वैदिक धर्मदर्शन र शङ्कराचार्य


हरेकपल April 28, 2020

´मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झिदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।`

[ महाकवि लक्ष्मीप्रसाद देवकोटा ]

संस्कृतको ´धृ`धातुमा ´मन्` प्रत्यय लागेर बनेको धर्म शव्दको व्युत्पत्ति अनुसार जे धारण गरिएको छ वा आचरणमा उतारिएको छ त्यसलाई नै धर्म भनिन्छ । यसरी हेर्दा कुनैपनि वस्तु वा प्राणीमा रहने पृथक् गुण तथा विशेषता नै धर्म हो । पशुमा पाशविक गुण तथा दानवमा दानवीय स्वभाव रहेझैँ मानवमा मानवीय प्रवृत्ति रहेको हुन्छ । त्यसैले अन्यबाट अलग्याउने निजी गुण , विशेषता वा प्रवृत्तिलाई नै धर्म भनिन्छ । हाम्रा पूर्वजले´धारणात् धर्ममित्याहु: धर्मं धारयते प्रजाः`[महाभारत] भनेर यही धारण गर्नलायक वस्तुस्वभाव वा आचरणलाई नै धर्म मानेका छन् । त्यसैले अन्य प्राणीजगतबाट मानवलाई अलग्याउने वा मानवमात्रमा रहने विशेषता नै मानवीय धर्म हो। अतः मानवलाई मानव बनाउने जुन तत्त्व हो त्यो नै मानवीय धर्म हो। यसअनुसार मानवता नै मानवधर्म हो भन्ने निष्कर्ष प्राप्त हुन्छ। त्यसैले आफ्नो अस्तित्व जोगाउनका लागि धर्मको रक्षा गरिनुपर्छ भन्नेमा हाम्रा पूज्य पूर्वजले जोड दिएका छन् । मनुमहाराजको उपदेश छ-´धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः।` [मनुस्मृति-८/१५] अर्थात् धर्मको नाश हुँदा मानवीय अस्तित्व नै सङ्कटमा पर्ने भएकाले आफ्नो अस्तित्व सुरक्षणका लागि मानवले धर्मको रक्षा गर्नैपर्छ।


धर्म बाह्य आवरणसँग सम्बन्धित नभई आचरणसँग सम्बन्धित छ। त्यसैले हामी कसैबाट पनि मानवीय अस्तित्वलाई सङ्टमा पुर्याउने किसिमका आचरण तथा व्यवहार गरिनुहुँदैन। यदि गरिन्छ भने त्यो ठूलो अपराध हो। जसरी हामीले अघिल्ला पुस्ताबाट सिक्यौँ त्यसैगरी हामीबाटै भोलिका पुस्ताले सिक्ने हुन् भन्ने सत्यमा हामी सचेत हुनुपर्छ। अझ त्यसमा पनि समाज वा राष्ट्रका ठूला मानिएका व्यक्ति विशेष सजग रहनुपर्छ। ´यद्यदाचरति श्रेष्ठ:तत्तदेवेतरे जना:` [श्रीमद्भगवद्गीता] अर्थात् श्रेष्ठ मानिएका व्यक्तिको आचरणलाई अन्य सर्वसाधरणले अनुसरण गर्छन्। अत: त्यसतर्फ मानवले ख्याल पुर्याउनुपर्ने सचेतना शास्त्रमा दिइएको पाइन्छ।
सृष्टिको प्रारम्भिक चरणदेखि न‌ै मानवमा मानवताको विकासका लागि हामीकहाँ चिन्तन, मनन तथा अनुशीलन हँदै आएको देखिन्छ। हाम्रा पूर्वज त्रिकालदर्शी ऋषिमहर्षिले मानवीय हित तथा विश्वकल्याणका लागि जे जे आचरण गरे र मानवयात्राका लागि जस्तो मार्गचित्र कोरिदिए वा पथप्रदर्शन गरे त्यही तपस्वीको तपस्याद्वारा प्रतिफलित तथा आर्षआचरणद्वारा अनुसन्धित प्राच्य मानवधर्म नै वैदिक धर्म हो। ´यतो धर्मस्ततो जयः`को सिद्धान्तलाई आदर्श मान्ने हाम्रा दिव्यदृष्टियुक्त मुनिजनले मानवीय जीवनको विकास तथा उत्थानका लागि स्वयंद्वारा आचरणमा उतारिएका सत्-चारित्र्य, नैतिक कर्तव्य आदि मानवीय सद्गुणको पाठ हामीलाई पढाएका छन् वा वैदिकवाङ्मयमा उपदेश छाडेका छन् , त्यही वेदनिर्दिष्ट मानवधर्म न‌ै वैदिक धर्म हो।


