वुहानका अस्पतालबाट कोरोनाका विरामी सकिएको चीनको घोषणा


हरेकपल April 27, 2020

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ। वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ।

सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए। गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो।

यसैगरी वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए। उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ।

भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो। चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर यही हो।

चिनियाँ सरकारले यसै महिनाको सुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ। चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ।

स्थानिय संक्रमित शून्यतीर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र तीनमा पनि ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ।

यस्तै बाँकी ६ लाई स्थानिय स्तरमा संक्रमण भएको उनीहरूले बताएका छन्। शनिबार त्यहाँ कोरोनाका कारण एउटा पनि मृत्यु नभएको चीनको भनाइ छ। यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन्। त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ।