सांसद अपहरण गरेको आरोपमा पूर्वप्रहरी महानिरीक्षक खनालसहित तीनविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी


हरेकपल April 26, 2020

काठमाडौं, १४ वैशाख । समाजवादी पार्टीले आफ्नो पार्टीका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा पूर्वप्रहरी महानिरीक्षकसहित तीनजनाविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ ।

समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले उनीहरुविरुद्ध जाहेरी दिने भएका हुन् । पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिनका लागि समाजवादी पार्टीका अध्यक्षद्वय टेकु जान लागेका हुन् ।

गत बुधबार सांसद यादवलाई खनाल, बस्नेत र श्रेष्ठ मिलेर यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए । यद्यपि आरोपितहरुले े आफूहरुले यादवलाई अपहरण गरेको नभई उनकै चाहनाअनुसार काठमाडौं ल्याएको दाबी गर्दै आएका छन् ।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट सांसद यादवलाई बुधबार राति अपहरण गरेर काठमाडौं ल्याइएको सो पार्टीको आरोप छ । काठमाडौं ल्याएर मेरियट होटेलमा राखिएका सांसद यादव बिहीबार बिहान त्यहाँबाटद बाहिरिएका थिए ।