आज आद्यगुरु शंकराचार्यजयन्ती, हेर्नुहोस् २०७७ वैशाख १६ गते


हरेकपल April 27, 2020



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको १६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २८ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको पञ्चमी तिथि बिहान ११।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । आद्र्रा नक्षत्र राति १०।३२ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२९ मा छ भने सूर्यास्त बेलुका ६।३५ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।


आज आद्यगुरु शंकराचार्यजयन्ती हो । वेदान्तदर्शनका आदि व्याख्याता शंकराचार्यको वैशाख शुक्लपञ्चमीका दिन जन्म भएको थियो । उनका अद्वैत वेदांतको व्याख्या गर्दै उपनिषद् र वेदान्तसूत्रहरूको जीवनोपयोगी व्याख्या विशेष स्मरणीय रहेका छन् । यसैगरी ब्रह्मसूत्रका भाष्य पनि आज विशेष चिन्तनका विषय रहेका छन् । उनका उपदेशहरू आत्मा र ईश्वरीय एकरूपतामा आधारित छन् । यो संसार एक्लैछ । हामी एक्लै आयौँ र एक्लै नै जानुपर्छ । आफ्नो कर्मको भोक्ता स्वयं आफू नै हौँ भन्ने अद्वैत वेदान्तको मूल मर्म हो ।