पार्टी बैठक टार्दै ओली


हरेकपल April 26, 2020

काठमाडौं । सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन।

२० स्थायी समिति सदस्यले बैठक माग गर्दै यही १० वैशाखमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका थिए। त्यसपछि बैठक कहिले बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति नजुटेको हो। ओली र दाहालले शुक्रबारदेखि दुई दिन बालुवाटारमा लगातार छलफल गरे पनि मिति टुंगो लाग्न नसकेको स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘उहाँहरू ९प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल० छलफलमै हुनुहुन्छ। एक-दुई दिनमै बैठकको मिति टुंगो लाग्छ’, दाहालनिकट नेता यादवले अन्नपूर्णसँग भने।

ओलीले बैठक बोलाउन आतुरी देखाएका छैनन्। ‘प्रधानमन्त्रीले अध्यादेश फिर्तापछि तत्काल पार्टी बैठक आवश्यक नरहेको र नियमित बोलाउन अहिले कोरोनाका कारण समाजिक दूरीको कुरा आउनेछ’, ओलीले दाहालसँग व्यक्त गरेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘केही समयपछि बोलाउँदा पनि हुन्छ। संसद् अधिवेशन कसरी बोलाउने भन्ने तयारी र बजेट तयारीमा जुट्नुपर्ने भएकाले समयलाई हेरेर अहिले होइन, जेठ अन्तिममा बोलाऔं।’

स्थायी समिति सदस्यहरूले उठाएका विषय सम्बोधन भइसकेकाले तत्काल बैठकको औचित्य नभएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए। उनले शनिबार वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बालुवाटार बोलाएर सचिवालय बैठक केही दिनमा बोलाउन सकिए पनि स्थायी समिति अलिक पछि बोलाउने जानकारी दिए। उनले शनिबारै उपाध्यक्ष वामदेव गौतमसँग पनि भेट गरेका थिए।

दाहाल, नेपाल र गौतमले भने स्थायी समिति सदस्यले माग गरेपछि विधानतः १५ दिनभित्रै बैठक बोलाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ‘अध्यादेश फिर्ता हुनु स्वागतयोग्य काम भए पनि यसबारे स्थायी समिति सदस्यहरूले माग गरेअनुसार समीक्षा आवश्यक छ। पहिले सचिवालय बैठक बोलाऔं, लगत्तै स्थायी समिति बैठकमा जाऔं। १५-१६ तिर स्थायी समिति बोलाउने गरी सोचौं’, प्रधानमन्त्रीसँग दाहाल र नेपालको प्रस्ताव छ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्यको मागका आधारमा बैठक तय गर्न अध्यक्षद्वयलाई आग्रह गरिरहेको बताए। ‘तत्काल बैठक बोलाएर समग्र विषयको अब समीक्षा आवश्यक छ’, वरिष्ठ नेता खनालले भने। अन्नपूर्ण पा्ष्टमा खबर छ ।