सरकारको अवरोधका बाबजुद सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेतको सहयोग जारी


हरेकपल April 27, 2020

सिन्धुपाल्चोक, १५ वैशाख । सरकारको अवरोधका बाबजुद पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा मेडिकल सामग्री सहयोग गर्दै आएका छन् ।

चीनबाट फैलिएको कोभिड १९ कोरोना भाइरसले विश्वमा आक्रान्त बनाएपछि सरकारले गरेको लकडाउनपछि बस्नेतले सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्था तथा अस्पतालमा कोरोना भाइरसको रोकथामको लागि प्रयोग गरिने सामग्री वितरण गरेका हुन् ।

उनले मास्क, सेनिटाइजर, ग्लोब्स, स्वास्थ्यकर्मीहरुको लागि एप्रोन, गाउँ र कोरोना संक्रमित बिरामीको उपचारमा खटिन प्रयोग गरिने (पिपिई) व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्दै आएका छन् ।

सरकारले स्वास्थ्य सामग्री तथा राहत वितरणमा एकद्वार नीति अपनाए पनि सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै पनि स्वास्थ्यसामग्री आउन सकेको छैन । यही बीचमा जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा आवश्यक मेडिकल सामग्री सहयोग गर्दा सत्तारूढ दलका नेताहरुले आफूलाई रोक्न प्रशासनलाइ दबाब दिन थालेको नेता मोहन बहादुर बस्नेतले बताए ।

‘अहिले सरकारले कुनै पनि मेडिकल सामान उपलब्ध गराउन सकेको छैन, तर मैले विभेदकारी नबनी प्रहरी प्रशासनदेखि स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि समेत सहयोग गर्दै आएको छु,’ बस्नेतले भने, ‘सत्तारूढ दलका नेताहरुले प्रहरी प्रशासनलाई दबाब दिएर रोक्न खोजे पनि कुनै प्रवाह नगरी सिन्धुपाल्चोकमा उक्त मेडिकल सामान सहयोग गर्दै आएको छु ।’

उनले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नेपाली–चीन सीमा क्षेत्रको भोटेकोसी गाउँपालिका, सुनकोसी गाउँपालिका, लिसङ्खुपाखर, बलेफी जुगललगायतका इलाका स्वास्थ्य चौकीमा पिपिईसेट सहित सहयोग गरेका छन् ।