मान्छेको गीत


हरेकपल April 25, 2020

कति सुन्नु मृत्युका असह्य आवाजहरू
कति हेर्नु क्रूर कोरोनाका तथ्याङ्कहरू
उफ !
जीवनको लय नै बेसुर र छताछुल्ल
विश्व नै ठप्प
अचानक खोस्यो समयले मान्छेको दिनचर्या ।

यसबेला सपनाका सहरहरू सारा मौन छन्
रातदिन व्यस्त रहने चिल्ला सडकहरू सुनसान छन्
महलहरू सन्नाटा निलेर बसेका छन्
हरेक व्यापारकेन्द्रहरू चुपचाप छन्
मान्छे बन्दीगृहको शिविरमा थुनिएर
अकाल मृत्युको भयले छटपटिएका छन् ।
हिँडेर कहिले नथाक्ने यात्रा अनायासै रोकिँदा
आफन्त रोज्ने ताण्डवनृत्य जहीँत्यहीँ मचिँदो छ
उज्यालोले नै उज्यालो खन्ने खाडल खनेर
विश्वमा शवहरू पुरिँदै छन् अनगिन्ती ।

यसबेला घरका भित्ताहरू तमासा हेर्दैछन्
वसन्त निरीह भएको छ
मान्छेले बुझ्नै नखोजेको प्रकृति धुन अलग्ग छ
चराले गाउने मान्छेको गीत अन्यौलमा छ

ए, कोरोना !
अब त हाम्रो पुकार सुनेर
तेरो शक्ति आफैँ निलेर हिजोका दिन फर्काई दे
अनि मान्छेलाई जीवनको लयको गीत गाउन दे ।