माता तिर्थ औंशीको दिन -एक्लो यात्री


हरेकपल April 23, 2020


एक्लो कसरी हुन सक्छु र ?
मनभरि उत्साह
मुटुभरि प्रियजनको माया
छाती भरि देश बोकेर
स्मृतिहरूमा रमाउदै हिँड्नुको मजै बेग्लै छ ।

आज मातातिर्थ औंशीको दिन । ति सम्पुर्ण आमाहरूलाई नमन जस्ले सृस्टीको सृजना गरे । आँफ्नो जीवनको प्रभाह नगरी सन्तानको लालन पालन गर्छे । ति आमाहरूलाई जस्ले पकाउदै गरेको एक मुठी चामल झिक्छे र प्रतेक दिन आधापेट खाएर सन्तोष मान्छे । बुझ्दै छु त्यो जोगाएको एक मुठ्ठी अन्न त आमा हजुरआमाको भागको पो रहेछ त । हामी गर्व गर्छौ र भन्छौ आमाले हजुरआमाले पकाउन राखेको भाँडाबाट मुठ्ठी झिकेको थाहा छैन हो त्यसरी छुट््याउनु पर्छ समाजसेवाका लागि । अंह कसैले बुझेन आमा र हजुरआमाले आधिपेट खाएको कुरा ।

सधैँ नयाँनयाँ ठाउँ हेर्न लालायित मन घरको चौघेरा भित्र अट्दै अट्दैन । जति बाँध्न खोजेपनि एकठाउँमा रहनै मान्दैन । यसैले त म हिँडिरहन चाहन्छु । जीवन साथी दीपकजी आउँदासम्म अष्टे«लिया बस्नु छ । लामो समय छिचोल्न यात्रामा पनि लामै बाटो रोज्छु । लामो बाटोले समयमात्र कटाउदैन धेरै चिज देखाउदै पनि लैजान्छ ।

आज अष्टे«लियन मदर्श डे । हिजोअस्तिदेखि छोरी प्रार्थनालाई भ्याईनभ्याई छ । चारवटी आमाहरू जो एकै ठाँउ भनौ अष्टे«लियामै जम्मा भएका छौं । चारजनाका लागि उपहार प्याक गर्नु खानेकुरा तयार गर्नु त्यो पनि लुकिछपी गर्ने कुरा सानो चुनौती थिएन । म बिहानै जाने हुँदा बहिनीहरू उठे । ऊ पनि सवेरै उठी । उपहार दिँदै खानेकुरा भाग लगाई । मन खुशी भयो । २०१७ मे १५ का दिन मेन्डो हाईटबाट कान्छी बहिनी सँगीता, साँहिली बहिनी सरिता प्रार्थना र सानी ग्रेससँग बिदावारी भएर निस्किएँ ।

यसपटक मलाई अस्टे«लियाको आकाश होइन भूगोल नाप्नु थियो । यसैले मेलवर्नबाट सिड्नी जान मैले आकाशको साटो जमिन रोजेँ । यहाँको बसको यात्रा प्लेन र रेलभन्दा महंगो हुने भएकोले बसमा हिँडने रहरै लागेपनि रेलमा जाने निधो गरेकी थिएँ । दीपकज्वाई मलाई पु¥याउन स्टेशनसम्म आउनुभएको छ । बोड मिडोल स्टेशनमा पुग्दा सिड्नी जाने रेलका कर्मचारी आएर सरीसरी भन्दै यात्रु कम भएर रेलको सट्टा बस जाने भयो भन्छन । म खुशी भएँ । मनमनै नाचे । के को सरी नि यो त मेरो कामना पुयाउन भगवानले रचेको तारतम्य हो भने ! मनले ताकेको कुरो पुग्यो । मैले ती कर्मचारीलाई धन्यवाद भने । एकैछिनमा सुन्दर नीलो बस ढल्कदै ढल्कदै आयो । दीपकज्वाई मलाई यहाँसम्म पु¥याउन आउनु भएको थियो । उहाँसँग बिदाबादी भएर मख्ख पर्दै बस चढेँ ।

