सरकारको सर्वसत्तावादविरुद्ध तीन विपक्षी दल एकताबद्ध भएर संघर्ष गर्ने


हरेकपल April 27, 2020

काठमाडौं, १५ वैशाख । सरकारको सर्वसत्तावादविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा संसदमा रहेको तीन विपक्षी दल एक भएर संघर्ष गर्ने भएका छन् ।

सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै उनीहरुले लोकतन्त्रवादी शक्तिहरुलाई एकताबद्ध गरेर संघर्ष गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सोमबार बसेको नेपाली कांग्रेस, जनता समाजवादी दल र राप्रपा शीर्ष नेताको बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको ठहर गर्दै एक भएर संघर्ष गर्ने निर्णय गरेको हो । बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको थियो ।

बैठकले समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवको अपहरण सरकारकै संलग्नतामा भएको निष्कर्ष निकाल्दै विज्ञप्तिमा सो घटनाको भर्त्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपराधिक कार्यको यो वैठक घोर भर्त्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’