वेदभन्दा पछि आएको महाभारतमा पनि´वेदोक्तः परमो धर्मः` [अनुशासनपर्व-१४१/६५] अर्थात् वेदमा भनिएको वा वैदिक महर्षिले प्रतिपादन गरेको वैदिकधर्मलाई नै परमधर्म मानिएको छ। हाम्रालागि सर्वोपरि शास्त्र वेद नै हो। त्यसैले त ´न वेदेन समम् शास्त्रम्`[पद्मपुराण], तथा ´नास्ति वेदात् परं शास्त्रम्`[भविष्यपुराण] आदि भनिएको पाइन्छ। अतः वेदद्वारा प्रतिपादित, वेदानुकूल पुराण अादि स्मृतिशास्त्रद्वारा अनुमोदित एवम् शिष्टजनद्वारा आचरित धर्म नै सत्यसनातन वैदिकधर्म हो। समग्र मानवजातिलाई मानवताको पाठ पढाउँदै तथा कर्तव्यबोध गराउँदै जीवनलाई वन्दनीय, पूजनीय, अनुसरणीय बनाउने विश्वको एकमात्र मानवधर्म भनेक‌ै यही वैदिक धर्म हो।


वैदिकधर्म हाम्रै भूमिको उपज हो। विश्वलाई नै आदर्श जीवनपद्धति सिकाउनका लागि हाम्रै हिमालीभेगका गुफाकन्दरा तथा नदीनालाका तटमा रही दीर्घकालीन साधना र तपस्या गरी हाम्रा पूर्वज ज्ञानद्रष्टा ऋषिमहर्षिले जुन ज्ञान हाँसिल गरे अनि त्यही चेतनाको किरण फिँजाएर सर्वप्रथम विश्वलाई नै सचेत र जागरुक बनाए त्यही चेतना,दृष्टि,ज्ञान वा दर्शन नै वैदिक धर्मदर्शन,पूर्वीय सभ्यता वा पौरस्त्य संस्कृतिका रूपमा सर्वत्र प्रतिष्ठित बन्न पुग्यो। राष्ट्रकवि घिमिरेले आफ्नो कवितामा ´ब्यूझौँला कहाँ पूर्वको पहिलो उज्यालै नरहे` भनेर यही पूर्वीय ज्ञानको आलोक पाएर नै विश्व अज्ञानरूपी निद्राबाट बिउँतिएको हो भन्ने सङ्केत गरेका छन्। अनि महाकवि देवकोटाले त झनै ´मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको , हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको` भन्दै विश्वको सर्वप्राचीन सभ्यता भनेको पूर्वीय सभ्यता हो र यो सभ्यता हाम्रै हिमाली क्षेत्रबाट उदाएको हो भनी ठोकुवा गर्दै मुक्तकण्ठले प्रशंसा गरेका छन्। त्यसैले विश्वलाई जीवन बाँच्ने कला सिकाउने तथा अाध्यात्मिक चेतनाको ज्योतिद्वारा जगाउने अभिभारा निश्चय नै पौरस्त्य क्षेत्रवासी हिमाली हामी नेपालीकै हो।

