गल्ती सच्याएकोमा धन्यवाद, तर अपहरण शैली प्रयोग गर्नेलाई कारबाही गर्नुस् : देउवा


हरेकपल April 24, 2020

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । सो भेटमा सभापति देउवाले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटमा देउवाले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएकोमा धन्यवाद दिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

अध्यादेश फिर्ता लिएर गल्ती सच्याए पनि एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै देउवाले देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने माग गरेका थिए ।

यसअघि बुधबार राति पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादवलाई अपहरण शैलीमा जनकपुरबाट ल्याएर काठमाडौंको होटलमा पुर्‍याएका थिए ।

छलफलका क्रममा देउवाले कोरोना भाइरसका संक्रमण रोकथाम गर्न व्यापक परीक्षण गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । साथै उनले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम तुरुन्तै रोक्न पनि आग्रह गरे ।

देउवाले विदेशमा रहेका नेपालीलाई उद्धार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्न र अब विवादका कुनै कुरा नल्याउन पनि प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।