका सन्तान खराब हुन सक्छन् तर आमा कहिल्यै दुष्ट अामा हुँदिनन् ! त्यसैले त अाद्यगुरु शङ्कराचार्यले आमाको स्तुति गर्दै भनेका छन्- ´कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति`!!


र अन्तमा मातातीर्थको पावनतिथिमा मेरी जननीप्रति श्रद्धापुष्प समर्पण ! मैले नै राम्ररी देख्ने अवसर नपाएकी मेरी आमालाई म कसरी सम्झूँ यतिबेला ! आमाको माया व्यापारीको जस्तो सापेक्ष हुँदैन , मातृस्नेह त निरपेक्ष हुन्छ ।´नहि माता समुपेक्षते सुतम्` ; सही अामाले कहिल्यै सन्ततिको अपेक्षा गर्दिनन् । त्यसैले तिमीले आफ्नो कोखमा कति मायाले मलाई धारण गर्यौ, आफ्नै जीवन जोखिममा राखेर मलाई जन्म दियौ,सायद०! आफूलाई देख्ने सुअवसर नदिए पनि मलाई संसार देख्ने अवसर दिएकी छौ ! त्यसैले म ऋणी छु अामा तिमीसँग र यो जीवन भरि न‌ै ऋणी नै रहिरहने छु । मातृऋण त के तिर्न सकिन्थ्यो होला र एकैजुनीमा फेरि ? तैपनि तिमीले लगाएको ऋण घटाउने अवसर पनि त दिइनौ ! सायद अाफ्नो सन्तानप्रतिको अामाको माया नै यही होला! त्यसैले त तिम्रो मुटुको टुक्रा आफ्नो सन्तान यादमा तड्पिएला! अनि मातृवियोगको ज्वालामा छट्पटाउला भनेर नै हुन सक्छ तिमीले आफ्नो सग्लो एउटामात्रै चित्रसमेत छाडिनछौ! ठिकै छ आमा ! यो तिम्रो दूरदृष्टियुक्त अतुलनीय मायाप्रति मेरो नमन नै छ । तिम्रो मायालु आँखामा आँखामा आँखा जुधाउन नपाए पनि तिमीले दिएका यी आँखाले मैले संसार नियाली रहेको छु र आज संसारभरिका जतिपनि अामाहरूलाई देख्दछु , ती सबैमा सायद मेरी आमा यस्त‌ै हुनुपर्छ भन्ने अनुमान र अड्कल काट्दै सबैमा मैले तिम्रै स्वरूपको दर्शन पाइरहेको छु। धन्य आमा! तिमीले मलाई जन्माउनका लागि तपस्या गरेकी थियौ र दोलखाको कालिञ्चोक भगवतीसँग भाकल पनि गरेकी थियौ अरे ! जुन तिम्रो भाकल पूरा गर्न दुईवर्ष अघिमात्रै ढिलै भएपनि तिम्रा नातिहरूसहित म देवीस्थान पुगेको थिएँ ! त्यहाँ पुगेर तिम्रै यादमा म भक्कानिन पुगेछु ! त्यतिबेला मैले तिम्री बुहारीलाई समेत हिमालमा लेक लाग्छ यस्त‌ै हो भनेर सम्झाएझैँ पनि गरेको थिएँ। कालिञ्चोक भगवतीको दर्शनमा पनि मैले केवल अदृश्य रूपमा तिमीलाई नै देखिरहेको थिएँ। त्यतिबेला कतै मेरी आमाले आफ्नो जीवनको बदला मलाई त मागेकी थिइनन् ? म निरूत्तर छु अझै!यही प्रश्नले मलाई घोचिरहन्छ, सताइरहन्छ । अामा ! तिमीसँग धेरै त म के मागौँ र ? जसले मलाई जीवन नै दिइसक्यौ ! लाचार छु माग्ने हिम्मत पनि छैन ममा ! अामाकै माया हो , मातृकृपावशात् दिनै चाहन्छ्यौ भने यसैगरी सबैमा तिम्रै स्वरूपको दर्शन पाइरहूँ , पाइरहूँ ! यही नै आशीर्वादको अपेक्षा गरेँ ! अामा ! मेरी जननी ! मेरी जीवनी शक्ति ! मेरी प्राणशक्ति ! अदृश्यरूपमै भएपनि तिमीलाई कहिल्यै नबिर्सूँ ! यहाँसम्म कि मेरो जीवनको अन्तिम समयमा समेत मेरी अदृश्य शक्तिस्वरूपा , मेरी आराध्य भगवतीका रूपमा तिमीलाई नै ´आमा !अामा!!`सम्बोधन गर्दै प्राण छुटोस् !! जय अम्वे !! मातृदेव्यै नमो नमः!!