आज अक्षयतृतीया, महिमासहित हेर्नुहोस् २०७७ वैशाख १४ गते


हरेकपल April 26, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २६ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको तृतीया तिथि बिहान ११।४० बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रोहिणी नक्षत्र राति ९।१९ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र वणिज रहेका छन् । आज सूर्योदय बिहान ५।३१ मा छ भने सूर्यास्त बेलुका ६।३४ बजे हुनेछ । चन्द्रम आज वृष राशिमा रहेका छन् ।


आज अक्षययतृतीया पर्व परेको छ । वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व आउने गर्दछ । नास्ति क्षयो यस्य सः अक्षयः(शब्दकल्पद्रुम) अर्थात् कहिल्यै नाश नहुने अक्षय शब्दको अर्थ हुन्छ । यस दिन गरिएका कार्यको फल अक्षय अर्थात् कहिल्यै नाश नहुने शास्त्रमा बताइएको छ । त्यसैले यस दिन शुभ पुण्य कार्य गर्नु उत्तम मानिन्छ ।


अक्षय तृतीया त्रेतायुगको आरम्भ भएको दिन पनि हो । वैशाखशुक्लतृतीयायां चन्द्रे रोहिणीभे द्वितीयप्रहरे शोभनयोगे त्रेतोत्पत्तिः ।। (काशी विश्वनाथ पञ्चाङ्ग, २०७१, पृ.२) अर्थात् वैशाख शुक्ल तृतीया तिथि, रोहिणी नक्षत्रको द्वितीय प्रहर शोभनयोगमा त्रेता युगको उत्पत्ति भएको हो । जुन समयमा भगवान्् श्रीराम चन्द्रको अवतार भएको थियो ।
अक्षय तृतीयाका दिन धर्मघट दान गर्नाले पनि अक्षय पुण्य प्राप्त हुने गर्दछ ।
एष धर्मघटो दत्तो ब्रह्माविष्णुशिवात्मकः ।
अस्य प्रादानातृप्यन्तु पितरोऽपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् ।

पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।। (निर्णयसिन्धु, द्वितीयपरिच्छेद, पृ. ६५)
ब्रह्मा, विष्णु र रुद्रात्मक धर्मघट दान गर्नाले पितृ, पितामहादि सम्पूर्ण पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मत रहेको छ । धर्मघट भनेको जल, तिल, फल, अन्न सहितको कुम्भ अर्थात् कलश हो । जसको दानले पितृले अक्षयतृप्ति प्राप्त गर्दछन् भन्ने शास्त्रीय वचन रहेको छ । यव अर्थात् जौ दान गर्नाले पनि अक्षय पुण्य प्राप्त हुन्छ ।


तस्यां कार्यो यवैर्होमो यवैर्विष्णुं समर्चयेत् ।
यवान् दद्यात् द्विजातिभ्यः प्रयतः प्राशयेद्यवान् ।।
पूजयेच्छङ्करं गङ्गां कैलासञ्च हिमालयम् ।
भगीरथञ्च नृपतिं सागराणां सुखावहम् ।।
(निर्णयसिन्धु, द्वितीय परिच्छेद, पृ. ६५)
अर्थात् जौ को हवन, दान र प्राशन गर्नाले मानव जीवन सुखी हुन्छ भनी ब्रह्मपुराणमा बताइएको छ । सौन्दर्य प्रसाधनका लागि पनि यो दिन उत्तम मानिएको छ –
वैशाखस्य सिते पक्षे तृतीयाक्षयसंज्ञिता ।
तत्र मां लेपयेद्गन्धैर्लेपनैरतिशोभनै ।।
(स्कन्दपुराण)
अर्थात् यस दिनको चन्दनादि लेपनले शरीरमा पुष्टि प्राप्त हुन्छ भनी स्कन्दपुराणमा बताइएको छ ।

अक्षय तृतीयासँग महाभारतको कथा पनि जोडिएकोछ । अर्थात् पाण्डव वनवास गएका वेला द्रौपदीलाई भगवान्् श्रीकृष्णले अक्षय पात्र दिनुभएको थियो । उक्त पाक थालीमा कामना अनुसारका वस्तु जति पनि प्राप्त हुन्थे । उक्त पाकथाली अर्थात् भाँडोमा आफू खानुपूर्व जति र जस्ता वस्तु पनि कामना अनुसार पाक्ने गर्दथे । एक दिन दुर्वासा ऋषि द्रौपदीले खाना खाइसकेपछि अतिथिको रूपमा पुग्छन् र आफू र आफ्ना सहचारी सबै भोकै रहेकाले खाना पकाउन आदेश दिदै नुहाउन नदीतर्फ लाग्दछन् । द्रौपदीले खाना खाएपछि उक्त पाकथालीमा केवल बेलुकी मात्र भोजन प्राप्त हुन्थ्यो । आपत परेपछि द्रौपदीले भगवन श्रीकृष्णलाई स्मरण गरिन् । साक्षात् श्रीकृष्ण भगवान्् पनि त्यही बेला आइपुग्नु भयो र आफू पनि भोकाएकाले केही खानेकुरा माग्नु भयो । द्रौपदी झनै संकटमा परिन् । श्रीकृष्ण भगवान्ले केही त होला लेउ भन्दा आफूसँग केही नभएको पाकथाली पनि बन्द भइसकेको र ऋषि भोजन गराउनु पर्ने बाध्यता रहेको कुरा बताइन् । भगवान्् श्रीकृष्णले उक्त पाकथाली मगाउनु भयो । पाकथालीमा एउटा सागको त्यान्द्रो रहेछ । सोही खानु भयो र आफू तृप्त भएकाले त्यहँबाट हिँड्नु भयो । उता दुर्वासा आदि ऋषिहरू पनि स्नान गर्दा गर्दै अघाएको महशुस गर्न थाले । यस्तो अवस्थामा पुनः भोजन गर्न नसकिने भन्दै द्रौपदीको वासस्थान तर्फ नगई अन्तै लागे । पछि उक्त कुरा द्रौपदीले थाह पाइन् र भगवान् श्रीकृष्णको जय जयकार गरेकी थिइन् । उक्त दिन पनि यही अक्षय तृतीया नै रहेको थियो । अर्थात् सागको त्यान्द्रोले पनि सबैलाई तृप्त बनाउन सक्यो ।


यस दिन जौको सातु सहित सर्वत खाने गरिन्छ । जसले शरीरलाई गर्मीसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । त्यसैले यस पर्वको वैज्ञानिक महत्व पनि रहेको पाइन्छ ।