डेढ महिना लामो मेलवर्नको बसाइ सकेर म नयाँठाँउ जाँदै थिए । अर्थात सिड्नी जाँदै थिए । मनमा कौतहलता थियो । बस गुड्यो मेरो मन बस भन्दा अघि गुडन थाल्यो । बसको अगाडि को सिटमा एक्ले बसेकी छु । अस्तिको दिन समुन्द्रमा लडेर देब्रेगोडा मर्केको थियो दुखिरहेछ । गोडालाई सिड्नी सकुशल लैजानु छ किनकि यिनै गोडाका सहाराले अष्टे«लियाका धेरैभन्दा धेरै भूभाग चाहार्नु छ । गुरुजीकै पछाडि भए पनि उसको सिट मेरो भन्दा निकै तल छ । अगाडि हेर्न मलाई कहिले पनि रोक्दैन छेक्दैन । अझ बसमा ठूलो स्क्रिनमा अगाडिको बाटो प्रश्टसँग देखिरहेको छ ।

२०११ मा बेल्जियमबाट फ्रान्स आउँदा बसका गुरुजीले मलाई अगाडिको सिटमा बस्न दिएको थिएन त्यसको तुष अझै मनमा रहेको छ । त्यो गुरुजीलाई छुच्चो मान्यो मनले । अहिले अगाडि बस्न पाँउदा मन रमायो । सानो सुटकेश माथि गोडा राखेर मज्जाले बसेँ । बसमा न खलाँसी छ न कन्डक्टर नै छ । एकजना गुरुजीको भरमा लामो गन्तव्य तय भएको छ । बस गुडने सडकसँगै रेलका पुराना लिकहरू पनि हिँडिरहेका छन । बाटाका दुवै छेउमा जङ्गल छन् । ठूला घरको ठूलै चाला जस्तो, रूख पनि कित धेरै अनुशासित भएका बाटोमा फोहर हुन्छ भनेर होला एउटा पात समेत झारेका छैनन् । मानिसलाई जस्तै यी रूखलाई जरिवाना लाग्छ भनेर डराएका हुन कि न ? प्रश्न उब्जिनु र हराउनु नौलो भएन ।

बस सेपाटर्न फार्म नजिकै आईपुग्यो । बासुभाइ र पारू बहिनीले काम गर्ने ठाँउ आफूले चिनेको ठाउँको नाम लेखिएको बोर्ड देख्दा मन खुशी भयो । कतै मेरा चिनारूहरू देखिन्छन कि भनेर आँखा तनक्क तन्काए । सेपाटर्न कटेसँगै रेलका लिकहरू पनि ओझेल परे । हाम्रातिर जस्तो राजमार्गमा न गहुँ सुकेको छ न त मकै नै । न कुखुरा यताउता गरेका छन न त जनावर नै । तै पनि बाटोको छेउछाउमा काँडेतार लगाइएको छ ।

घर बस्ती केही छैन एकदम शान्त छ । बसभित्र भएका मानिस भए नभएको पत्तो छैन । सुनसान बोल्दा पनि जरिवानै तिर्नु पर्ला जसरी चुपचाप बसेका छन । घरिघरि बसको अगाडि जडित स्क्रिनमा इनगेज र भ्याकेन्सीको साइन देखिन्छ । म भ्याकेन्सीको साइन देखपछि उठेर पछिल्तिर जान्छु । गोडालाई चलमलाउनु पनि छ र मानिसहरूको अनुहार पनि हेर्नु छ । यदि नेपालमा यात्रा गर्नु थियो त – आठसय उनान्असी किलोमिटरको यात्रा तय गर्ने कुरा चलेदेखि मादल र झुर्माको खोजी हुन्थ्यो । सम्झिए नेपालका साथीहरूलाई । गीत गाउने र नाच्ने साथीको खोजी हुन्थ्यो । लोक गित, भजन र दोहोरीले यात्रामा चार चाँद थपिन्थ्यो । यहाँ त्यस्तो केहीउन्माद छैन, रहरहरू छैनन् । केबल शान्ति छ । बसको पछाडि रहेको शौचालय प्लेनकै जस्तो छ । शौचालय गएर फर्किएँ । हल्लाखल्ला केही छैन यो शान्तिलाई अनुशासन भन्छ कि निरस खै भेउ पाएन सकेको छैन ।

