चार मुक्तक


हरेकपल April 25, 2020

१) जूनकिरीको गाउँ

पूर्व पश्चिम पहाडतिर जूनकिरीको गाउँ छ
ओढारभित्र थुम्कीमाथि देउता बस्ने ठाउँ छ
लाग्छ, यो स्वर्गभन्दा प्यारो देशमा जन्मूँ सयौँ बार
आत्माभित्र सजिएको नेपाल देशको नाउँ छ ।

२) दशगजाको गारो
कहिलेकाहीँ यस्तो लाग्छ, फलामभन्दा सारो भैदिऊँ
म ढुङ्गो, बगरबाट उठी, दशगजाको गारो भैदिऊँ
कठोरभन्दा कठोर बनूँ, यतिसारो अप्ठ्यारो भैदिऊँ
देशका दुश्मनका लागि, उम्लिरहेको पारो भैदिऊँ ।

३) बाँच्न खोज्छु

रिस गर्नेहरू छन् र त झन्, सम्बन्ध गाँसेर बाँच्न खोज्छु
आरिस गर्नेहरू छन् र त झन् सुखले बाँचेर नाच्न खोज्छु
शत्रुका अगाडि मुस्कुराउनु नै उसलाई पीडामाथि पीडा हो रे
साजिस गर्नेहरू छन् र त झन्–झन् , हाँसेर बाँच्न खोज्छु ।

४) घर

सुरक्षा, सभ्यता, संस्कार, प्रेम र तिम्रो मन हो घर
आवश्यकता, कर्मस्थल, पहिचान र तिम्रो धन हो घर
स्वतन्त्रता, विशाल आकाश, तिमी एउटा सुन्दर पन्छी
जहाँ पुगे पनि पाउ, फर्किआऊ, तिम्रो आफ्नोपन हो घर ।