सहिद पिताको निधन


हरेकपल April 25, 2020

काठमाडौँ, १३ वैशाख । प्रजातान्त्रिक आन्दोलनका सहिद खगेन्द्र दाहालका पिता डिल्लीराम दाहालको ८९ वर्षको उमेरमा सहिद गङ्गालाल हृदयरोग अस्पताल, बाँसबारीमा उपचारका क्रममा आज निधन भएको छ । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका पत्नी,दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन वरुणेश्वर–१ (हाल मोलुङ गापा–२) बाट खगेन्द्र दाहाल प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा दलविहीन पञ्चायती व्यवस्थाको विरोधका क्रममा जेल पर्नुभएको थियो । विसं २०३१ असोज १३ गते जेल सार्ने निहुँमा पञ्चायती शासनले उहाँको बर्वरतपूर्ण हत्या गरेको थियो । वरुणेश्वर सहिद भूमिका रुपमा परिचित रहेको छ ।    
    
मृतक डिल्लीराम दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् । उहाँका माइला छोरा फणीन्द्र दाहालले स्वर्गीय डिल्लीरामको पार्थिव शरिरमा दागबत्ती दिनुभएको थियो । उहाँलाई ओखलढुङ्गा जिल्लाका पूर्वमन्त्री, विभिन्न पार्टीका नेता , प्रतिनिधिसभा सदस्य तथा आफन्तजनले अन्तिम श्रद्धाञ्जली दिनुभएको प्राध्यापक एवं वरिष्ठ पत्रकार हरेकपल डटकमका प्रधानसम्पादक पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।