बस एउटा पेट्रोलपम्पका अगाडि रोकियो । राजमार्ग भन्दा पन्ध्र बीस मिनेट पर रहेछ खाजा खाने ठाँउ । सबै झरेसँगै म पनि झरे । आज अष्ट्रेलियन मदर्श डे । दुईचार वटी अष्ट्रेलियन आमाहरू थिए ह्याप्पी मदर्श डे भन्दै नजिकिन खोजे । उनीहरूले पनि ह्याप्पी मदर्श डे भन्दै सेम टु यु भनेँ । म झसङग भए । ए हो त म पनि त आमा हुँ । नेपालबाट छोरीले फोनमा भनिसकी । मेलवर्नकिले उपहार दिईसकी । सिड्नीकाले आजै आउन भनिरहेका छन् । उनीहरू उनका केटाकेटीका आमा म मेरै केटाकेटीकि आमा हो नि । कहाँ हाम्रामा जस्तो सबै वृद्धवृद्धा सबैका बुवाआमा हुन्छन् र ? मैले आफैलाई सम्झाएँ । मेरो देशमा मात्र होइन रहेछ मातृदिवस मनाउने यहाँ पनि रहेछ । अझ यहाँ त बिदा नै दिएर । हाम्रो देशमा मरिचमान ंिसंह प्रधानमन्त्री भए देखि माता तिर्थ औंशीको विदा शुरू गरेका थिए । प्रजातन्त्र , लोकतन्त्र हुदै गणतन्त्रमा आईपुग्दा विदा भागवन्डा लाग्दा लाग्दै आमाको भागै पुगेन । हाम्रोमा जस्तो तिथिमा होइन मे महिनाको दोस्रो आइतबार नै भनेर दिन तोकिएको हुने रहेछ । आइतबार यसै पनि बिदा हुन्छ । अमेरिकामा पनि छ मदर्श डे । १९०८ देखि शुरू भएको र १९१४ देखि छुट्टी दिन थालेको रहेछ । अस्टे«लियामा चाँहि १९२४ देखि शुरू भएको रहेछ । संसारका आमाहरू जिन्दावाद मेरो मुखबाट अनायास शब्द फुस्कियो ।

ती आमैहरूसँगै टाँसिएर फोटो खिचेँ । कहाँबाट आएको भनेरे सोधे । मैले नेपालबाट भने । कहिले फर्किन्छेस भने मेरा श्रीमान् आएपछि एक महिना भित्र फर्कन्छु भनेर जवाफ दिए । मलाई घुम्न आएको भनेर खुबै श्रद्धा गरे झै लाग्यो । नेपालीलाई विदेशीहरूले हेप्छन भनेको सुनिरहेकाले होला यिनीहरूले राम्रो रेस्पोन्स गर्दा खुशी भएँ । उनीहरू बस भित्र गए, म वासरूम गए । वासरूम जाँदा भुँइ पुछिरहेकि केटी वासरूमबाट बाहिर निस्कदा कारको ढोका सुम्सुम्याई रहेकि छे । हेर्दा हेर्दै उ मेरै अगाडि कारमा हुइकिई । म ट्वाल्ल परे । आएर थपक्क बसमा बसे । कामको आधारमा मानिसको स्तर निधारण गर्नु हाम्रो देशको संस्कार मात्र रहेछ जस्तो लाग्यो ।