यस अभिभारालाई पूरा गर्नतर्फ हाम्रा पूर्वजले हामीलाई वारम्वार सचेत गराएका पनि छन्; जस्तै-
´एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः।।
` [मनुस्मृति]
अर्थात् यस क्षेत्रमा जन्मिएका अग्रज व्यक्तित्वको अाचरणलाई अनुशीलन गर्दै विश्वका मानवमात्रले आ-आफ्नो चरित्रको विकास गरून् । यसबाट हामी विश्वका मानवजातिमात्रलाई जीवन जिउँन सिकाउने जगद्गुरु थियौँ , हौँ र हुनैपर्छ भन्ने गौरवशाली तथ्यको सिद्धि हुन्छ। अतः मानवीय चरित्र विकासका लागि हाम्रा अग्रजले जुन भूमिका निर्वाह गरेका थिए, त्यसलाई बहन गर्नु वा त्यसको नेतृत्व लिनु अहिले हाम्रासामु ठूलै चुनौती र अवसरका रूपमा समेत देखा परेको छ। कोरोना महामारीको वैश्विक प्रकोपबाट आक्रान्त समस्त मानवजातिले यतिबेला हामीबाट यही भूमिकाको अपेक्षा गरिरहेको छ । उदाहरणका लागि भलै रोगसङ्क्रमणबाट बच्नका लगि भएपनि पाश्चात्यमूलका सर्वशक्तिशाली मानिएको राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले (ट्रमलगायत अन्य थुप्रै पाश्चात्य राष्ट्रप्रमुखले) आफ्नो भूमिको अभिवादनशैलीलाई त्यागेर पूर्वीय संस्कृतिको नमस्कारलाई अङ्गीकार गर्नुले त्यसै कुराको अनुसरण गरेको होइन र ? त्यसैगरी सङ्क्रमणबाट जोगिनका लागि मिची मिची हात धुनुपर्ने उपाय उनीहरूले सिकाउनुपूर्व नै हाम्रा पूर्वजले हरेक कार्यको शुभारम्भमा स्नान तथा पाइलापाइलामा हस्तप्रक्षालन गर्न सिकाउनु वैज्ञानिक रहेनछ र ? अनि ´एकान्ते सुखमास्यताम् ` भन्दै एकान्तमा बसेर न्यासध्यान गर्न सिकाएका पूर्वजलाई बाह्य सङ्क्रमण तथा तनावबाटबाट बच्नका लागि एकान्त (लकडाउन)मा बस्नुपर्छ भन्ने ज्ञान रहेनछ र ? अर्थात् न्यासध्यान योग समाधिमा रहन सिकाएर साँच्चै हाम्रा पुर्खाले हामीलाई अकर्मण्य नै बनाउन चाहेका रहेछन् त ? अथवा त्यसरी एकान्तसेवी बन्दै आएको भए यतिबेला हामी धेरैले घरमा थुनिएर रहेको ठानी दिक्क हुनु पर्थ्यो र ? भौतिक विकास तथा सुखसुविधाको भोगमा वास्तविक सुख नभई आध्यात्मिक तथा प्राकृतिक जीवनमा नै सुख देख्दै प्रकृतिको एकान्त काखमा गएर अध्यात्म चिन्तन गर्न सिकाउने हाम्रा पूर्वजले जीवनको रहस्य नबुझेकै हुन् त ? पछिल्लो समय पाश्चात्य मुलुकका विभिन्न विद्यालय, अस्पताल तथा संसदभवनमै समेत वैदिक स्वस्तिवाचन गर्न थाल्नुले जीवनमा हरेक कार्यको शुभारम्भमा स्वस्तिशान्ति पाठ गर्नुपर्छ; शुभसङ्कल्प गर्नुपर्छ भनेर सिकाउने हाम्रा पूर्वजक‍ो व्यवहार साँच्चै रुढिवाद र अन्धविश्वासले गर्दा नै चलेका रहेछन् त ? अनि ढिलै भएपनि विश्वले यसबेला पूर्वीय जीवनशैलीप्रति झुकाव , चासो राख्दै अनुशीलन गर्न थाल्नु परापूर्व कालदेखि हामीले मान्द‌ै आएका पूर्वीय धर्मसंस्कृति तथा प्राचीन वैदिक जीवन पद्धतिक‍ो श्रेष्ठतालाई स्वीकार गरिएको होइन र ? यदि हो भने पूर्वीय सभ्यताको उद्गमस्थल हिमाली क्षेत्र तथा नेपाल राष्ट्र जाग्नु पर्ने बेला भएन र ?अादि । प्रबुद्ध पाठकवर्गप्रति प्रश्नमात्र उपस्थापन गरेँ । ´वादे वादे जायते तत्वबोधः`यो हाम्रै दर्शनले सिकाएको हो, त्यसैले अब यी र यस्तै प्रश्नका उत्तरका खोजीका लागि अविलम्व स्वस्थ र सार्थक विचार विमर्श र वहस गर्न आवश्यक छ ।


