एजेन्सी । विश्व महामारी कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाको इपिसेन्टर न्यूयोर्कले आफ्नो अर्थतन्त्र पुनः चलायमान बनाउने तयारी थालेको छ ।
कोरोना भाइरस महामारीको उच्च तह पार गरेपछि न्यूयोर्कले अब आर्थिक गतिविधि सुचारु गर्ने तर्फ ध्यान दिन थालेको हो ।
गभर्नर एन्ड्रयू कुओमोले राज्यका आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गर्ने बताएका हुन् । यस अन्तर्गत सुरुमा निर्माण तथा उत्पादन क्षेत्र सञ्चालन गर्न दिइने गभर्नर कुओमोले आइतबार बताए ।
दोस्रो चरणमा आवश्यकताको सिद्धान्त र अवस्था अनुसार व्यवसायहरु सञ्चालनको अनुमति दिइने उनको भनाई छ । हरेक चरणमा दुई हप्ताको अवधी हुने र सो अवधिमा प्रभाव कस्तो रह्यो भनेर अवलोकन गरिने उनले बताएका छन् ।
व्यवसाय सञ्चालन गर्दा कोरोना भाइरसको संक्रमण तथा त्यसबाट अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्यामा बृद्धि भयो वा भएन भन्ने हेरिने उनले नियमित ब्रिफिङ्गको क्रममा बताएका हुन् ।
कुओमोले व्यवसाय पुनः सञ्चालन गर्ने रणनीतिको समयक्रम भने सार्वजनिक गरेका छैनन् । तर राज्यका केही क्षेत्रहरु मे १५ भन्दा पहिले नै सञ्चालन हुने उनले उल्लेख गरेका छन् । शनिबार न्यूयोर्कमा ३६७ जनाको मृत्यु भयो ।
यस्तै लगातार अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्या पनि कम भएको छ । यस्तै संक्रमणको दर राज्यमा ०।८ प्रतिशतमा झरेको पनि गभर्नर कुओमोले जानकारी दिएका छन् ।
जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार न्यूयोर्क राज्यमा अहिलेसम्म २२ हजार भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै राज्यमा संक्रमितको संख्या दुई लाख ९९ हजार भन्दा बढी पुगेको छ ।
अमेरिकामा हालसम्म ५४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या पनि ९ लाख ६५ हजार भन्दा बढी छ ।