विवादास्पद दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय


हरेकपल April 24, 2020

काठमाडौं, १२ वैशाख । सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले दुई अध्यादेश फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नुहुनेछ । दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।

आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।