काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता


हरेकपल April 27, 2020

भीमदत्तनगर, १५ वैशाख । अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौँमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ सवारी ९बस० पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा लाग्न सकेको छैन ।

काठमाडौँबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाडौँमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका नेता र विद्यार्थी नेता अग्रसर रहेको देखिएका छन् । सामाजिक सञ्जालमा राहत वितरण र उद्धार गरी घर पठाउने विषयले चुनावी झझल्को दिए पनि झण्डै एक महिनादेखि घर आउन नपाएर सीमावर्ती भारतीय बजारका विद्यालयमा आश्रित नेपाली मजदुर घर ल्याउन जनप्रतिनिधिका साथै प्रदेश र स्थानीय सरकार गम्भीर भएको देखिँदैन ।

काठमाडौँलगायत बाहिरबाट यहाँ आइरहेका नागरिकलाई १४ दिन क्वारेन्टाइन राखेपछि मात्रै होम क्वारेन्टाइनमा राख्न कञ्चनपुरको स्थानीय प्रशासनले स्थानीय तहलाई सचेत गराए पनि कार्यान्वयन नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्ने चिन्ता रहेको छ । “सीमापारि रहेकालाई यहाँ ल्याएर क्वारेन्टाइनको व्यवस्था रहे पनि आफ्ना नागरिकलाई यता ल्याउने विषयमा गम्भीर कोही पनि देखिँदैन”, सुरक्षा निकायका एक प्रमुखले भन्नुभयो, “सीमापारि रहेका मजदुरका विषयमा बोल्ने जनप्रतिनिधिसमेत यहाँ देखिएनन् ।”

सर्वोच्च अदालतले समेत लकडाउनका कारण भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइन राखिएका नेपालीलाई घर फर्काउन अन्यथा भारतमै गाँस, बासको प्रबन्ध मिलाउन आदेश जारी गरे पनि सुनुवाइ भएको छैन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले काठमाडौँलगायत कुनै पनि ठाउँबाट मान्छे ओसार्न जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको बताउनुभयो ।

“बाहिरबाट आउनेको विवरण सङ्कलन र तापक्रम मापन जिल्ला प्रशासनको पहलमा कञ्चनपुरको गजरौला गर्र्दैछौँ”, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले रासससित भन्नुभयो, “बाहिरबाट आउनेलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्छ भनेर हामीले परिपत्रसमेत गरेका छौँ ।” उहाँले केही स्थानमा क्वारेन्टाइन राखिए पनि बाहिरबाट आउने अधिकांश घर फर्किरहेको सुन्नमा आएको बताउनुभयो ।

“सरकारको नीतिअनुसार जो जहाँ छ त्यही बस्नुपर्ने हो” सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, “हामीले कहीँबाट पनि जिल्लामा मान्छे भित्र्याऊ भनेर स्वीकृत दिएका छैनौँ ।” काठमाडौँ सवारी लिन गइरहेका बसलाई जिल्ला प्रशासनबाट स्वीकृत नभएको उहाँले बताउनुभयो । “पहिलोपटक आएका ८६ जनाको गजरौलामा नमूना परीक्षणसमेत ग¥यौँ”, उहाँले भन्नुभयो, “आउनेको क्रम बढेपछि त्यो पनि सम्भव भएन ।” उहाँले आइतबार साँझसम्म अन्यबाट ३८६ कञ्चनपुर भित्रिएको बताउनुभयो । क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तहले गरेको भए पनि मान्छे राख्न गम्भीर नदेखिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीसित व्यवस्थापनका लागि साधन स्रोत नै उपलब्ध छैन ।”

कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा, टनकपुरलगायतका क्षेत्रमा आश्रय लिइरहेका नेपालीलाई स्वदेश ल्याउन स्थानीय प्रशासनले समन्वय गरे पनि ल्याउने विषयमा दुवै देशका सरकारबीच कुरो नमिलेको उहाँले बताउनुभयो । “हामीले केही दिनअघि मात्रै सीमापारि गएर स्थलगत अनुगमनबाट नेपालीको अवस्था बुझ्ने काम गरेका थियौँ”, उहाँले भन्नुभयो, “नेपालीको स्वास्थ्य अवस्था सामान्य र खान, बस्नको व्यवस्था राम्रो भए पनि उनीहरुले आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहेका छन् ।” सीमापारि २५१ नेपाली रहेको बताउँदै उहाँले त्यहाँबाट ल्याउन सकिए भीमदत्तनगरको बैजनाथ स्कूलको क्वारेन्टाइनमा राख्ने गृहकार्य भएको बताउनुभयो ।

