हेटौँडा, १२ वैशाख । वागमती प्रदेशका १३ जिल्लाका अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको पहिचान गर्ने आरडिटी किट चिकित्सकले लगाउने पिपिइ एन–९५ मास्कलगायत अन्य औषधि आज बिहानैबाट वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ ।
सो केन्द्रका कर्मचारीसहित तीन टोलीले प्रथम चरणमा आज बिहानैदेखि चितवन, धादिङ र नुवाकोटमा स्वास्थ्य सामग्री वितरण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी अमृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १३ जिल्लाका कोरोना अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयमा चिकित्सक गाउन क्रमशः ५००, एन–९५ मास्क १० हजार, सर्जिकल मास्क २० हजार, पञ्जा सात हजार थान र आरडिटी किट एक हजार २०० र स्यानिटाइजर १०० वटा उपलब्ध गराइएको छ । ती औषधिको प्याकेट सङ्घीय सरकार र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गरी उपलब्ध गराइएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी १३ जिल्लाका ११९ स्थानीय तहमा बसोबास गर्ने, बाहिर जिल्लामा रोजगारी गरी आएका व्यक्तिलाई आरडिटी परीक्षण गर्न आवश्यक पर्ने किट र उपकरण र जनशक्ति स्थानीय निकायको मागबमोजिम उपलब्ध गराउँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताउनुभयो । दुई दिनभित्रै १३ जिल्लाको अस्पतालमा वितरण भइसक्ने जनाइएको छ ।