अब हाम्रो यही वैदिक सनातन धर्मका उन्नायक आद्यगुरु आचार्य शङ्कर तथा शङ्कराचार्य जयन्तीका सन्दर्भमा केही विचार विमर्श गरौँ ! ´विद्वान् भुवो भूषणम् `अर्थात् विद्वान् भनेका यो पृथिवीमात्रका गहना हुन् । त्यसैले विद्वानको देशविदेश सर्वत्र पूजा हुन्छ , सम्मान हुन्छ र गर्नु पनि पर्छ । अतः हाम्रा पूर्वजले-´विद्वान् सर्वत्र पूज्यते`भनेका हुन् । यसबाट विद्वान् कुनै क्षेत्रविशेषको मात्र रहँदैन! विराट चेतना बोकेको व्यक्ति विश्वकल्याणकै लागि अघि बढ्छ र ऊ विश्वकै साझा सम्पत्ति समेत हुन पुग्छ । जसरी भगवान् गौतम बुद्ध नेपालमा जन्मिएर पनि बौद्धधर्म दर्शनको विस्तारका दृष्टिले विश्वव्यापी बन्न सफल भए। त्यसैगरी शङ्कराचार्य पनि शारीरिक रूपमा भारतको केरला भन्ने स्थानमा आजकै दिन अर्थात् वैशाख शुक्लपक्षको पञ्चमी तिथि [ जन्म सन् ७८८ र देहावसान सन् ८२० आधुनिकमत अनुसार आजभन्दा लगभग साँडे १२०० वर्षपूर्व?] मा यस धरामा माता सतीदेवी र पिता शिवगुरुको पुत्ररत्नका रूपमा जन्मिएका हुन् । विवाहपश्चात् धेरै कुर्दा पनि सन्तान नभएकाले भगवान् शङ्करको पूजा , आराधना तथा उपासनाबाट शङ्करकै वरदान स्वरूप पुत्र प्राप्त गरेका उनका माता पिताले शङ्कर नै नाम राखे । वस्तुतः भगवान् शङ्करकै वरदान पाएर जन्मिएका शङ्कराचार्य साक्षात् शङ्कर नै हुन् [´शङ्करः शङ्करःसाक्षात्`] भन्ने विश्वास लिइन्छ। अाचार्य शङ्करका जीवन तथा योगदानका बारेमा प्रसिद्ध उक्ति छ-
´अष्टवर्षे चतुर्वेदी द्वादशे सर्वशास्त्रवित् ।
षोडशे कृतवान् भाष्यं द्वात्रिंशे मुनिरभ्यगात् ।।

