लकडाउनमा कसैलाई भेट्न जाने कुुरा भएन । कोही भेट्न पनि आउने होइनन् कोठामा । कोरोना भाइरसको संक्रमणको डरले मानव गतिविधि ठप्पजस्तो छ । त्यसैले सामाजिक सञ्जालमार्फत सकेसम्म सामाजिक दूरी घटाउन खोजिरहेको छु । समयलाई समाचारमा हेर्दै र पढ्दै छु । विशेष अहिलेको समयलाई कविलेखकले कसरी हेरिरहेका छन् , त्यसमा ध्यान दिइरहेको छु ।
छिमेकी डेरा–कोठामा गीत बज्दै छ –
बसाइँ हिँड्ने ताँतीले बस्नेको मन रुँदछ
लाखौँका लागि त उजाड छ यो देश
मुठ्ठीभरलाई त स्वर्ग छ ।
छोरा र छोरीको आँसुले छाती पोलेर आउँदछ
साहुको रिन सम्झँदा मनमा डढेलो लाग्दछ ।
…
०००
यो गीत पूरा बज्नै नपाई बीचैमा अर्कै गीत बज्न थाल्छ । आजभन्दा साढेतीन दशक अगाडि जेबी टुहुरेको स्वरमा पहिलो पटक सुनेको थिएँ यो गीत । श्रमजीवी जनताका माझमा निकै लोकप्रिय थियो यो । सुन्नेको मनै चुँडिएलाजस्तो हुन्थ्यो । गरिब निमुखाका आँखा रसाउँथे ।
उहिले यो गीत सुन्दा अभाव र अफ्ठ्याराहरूले थातथलो छोडेर बसाइँ हिँड्ने पात्रहरू सम्झनामा आउँथे । साहुको रिन नतिरे घर खेत जाने समस्याले बाध्य भएर मुङलान जानेको याद आउँथ्यो । छोराछोरीले आफूले जस्तो सारो दुख नभोगूँन् भन्ने चाहनाले परदेशिनेको अनुहार सम्झिइन्थ्यो । अहिले सडकमा भोकै प्यासै पैदलयात्रा घर जाँदै गरेका मजदुरको सम्झना आइरहेछ । फोनमा तिनले सुनाएका पीडा र सामाजिक सञ्जालमा छाएका तस्बिरले मर्माहित पार्दै छ । गीत फेरि सुन्न मनलाग्यो र केही शब्द फेरेर यसरी गाउन पनि –
घरगाउँ जानेको लर्कोले बस्नेको मन रुँदछ
लाखौँका लागि त उजाड छ यो देश
मुठ्ठीभरलाई त स्वर्ग छ ।
०००
मोबाइलमा सुन्न थालेँ गीत ।
सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी, झन् ठूला दुखले घेरेको ।
भरियाको आत्माको आवाज बोल्ने जीवन शर्माकोे गीत सुन्दै गोरखापत्रको सम्पादकीयमा आँखा दौडाउँदै थिएँ । त्यहाँको एउटा अंशले मलाई नमीठोसँग च्वाँस्च्वाँस् घोच्यो–
‘… बन्दाबन्दीभन्दा उचित र विश्वसनीय विकल्प कसैले दिन सकेको छैनन् । यस्तो अवस्थामा पनि घर हिँडेका मानिस भोकै छन् भनेर भड्काउ र भाँडभैलो हुने गरी कर्णप्रिय साहित्य सिर्जना गरेर समस्या समाधान हुन सक्तैन ।’ (२०७७ साल वैशाख ८ गतेको गोरखापत्रको सम्पादकीयबाट ।)
०००
सम्पादकीयको आशय थियो– घर जान हिँडेका निमुखा र गरिब मजदुरहरूको पीडा नलेख । कोरोनाका कारण कोही नमरूँन् भनेर सरकारले गरेको लकडाउनलाई सफल पार्न लागिपर । अन्य पत्रपत्रिकाहरूमा भने मजदुरको भनाइ यसरी आइरहेको थियो – ‘रोगबाट त बँचिएला तर भोकबाट मरिने भइयो । यसरी बेखर्ची भएर सहरमा कसरी बस्न सकिन्छ र !’
