काठमाडौं, १४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन अन्त्य भएको दुई सातापछि मात्रै स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने भएको छ । अन्य अवस्था सामान्य भएपछि मात्रै सो परीक्षा चलाउने तयारी गरेको हो ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले यससम्बन्धी प्रारम्भिक सुझाव दिइसकेको छ । उनले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका छन् ।
मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा उनले यस्तो बताएका हुन् । सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने बताए ।
मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्प प्रयोग गर्ने दाहालले जानकारी दिए ।
गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी तय भएको एसइई परीक्षा कोरोना भाइरसको जोखिमका कारण चैत ५ गते साँझ स्थगन भएको थियो ।