बस मोडियो र राजमार्ग समात्यो । एउटै गति । उहीँ धुन । वन जङ्गल पानीका ढाप । कङ्गारूका बथान । भेडाका हूलका हूल । चरिरहेका, उग्राइरहेका छन् । साना पोखरीमा पानी खाइरहेका । कोही मरेर लडिरहेका छन् । बाटामा धेरै फार्महरू देखिए । कित होलान फार्महरू ? कोसँग सोध्ने ? एक्लो यात्रीको विशेषता भनेको आफैले प्रश्न सोध्ने र आफैले जवाफ दिने हो । म फेरि झोलामा हात हाल्छु । यसपटक स्याउ निस्किएन, किताब निस्कियो । यात्राको साथी हुन्छ भनेर नेपालदेखि प्रभा बरालको “आत्महत्याको जङ्गल ” (जापानको नियात्रा) र अर्को जयालक्ष्मी राईको ‘‘भर्जिनिया उल्फ र आँसुका फूल” (वेलायत यात्रा)को यात्राको दुबै कृति मैले पढिसकेतापनि यतै छोडनका लागि ल्याएको हु । जयालक्ष्मी राईको किताबलाई सुम्सुम्याएँ । किनकि वेलायत तिरैका मानिस ल्याएर आज अष्टे«लिया बनेको छ जस्तो लाग्यो । उनले यस किताबमा ठूल्ठूला कुरा गरेकि छैनन् । यथार्थको धरातलमा बसेर वेलायतको ब्याख्या गरेकि छन् । त्यै वेलायतले उपनिवेश बनाएको अष्ट्रेलियामा छु । यसैलाइ ओल्टाई पोल्टाई गरे । लामै समय हङकङमा बसीसकेकि जयालक्ष्मीले भर्खर विदेश गएका अल्लारेले जसरी राम्रा अग्ला घरको मात्र बयान गरेकि छैनन् । उनले यथार्थको धरातलमा बसेर त्यहाँको जनजीवन उल्लेख गरेकि छिन् । किताब झोलामा राखेँ । फेरि आँखालाई बाटोतिरै मोडेँ । घरीघरी गोडालाई तन्काउनका लागि भए पनि शौचालयतिर लम्कन्छु ।

कोही चुपचाप खाइरहेका छन्; कोही निदाइरहेका छन; कोही एकोहोरो हेरिरहेका छन् । कित निरस हुन् यहाँका मानिस । गएर सोधूँ जस्तो लाग्छ तिम्रो पहाड घर कहाँ हो ? माइती ? के काम गर्छौ ? छोरा छोरी कित छन् ? म त सगरमाथाको देशकि मानिस । डु यु नो माउन्ट एभरेष्ट ? विश्वको अग्लो शिखर क्या ! म यो कारणले अष्टे«लिया आएको छिट्टै फर्कन्छु । उनीहरूले पनि थाहा पाउँथे नि म कस्तो ठाँऊमा जन्मँे; कहाँ हुर्के ? किन सबैजना अष्टे«लिया आइसक्दा पनि म नेपालमै बसिरहँे ! हेर, तिम्रो देशको समुन्द्रमा लडेर मेरो गोडा मर्कियो दुखिरहेछ । आदि इत्यादि । तिनीहरूसँगको मौन संवादले पनि मनै हल्का भयो । घरिघरि दिदीको फोन आइरहेछ । बोल्ने भनेको फोनमै त हो, मानिस त सबै शब्दविहीन यात्रा गरिरहेका छन् ।