यस्तो बेलामा स्रष्टाको भूमिका के हो त ? यस विषयले मलाई गम्भीर बनाउँछ ।
०००
कोरोना नियन्त्रण गर्ने नाममा हामी निर्मम बन्दै जाँदैछौँ । अरूप्रति अमानवीय व्यवहार गरेर पनि आफू बाँच्नुपर्छ भन्ने ठान्दैछौँ । आफ्नो ज्यानप्रति समाजमा यतिसारो लगाव मैले पहिला देखेको थिइनँ । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने मेरो समाज आज एक्लो जिउन खोजिरहेछ । हुन त यो ज्यानमारा भाइरस सर्छ भन्ने डरको कारणले हो तर अमानवीय कुरा पनि उत्तिकै हो । एकले अर्कोलाई अछुत सम्झँदै छौँ हामी । यस्तो अछुत कि अरूको स्पर्शमा मृत्यु देख्छौँ । विश्वास, मित्रता, स्नेह, आत्मीयता भन्ने शब्दले आफ्नो अर्थ हराउँदै गएजस्तो लाग्दैछ । विश्वास आफूप्रति मात्र छ । अरूप्रति छँदै छैन । कहाँ गयो– ‘बसुदैव कुटुम्बकम्’ को भावना ! कहाँ गयो– ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः ।।’ को मर्म !
हाम्रो साहित्यमा भानुभक्तकै समयदेखि लोकको चिन्तालाई महत्त्व दिनुपर्छ भन्ने भाव पाइन्थ्यो–
एक दिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी ।
(आदिकवि भानुभक्त आचार्यकृत ‘रामायण’बाट ।)
हाम्रा लोकगीतहरूमा वनकी चरीको समेत चिन्ता पाइन्छ –
के खायो, के लायो होला
वनको त्यो जुरेली चरीले !
यो परम्परा अहिलेसम्म पनि कायमै छ–
बूढी, हामीले त गुन्यु ओढ्यौँ
गरिबले के ओढ्लान् ?
(कवि हेमन्त विवशको ‘हली’ कविताबाट ।)
लाग्छ, कोरोनाले मान्छेको शरीरलाई भन्दा बढी मनुष्यतालाई हानी पुर्याउन खोज्दै छ । मानवीयतालाई क्षति पुर्याउन लाग्दै छ । हाम्रो परम्पराका सुन्दर मूल्य र मान्यतालाई प्रहार गर्दै छ । यसबाट गरिब र सिमान्तकृत वर्ग अझ बढी प्रताडित हुँदै छन् । आज नकमाए भोलि रिन काड्नुपर्ने अवस्था भएका गरिब मजदुर अफ्ठ्यारोमा पर्दै छन् । र त सुदूरपश्चिमकी दलित–किनारीकृत प्रतिनिधि पात्र देउसरा भन्छिन् –
पाको फल चरीले खायो,
काँचो फल रुखै छ
निर्धालाई कोरोना सधैँ
ठालुलाई सुखै छ ।
(कवि हेमन्त विवशको फेसबुक भित्ताबाट ।)
के कोरोना भाइरससँग लड्न निमुखा र निर्धाको समस्यालाई देखेको नदेखै गर्नु नै स्रष्टाको कर्तव्य हो ? ती जसले बोल्न सक्तैनन् , बोले पनि सुनिदिनुपर्नेले सुनिदिँदैनन् तिनका लागि बोलिदिनु र लेखिदिनु भनेको भड्काउ र भाँडभैलो कर्म हो ? म गोरखापत्रको सम्पादकीसँग सहमत हुन सक्तिनँ । बरू नयनराज पाण्डेको फेसबुको स्टाटससँग सहमत हुन्छु, जहाँ लेखिएको छ–
‘गरिब हिँडेको दृश्य गलत । तिनको रोग, भोक र शोक गलत । श्रमिकको व्यथा र आँसु गलत । सरकार, तिमी पो सत्य रहेछौ । तिम्रो अट्टहास पो शाश्वत सत्य रहेछ । तिम्रो कर्कश बोली पो अन्तिम सत्य रहेछ । तर, तिम्रो ‘सत्य’ किन सबैभन्दा ‘झूठ’ लाग्छ ?’
