भूकम्पको पाँच वर्ष : के के भयो गोरखामा ?


हरेकपल April 24, 2020

गोरखा । विनासकारी भूकम्प गएको पाँच वर्ष बित्यो। २०७२ बैशाख र अहिले २०७७ बैशाख गोरखाको लागि भिन्न छ। भूकम्पको दिन स्मरण गर्दा अहिले पनि मुटु हल्लिन्छ। उनीहरुले भत्किएको ध्वस्त भग्नाबशेष देखाएर भूकम्पको क्षती सम्झने दिन अहिले छैन। कारणः भूकम्पपछि ध्वस्त भएका गाउँ अहिले पक्की संरचनामा जुरुक्क उठेको छ।

केन्द्रबिन्दु जिल्ला भएकाले हुन सक्छ भूकम्प लगत्तै गोरखा आउने दातृ निकायको ओईरो लाग्यो। उद्धार, राहतमा संघ संस्था केन्द्रित भए। तेस्रो वर्षदेखि पुननिर्माणको कामले गती लियो। संघ संस्था घट्दै गए। एउटै संयन्त्रबाट बजेट खर्च हुन नसक्दा भूकम्पपछि कति लगानी गोरखामा भयो भन्ने यकिन तथ्याङ्क कुनै सरकारी अड्डासँग छैन। तर यहाँ भएको संघ संस्थाको गतिविधी, सरकारी लगानी, पुननिर्माणको अवस्थाले अरबौँ रुपैयाँ भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा ५ वर्ष भित्र सकिएको पुष्टि गर्छ।

नेपाल सरकार र दातृ निकायको सहयोगमा विद्यालयहरु सबै ठडिए। भूकम्पमा ध्वस्त भएको चार सय ५२ कक्षाकोठा पुननिर्माण भईसक्यो। ती बाहेक खेलमैदान, सुविधा सम्पन्न शौचालय थप निर्माण गर्ने गरी अहिले धेरैजसो विद्यालयमा काम भईरहेको छ। ढुङ्गा माटोबाट अस्थायी रुपमा बनेका विद्यालय अहिले पक्की बनेका छन्। जिल्ला आयोजना कार्यन्वयन ईकाई ९भबन० का प्रमुख विष्णुप्रसाद मिश्रले भने ‘पुन निर्माण भएका सबै विद्यालय भूकम्प प्रतिरोधी छन्, पहिले जस्तो क्षती बेहोर्नुपर्ने अवस्था अहिलेको विद्यालयमा हुँदैन।’ आधारभूतदेखि माध्यामिकसम्मका चार सय विद्यालय भबन निर्माण भएको छ। कुनैमा दुई कोठे भबनदेखि पुरै विद्यालय नयाँ बनेका छन्।

गाउँगाउँमा देखिने चिटिक्क परेको ठूला रिसोर्ट जस्ता घर जो कोहीले पनि भूकम्पपछिको विद्यालय हो भनेर पहिचान गर्न सक्ने गरी बनेको छ। भौतिक संरचनामा बलियो विद्यालयको शैक्षिक गुणस्तरमा भने देखिने गरी सुधार भएको छैन। विद्यालय मात्र होईन एउटा कोठा वा जिर्ण भबनमा चलेका स्वास्थ्य संस्थाहरुको स्वरुप फेरिएको छ। अहिले सुविधा सम्पन्न स्वास्थ्य संस्था गाउँगाउँमा छन्। स्वास्थ्य चौकीहरु पनि यहाँ अस्थायी धेरै थिए। सेवा सुरु गरिसकेका स्वास्थ्य चैकीले उपचार क्षमता बढाउन जरुरी छ। कतिपय संस्था र सरकारी योजनामै स्वास्थ्य चौकीको स्तरवृद्धी गरिएको छ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डा मात्रै होईन निजी आबास पुननिर्माण पनि तिब्र गतीमा छ। करिब ७२ हजार घर भत्किएको पुननिर्माण प्राधिकरणले पुष्टि गरेको यहाँ ९० प्रतिशत घर निर्माण पुरा भएको छ। अहिले बनेका घर फेरी भूकम्प आउँदा क्षती बेहोर्नुपर्ने खालको छैन। प्राविधिक दृष्टिकोणले निर्माण भएका घरलाई अनुदानमा तीन लाख रुपैयाँ दिने सरकारी तयारीपछि घर बने। रड, सिमेन्ट, इट्टाबाट बनेको घर बलियो हुन्छ भन्ने धारणाले गाउँगाउँमा यसरीनै घर बनेका छन्। ‘पहिले ढुङ्गामाटोले बनाएको घर भत्किएपछि मानिसले अहिले रडसिमेन्ट धेरै प्रयोग गरेर बनाएका छन्’ जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले भनिन्। पहिलेको पुरानो घर बिर्सिएर नयाँ घरमा पीडित बस्न थालिसके।