गोलबर्न भन्ने ठाउँमा आएर केही मानिस झरे । यहाँको भेडाको मूर्तिको चर्चा सुनेको थिए, आँखा तानेर हेरँे भेडा देखिन्छ कि भनेर तर देखिएन । सायद बाटामा फाँटभरि भेडैभेडा देखेर मन अघाएको पनि हुन सक्छ । दिदीको फोन अब बाक्लिदै छ । दिदीलाई चिन्ता मेरो खुट्टाको पनि छ । घुम्न आएकि बहिनी घाइते भएको सुन्दा अत्यास पनि हुँदो हो । मैले मुख चलाउने भनेको कि त हाई गर्दा हो कि त दिदीसँग बोल्दा र केहीखाँदा नै हो । हाम्रैतिर जस्सो बस घर अगाडि नै रोििकदन्छ कि भन्ने आग्रह पनि थियो । गुरुजीले नो भन्यो । उसले नो भनेपछि सिद्धियो । हाम्रा तिर जस्तो रोनाधोना, अनुनय विनय यहाँ चल्दैन । साँझ पर्ने बेलामा बस सिड्नी सेन्टरमा पुग्यो । रेलबाट आएको भएपनि आईपुग्ने यहीँ ठाउँ रहेछ ।

मानिस नै मानिस । कोही आइहेछन् । कोही गइरहेछन् । बुवा र दिदी आइपुग्नु भयो । भलाकुसारी भयो । मेरो भन्दा पहिला यही खुट्टोको बयान भयो । गोडाकै वयान गर्दै दिदीको घर जान हिँडयौ । साँझको बत्ती बल्यो तर आँखाले खोजे जस्तो फराकिलो बाटो भेटेन । सफा पनि देखेन हैट कित मात्तिए छ नी बरै मेरा आँखा । डेढ महिना अघि त धुलाम्मे बाटो हुँदै आएको मेरा आँखा यति छिटै मात्तिदा रहेछन् बल्ल थाहा भयो । हामी घर पुग्यौ । गाडी बाट सुट्केश झिकेर भित्र लादै गर्दा बुवाले भन्नु भयो “तिमी पनि नेपालमा दौडिए जस्तै यहाँ आएर दौडिएको भए दिदीको जस्तै हैसियत हुन्थ्यो नि” बुबाको कुराले दाँतमा किरक्क ढुङ्गा लागेजस्तो भयो । बुढेसकालमा बुबालाई मेरो पिरलो रहेछ कि क्या हो ।

लहरै घरहरू थिए । पाँचौ घर दिदीको रहेछ । मैले न त कान्छी बहिनीको घरमा पस्दा गर्व बोध गर्न पाए न त दिदीको घर भित्र पस्दा नै गर्व गर्न पाए । कान्छी बहिनीको घर पुग्दा उ अस्पतालमा थिई । मन भरि चिन्तै चिन्ता थियो । सिड्नी आउदा चिन्ता मुक्त भएर आएको थिए । तर नकारात्मक कुराले दिमागमा उत्पन्न हुने भावहरूलाई कसरी परिवर्तन गर्दो रहेछ, अचम्म लाग्यो ! मेरो खुशीमा मेरै नजर लाग्यो । स्नातकोत्तर गरेको प्रमाणपत्रको दृश्यआयो । मैले हिँड्दै गरेका गोरेटोहरूको याद आयो । खोज्दै गरेको भविष्यको याद आयो । एकै पटक सल्याङ्गमल्याङ्ग गर्दै मैले पार गरेको समय सर्लक्कै आयो । मैले टेक्दै गरेको यो घर मेरी दिदीको दोस्रो घर थियो । मेलवर्नमा भएको घर बाहिरबाट मात्र देखेथेँ ।

बुवा र म भित्र पस्दा दिदी ग्यारेजमा गाडी राखेर तलबाट आउँदै हुनुहुन्थ्यो । मैले नेपाली मातातिर्थ औशीको दिन आमाको मुख हेरँे र अष्टे«लियन मातातिर्थको औंशीको भाग दिदीको मुख हेरेँ । एउटाले मलाई जन्माए अर्किले कर्म गर्न सक्ने बनाए यी दुई नारी मेरो जीवनमा विशेष छन । कान्छीकि छोरीले मेलवर्नबाट मुख हेरेर पठाएकि थिई यहाँ हाम्री ठूलीछोरी छुट्कुले हेरी । शशाङ्क र सारीकाले भोली हेर्ने छन् । तयारी अवस्थाको नियात्रा सङ्ग्रह बाट