नयनराज जो सरकारले लकडाउन घोषणा गर्नुअघि नै एकान्तबासमा थिए, तिनी भड्काउ कुरा गर्थे किन ! तिनी त लकडाउन घोषणा हुनुअघि नै यसरी फेसबुकमार्फत नागरिकसँग अनुरोध गर्दै थिए– ‘ हामी अस्तिदेखि नै घरमै क्वारेन्टाइनमा छौँ । हामी अहिलेसम्म सकुशल छौँ । हामीबाट अर्को सूचना जारी नभएसम्मका लागि तपाईँहरूलाई घरमा स्वागत गर्न पूरै असमर्थ भएको व्यहोरा सविनय जानकारी गराउँदछौँ । कृपया आफन्त, साथीभाइ र छरछिमेकीले अन्यथा नलिनु होला । बरु तपार्ईँहरू पनि यसरी नै एकान्तवासमा बस्नुभयो भने यही नै तपाईँको समाजप्रेम, यही नै देशप्रेम र यही नै ‘राष्ट्रवाद’ हुनेछ । धन्यवाद ।’
नयनराज पाण्डे (चैत १० गतेको फेसबुकको भित्तोबाट)
अहिले मानिस निरीह बन्नुपरेको अवस्था छ । दैनिक ज्याला मनदुरी गरेर हात मुख जोर्ने जनता झन् निरीह छन् । लकडाउन अवधि बढ्दै जाँदा सडकमा सुत्नुपर्ने पो हो कि, खर्च सकिएर भोकै मरिने हो कि भन्ने चिन्तामा छन् । यी लकडाउन मान्न चाहेर पनि मान्न असमर्थ छन् । यस स्थितिलाई कवि भूपाल रार्ई ‘लकडाउनमा : म आफ्नो घर फर्किरहेछु’ शीर्षक कवितामा यसरी लेख्छन् –
र, त्यही आईरहने भोकको चप्पल सिएर
त्यही भोकको छतरा ओढेर
तपाईँको सहरबाट हिँडेको
दशौँ दिनसम्म पनि
जब म पुग्दिनँ आफ्नो घर
मलाई पहिलो चोटि यस्तो लागिरहेछ
कि असाध्यै टाढा रैछ मेरो देश ।
(नयाँ पत्रिकाबाट साभार )
कवि मनु मञ्जिल यिनको समस्या सरकारसमक्ष ‘हेलो सरकार’ कविता मार्फत यसरी प्रस्तुत गर्छन्–
… यी मजदुर के भएका हुन् ?
घर नभए पनि यसरी
घर बाहिर निस्कन हुन्न नि हौ
डेरा नभए पनि
डेरामै बस्नुपर्छ ।
उनी अगाडि लेख्छन् –
हेल्लो सरकार !
यौटा कुरो सुनाऊँ
यिनीहरूले लकडाउन नमानेका हैनन्
यिनीहरू राम्रा मानिस हुन्
यस्तो पनि हुन सक्छ कि
खासमा देशमा सरकार पनि छ भन्ने कुरा
यिनीहरूलाई थाहै छैन ।
( फेसबुकबाट साभार ।)
कवि केशव सिलवाल लेख्छन् –
महामारीमा त
महामारीले नै लेखिरहेको हुन्छ कविता
महामारीमा त
अदना शरीरमाथि
मृत्युले लेखिरहेको हुन्छ कविता
… ….
हो, त्यतिबेला तेजिलो भित्तामा होइन
विक्षुब्ध आँखामा लेखिएको हुन्छ कविता ।
(फेसबुकबाट साभार ।)
… … …
राजु स्याङ्तान ‘दाइ हराएको सूचना’ मा लेख्छन्–
…
लकडाउनको पहिलो साँझ
फोनमा भनेका थियौ–
‘इँटाभट्टाको साहुले
कामबाट निकाल्यो
काँचो इँट्टाले बनाको
छाप्रो पनि भत्काइदियो
अब म कहाँ जाऊँ ?’
…
त्यस दिनदेखि आजसम्म
तिम्रो खबर पाएको छैन
मेरो दाइ
तिमी कहाँ छौ ?
(नेपाल साप्ताहिकबाट साभार ।)
यकिना अगाध ‘पख्लास ! साला हरामजादे’ मा लेख्छन् –
हजुरजस्तै
म पनि यही देशको नागरिक हुँ सरकार !