सीमापारि रहेकालाई ल्याउने विषयमा स्थानीय प्रशासन केन्द्रको आदेश कुरिरहेको छ । कञ्चनपुरका २७ स्थानमा करिब ६०० भन्दा बढी श्ययाको क्वारेन्टाइन स्थापना गरिएका भए पनि हालसम्म छ महिलासहित १६१ जना मात्रै बसिरहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने दायित्व सरकारको भएको बताउनुभयो । “यहाँ ल्याएर मात्रै भएन, सबैलाई उचित व्यवस्थापनका साथ क्वारेन्टाइन राख्नु पनि प¥यो”, अध्यक्ष मल्लले भन्नुभयो, “त्यो विषयमा कोही पनि गम्भीर भएको देखिँदैन ।”

त्यसैगरी दुई दिनयता यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा समेत समिति यात्रुबाहक बस सञ्चालन भइरहेका छन् । भीमदत्तनगरका समाजसेवी लीलाध्वज बस्नेतले सीमापारि रहेका नागरिक ल्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । “चौध दिन भनेको ठाउँमा २५ दिन बस्दा स्वास्थ्य समस्या देखिएन भने सुरक्षा सतर्कता अपनाएर घर फर्काउन गम्भीर हुनुपर्छ”, बस्नतेले भन्नुभयो, “नागरिकको मानसिक तनावलाई पनि ख्याल गर्नुपर्छ ।” कञ्चनपुरको क्वारेन्टाइनमा बसेका २९ जना भारतीय मजदूर स्वास्थ्य परीक्षणमा अवस्था सामान्य रहेपछि यहाँको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुलमा ज्यालादारीमा लागेका छन् ।

तीन सातादेखि भुस्याहा कुकुर र छाडा चौपायालाई आहारा

मुकुल लकडाउनमा रहेका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका मदन चन्द भने दैनिक चार किलोमिटर हिँडेर भीमदत्तनगर बजार आएर यहाँ रहेका भुस्याहा कुकुर, बाँदर, छाडा पशु चौपायालाई आहारा खुवाउँदै हुनुहुन्छ । भीमदत्तनगरस्थित हेल्प नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहनुभएका चन्दले लकडाउनका बेला विगत २० दिनदेखि हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म बजारमा भेटिने कुकुर, बाँदर, पशु चौपाया र पक्षीलाई आहारा खुवाउँदै आउनुभएको हो ।

“यस्तो विषम परिस्थितिमा सबैले आहारा पाउनुपर्छ र सबै बाँच्नुपर्छ भन्ने उद्देश्यले साथीहरु मिलेर बेसहारा जनावरको आहारा व्यवस्थापन गर्न थालेको आज २० दिन भयो”, उहाँले भन्नुभयो, “यो अभियानमा यहाँका मनकारी व्यक्ति र संस्थाले पनि सहयोग गर्दैछन् ।”

हेल्प नेपाल र यहाँस्थित सम्मी एग्रोका सञ्चालक संविधान गौतमको अगुवाइमा हरेक दिन कुकुर र छाडा पशुलाई घाँस, रोटी, काँक्रा, केरा, दूध र पशुलाई चना, मटर, गहुँलगायतका खाद्य वस्तु दिँदै आइएको छ । “दैनिक १० लिटर दूध र २० दर्जन पाउरोटी त कुकुरका लागि ठिक्क हुन्छ”, चन्दले भन्नुभयो, “सामान्य अवस्थाजस्तो जीवजन्तुले बजार क्षेत्रमा सहजै आहारा पाउने अवस्था छैन ।”

पाँच जनाको समूहले घरबाट आहारासमेत ल्याउने गरेका छन् । चन्दले विगत १५ वर्षदेखि आफूले सञ्चालन गरेको चिया पसलमा समेत भुस्याहा कुकुरलाई आहारा दिएर पालनपोषण गर्दै आउनुभएको छ । “खाद्यान्न सहज आपूर्ति नहुँदा मान्छेलाई नै राहत दिनुपर्ने स्थिति भएका बेला छाडा पशुचौपायालाई बचाउन कसैको ध्यान पुगेन”, चन्दले भन्नुभयो, “दैनिक एक क्विन्टल जति खाद्यान्न आहाराका रुपमा दिँदै आएका छौँ ।”