सर्वसाधारण नागरिकले सेवा लिने सरकारी अड्डाका घरहरु भूकम्पमा भत्किए भने केही पुननिर्माण गर्नुपर्ने अवस्थाका थिए। भूकम्पपछिको पुन निर्माणको मेसो मिलाएर ती घरहरु पनि धमाधम निर्माण भएको छ। जिल्ला अदालत गोरखा साँघुरो घरबाट सुविधा सम्पन्न स्तरीय भबनमा सर्ने तरखर गर्दैछ। जिल्ला प्रशासन कार्यालय निकै पुरानो, साँघुरो घरमा थियो। रेट्रोफिटिङ गरेर मर्मत गरेको भए पनि चल्ने भबन भूकम्पमा क्षती पुगेपछि भत्काईयो। अहिले स्तरीय सुविधा सम्पन्न भबनबाट सेवा दिइएको छ। चारवटा कोठामा सिमित सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालयसँग एउटा कोठा मागेर कार्यालय संचालन गर्दै आएको राष्ट्रिय अनुसन्धानको नयाँ भबन बनेको छ। जिल्ला प्रशासन कार्यालयको क्वाटर, हुलाक कार्यालय, कृषि कार्यालय लगायतका अड्डाहरु भूकम्पको प्रभाव परेकै कारण छिटो र सुविधा सम्पन्न बने। केन्द्रबिन्दु जिल्ला नभएको भए, भूकम्पले भबन नभत्काएको, नचर्किएको भए सायदै यी अड्डाहरु ढिला तयार हुन सक्थ्यो।

सबै संरचना पक्की बनेका छन्। भाडाको घरमा त कोही त्रिपालमा रात बिताएका प्रहरीहरु नयाँ भबनमा सरेका छन्। आफ्नै नयाँ घरमा बस्न पाएपछि हातहतियार सुरक्षा गर्न पनि सजिलो भएको अनुभव उनीहरुको छ। झण्डै एक दर्जन चौकी भूकम्पपछि बनेका छन्। केन्द्रबिन्दु जिल्ला गोरखाका लागि यो पनि अबसर बन्यो। भूकम्पको केन्द्रबिन्दु बारपाकसम्म जाने सडकमा चारवटा पुल जाईकाले निर्माण गरिदियो। काम सुरु गरेको डेढ वर्षमा पुल तयार भए। ति पुल अन्तराष्ट्रिय गुणस्तरका छन्। पुल नबनेको भए बारपाकी अहिले पनि बर्खामा हिडेर आउजाउ गर्नुपथ्र्यो। राङरुङ खोलामा ट्याक्टर समेत तार्न सक्ने अवस्था हुने थिएन। जहाँ अहिले पक्की पुल भएर सवारी साधन चल्छ। ब्यक्तीगत घर मात्रै होईन, त्यहाँ संस्थाले बनाईदिएको वडा कार्यालय पक्की भबनमा छ। ‘बारपाकले २०७२ बैशाख १२ को बिपत्तीको सामना नगरेको भए यो गतीको बिकास देख्न अझै वर्षौँ कुर्नुपर्ने अवस्था हुन्थ्यो होला’ स्थानीय जितबहादुर घलेले भने।

खानेपानी आयोजनाहरु धमाधम गाउँगाउँमा निर्माण भएका छन्। संघ संस्थामा जागिर गर्नेहरुको ह्वातै बढे। सदरमुकाम देखि गाउँगाउँ सम्म चहलपहल बढ्यो। ब्यापार ब्यवशाय पनि बढेकै थियो। होटलहरुले पनि ब्यापार राम्रै गरे। भूकम्प नगएको भए वा गोरखा केन्द्रबिन्दु नभएको भए पाँच वर्ष भित्र देखिएको बिकास क्रम पहिल्यै झैँ हुन्थ्यो भने एक दशक भन्दाबढि लाग्न सक्थ्यो। अन्तिम चरणमा रहेको निजी आवास पुन निर्माणमा लकडाउनको प्रभावका कारण रोकिएको छ। नागरिक द्रैनिकमा खबर छ ।