केराले बजार नपाउँदा किसान चिन्तित


हरेकपल April 27, 2020

धम्बोझी । बर्दियाको गुलरिया नगरपालिकाका मुकुन्द सुवेदीले १९ बिघा क्षेत्रफलमा ६० हजार केराखेती गर्नुभएको छ । गत वर्ष केराबाट राम्रो आम्दानी गर्नुभएका सुवेदीको यस वर्ष लकडाउनका कारण बिक्री गर्न समस्या भएको छ । गत आर्थिक वर्षमा रु २६ लाख बराबरको केरा बिक्री गर्नुभएका सुवेदीले यस वर्ष रु १० लाखको मात्रै बिक्री गरिएको बतााउनुभयो ।

सुवेदीले जिल्ला कृषि विकास कार्यालय बर्दियाबाट रु १५ हजार केराको बिरुवा अनुदान पाएपछि जग्गा भाडामा लिएर तीन वर्षअघिदेखि केरा खेती शुरुआत गरिएको बताउनुभयो । “बर्दिया केराको लागि उर्वर भूमि हो । अहिले लकडाउनका कारण बिक्री गर्न नपाउँदा बारीमै सड्न लागेको छ ।”

कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएपछि केराले बजार नपाउँदा ठूलो घाटा व्यहोर्नुपरेको अर्का किसान यज्ञ हमालले गुनासो गर्नुभयो । “एउटा बोटबाट निस्केको एक घरी केरामा दुई सयदेखि तीन सय कोसासम्म केरा फल्छ, ठूलो कोसा भएको केरा एक दर्जनको रु एक सयमा बिक्री हुन्छ । ” डेढ बिघा जग्गामा केरा खेती ग¥यो भने बिरुवा रोपिएको १८ महिनामा रु तीन लाख ५० हजारसम्म आम्दानी हुने हमालले बताउनुभयो ।

केराबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले स्थानीय एवम् हाइब्रिड जातका केरा लगाएका थिए । कृषि ज्ञान केन्द्र बाँकेले एक गाउँ एक उत्पादन कार्यक्रम लागु गरेपछि यहाँका किसान झनै केरा खेतीतर्फ आकर्षित भएका हुन् । यो कार्यक्रमअन्तर्गत तीन वर्षअघि किसानलाई ५० प्रतिशत अनुदान दिइएको थियो ।

लगानीमा साझेदारी र उत्पादनमा एकल स्वामित्व भएपछि आफू केरा खेतीतर्फ उन्मुख भएको किसान शम्भु उपाध्यायले बताउनुभयो । एक बिघा जग्गामा दुई सयदेखि तीन सयसम्म बिरुवा रोप्न सकिने र त्यसबाट एक सय क्विन्टल केरा उत्पादन हुने उहाँको भनाइ छ । सिँचाइको राम्रो व्यवस्था भएका कारण राजापुर, बारबर्दिया, मधुवन, गुलरियालगायत यहाँका आठै स्थानीय तहमा केरा खेती फस्टाएको छ । उत्पादित केरा नेपालगञ्ज, बुटवल, काठमाडौँलगायत मुख्य बजारसम्म बिक्रीका लागि लैजाने गरिए पनि लकडाउनका कारण केरा बारीमै रहेको गुनासो उपाध्यायले गर्नुभयो ।