मैले केही मागिनँ हजुरसँग ।
जसरी मागे हजुरको चम्चेहरुले
मन्त्री
जसरी मागे हजुरको भान्सेहरुले
सांसद
जसरी मागे हजुरको सालोहरुले
राजदूत
जसरी मागे हजुरको सहयोगीहरुले
ठेक्का पट्टा
वा
अतिरिक्त कमाई हुने भन्सार ।
यो माग्ने समयभरी
मैले दिई रहे हजुरलाई
रिक्सा चलाएवापत कर
अन्नबाली फलाउन हलो जोतेवापत कर
माटोमा टेकेवापत कर
रोड र पुलहरु बनाउँदा
मजदुरी गरेवापत ज्याला कर ।
जसरी छल्थे हजुरका प्रशासकहरु
घुसखोरी कर
जसरी छल्थे हजुरका उद्योगीहरु
आयत निर्यात कर
जसरी छल्थे हजुरका व्यापारीहरु
मुनाफा कर
मैले कहिल्यै छलिन त्यसरी
देशको लागि तिरिरहें कर ।
यतिखेर
म मर्न लागेको छु भोकले
लकडाउन छ संसार ।
भोकले
रोटीबाहेक अरु केही सोच्दो रहेनछ
रोटीबाहेक अरु केही देख्दो रहेनछ ।
हजुर भने
भान्सामा मासु पकाएको फोटो पोस्ट गर्नुहुन्छ
साबुन कम्पनीको मालिकले जस्तो भन्नुहुन्छ–
‘खाउ–पिउ र मज्जाले मिचि मिचि हात धोउ ।
बाहिर ननिस्क छ महामारी ।’
हजुर भोकको अगाडि
महामारी ?
मृत्यु ?
त्रासदी ?
अरे ! छाडी दिनुस् यी वाहियात कुरो
बाँचियो भने
यी त फुर्सदमा सोचौंला ।
हजुरसँग कहिल्यै नमाग्ने म
माग्दै छु पहिलो चोटि
एक मुठी सामल ।
(फेसबुकबाट साभार ।)
देशको सीमा पनि बन्द छ । देशभित्र छिर्न महाकाली खोलामा हामफालेर पौडी खेलेर देशमा आउँदा अपमानित हुनुपर्दैछ । यो पीडालाई गोकुल अधिकारी यसरी लेख्छन् –
यताले (परदेशले) मलाई काम दियो
मैले यता खर्चेको श्रमको त्यही मूल्यले
त्यता,
बूढीआमाको औषधी खर्च टार्दै थिएँ
भाइलाई विदेश पठाउन बाले लिनुभएको
महँगो ऋणको किस्ता तिर्दै थिएँ
बैंकमा बन्धक रहेको
पत्नीको मङ्गलसूत्र उकास्ने सपना बुन्दै थिएँ
महामारीको डढेलो फैलँदै गर्दा
काम दिनेको घट्ट नै घुम्न छाडेपछि
विनातलब बिदा गर्यो कम्पनीले
उधारो खाने पसलका दैलाहरू बन्द भए
भर–अभरमा काम लाग्ने मित्रजनहरू
आफैँ बेखर्ची र बेसहारा भए
सामाजिक दूरी कायम राख्ने दिव्य आदेशसँगै
दुःखसुखका साथीजस्ता
घरबेटी पनि एकाएक
सम्बन्धको सीमाबाट टाढा टाढा हुँदै गए
कविताको अन्तिमतिर कवि लेख्छन्–
यदि डुबुल्की मार्न नसकेर
नदीको भेलसँगै बगेँ भने
ए, महानदी !
बिन्ती छ,
मेरो लाशलाई
मेरै देशको माटोतर्फ किनार लगाइदिनू
म मेरै देशमा समाधिस्थ हुन चाहन्छु
खरानी बनेरै भए पनि
म मेरै देशको माटोमा विलय हुन चाहन्छु ।
( हरेकपल डट कममा प्रकाशित ।)
राजा निरोले रोम जल्दा बाँसुरी बजाएजस्तो महामारीको समयमा कविलेखक बाँसुरी बजाएर बस्न सक्तैनन् । संवेदनाविनाको स्रष्टा हुँदैन । मान्छे निरीह बनेको यो समय ऊ चुप लागेर बस्न सक्तैन । स्रष्टाको काम संवेदनाको क्यानभासमा समयलाई हेर्ने हो । मान्छेका मनमा परेका चोटहरूको गहिराइ नाप्ने हो । मान्छेको मर्यादा र गरिमाप्रति चासो र चिन्ता अभिव्यक्त गर्ने हो । मानवीयता र मनुष्यताको विषयमाथि हुने चिन्ता र चिन्तनमा आज स्रष्टाहरूले गरेका सिर्जनाले पछिसम्म सघाउ पुर्याउने छन् । यिनको दूरगामी महत्त्व रहनेछ ।