अर्थात् पवित्र ब्राह्मण परिवारमा जन्मिएका उनको पाँचै वर्षको उमेरमा व्रतबन्ध संस्कार गरिएको र गुरुकुल राखिएका उनी आठै वर्षको उमेरमा चारै वेदका ज्ञाता बन्न पुगे। त्यसपछि आफ्नो मात्र ८ वर्षको अल्पायुलाई अन्तर्दृष्टिले जानेका उनी सन्यास धर्म लिन चाहन्थे , त्यसका लागि उनले आमा स्वीकृति लिन घर पुग्दा आमाले नमानेकी र नजिकैको पूर्णा नदीमा स्नान गर्न जाँदा आफैँले मायावी गोही खडा गरी कि सन्न्यास लिन देऊ आमा नत्र गोहीले मलाई खान्छ भनेपछि आमा अत्तालिएर मर्नु भन्दा मर्नु निको भनेझैँ सन्न्यास लिनका लागि अनुमति दिन बाध्य भएकी थिइन् र आमाको अनुमति लिएर संसारप्रति कुनैपनि मोह नभएका वीतरागी उनी गुरु गोविन्द पादाचार्यबाट८ वर्षकै उमेरमा सन्न्यासदीक्षा लिन्छन् र गोविन्दपादाचार्यकै गुरुकुलमा पढ्दै जाँदा १२ वर्षकै उमेरमा सम्पूर्ण शास्त्रका ज्ञाता बन्न पुग्छन्। त्यसपश्चात गुरुको आज्ञाले विद्याको नगरी वाराणसी आएर विद्याको प्रभाव छर्न सुरु गर्छन्। वनारसमै वदरिकाश्रममा बसी १६ वर्षकै उमेरमा प्रस्थानत्रयीग्रन्थ १.उपनिषद (श्रुतिप्रस्थान), २.ब्रह्मसूत्र (तर्कप्रस्थान) र ३.श्रीमद्भगवद्गीता (स्मृतिप्रस्थान) माथि विद्वत्तापूर्ण अद्वैतपरक भाष्य लेखेर वैदिक तथा आध्यात्मिक रहस्य खोतल्दै निर्विशेष अद्वैतवादको स्थापना गर्न सफल हुन्छन् । भाष्यरचनाकै क्रममा वेदव्यास त्यहाँ पुगी शङ्काराचार्यको भाष्यबाट प्रभावित भई उनको आयु १६ वर्ष बढाइ दिएका हुन् भन्ने श्रुतिपरम्परा प्रसिद्ध छ । [स्रोत;ब्रह्मलीन गुरुवर डा०स्वामी रामानन्द गिरिको प्रवचन र डा०गुरुप्रसाद सुवेदी गुरुज्यूको कक्षा]। त्यसपश्चात् उनको दिग्विजयको यात्रा सुरु हुन्छ । देशविदेशका विभिन्न क्षेत्रमा पुगी विभिन्न विद्वानहरूसँग शास्त्रार्थ गर्दै विर‍ोधी मतको खण्डनपूर्वक वैदिक धर्मदर्शनको शाश्वत चिन्तन अद्वैत दर्शनको मण्डन गर्न उनलाई सफलता मिल्छ। दिग्विजयका क्रममा वैदिक धर्मदर्शनको निरन्तर प्रचारप्रसार तथा विस्तारका लगि उनले चारै दिशामा चारवटा पीठ स्थापना गरेका छन्। ती हुन् -१.गोवर्धनपीठ (पूर्व-जगन्नाथपरी), २.शारदापीठ (पश्चिम-द्वारिका). ३.ज्योतिर्पीठ (उत्तर-वदरिकाश्रम) ४.श्रृङ्गेरीपीठ (दक्षिण) र अन्तिममा भने काञ्चीपीठमा बसेका थिए । यसरी उनीद्वारा स्थापित पछिल्लो समेत गरेर पाँचपीठ आधिकारिक मानिन्छन् । शङ्काराचार्यले आफ्ना योग्य ४ शिष्यलाई ४ पीठमा आसीन गराएका थिए र आजसम्म पनि विद्वान सन्यासीको शिष्यप्रशिष्य परम्परामा ती पीठ सञ्चालित छन्।

शङकराचार्यको नेपालसँग एकप्रकारको घनिष्ट सम्बन्ध देखिन्छ। दिग्विजय यात्राका क्रममा शङ्कराचार्य नेपाल आएको सन्दर्भ यहाँ उल्लेखनीय छ । उनी नेपाल शास्त्रार्थका लागि मात्र आएका होइनन् अपितु भगवान पशुपतिनाथको दर्शन मुख्य प्रयोजन हो र त्यसका साथै तान्त्रिक र बौद्धिष्टको बोलवालाले बिथोलिँदै र तान्त्रिक बौद्धिस्ट अादि परम्परा मिसिँदै गएको स्थितिमा ती बेथिति र विसङ्गतिलाई चिरेर वैदिक पूजाको व्यवस्थितिका लागि पनि हो । त्यतिबेला उनले अमरसिंह वाणासँग शास्त्रार्थ गरेर एकातर्फ वैदिक धर्मलाई प्रतिष्ठापित त गरे नै सँगसँगै उनले तन्त्रपरम्परालाई नजिकबाट राम्ररी बुझ्ने अवसर पनि पाएको देखिन्छ। जसले गर्दा उनलाई ´सौँन्दर्यलहरी` आदि तान्त्रिक ग्रन्न्थलेखनमा अवश्य सहयोग पुर्यायो । त्यसैगरी वाचस्पति मिश्रलाई नेपाली मैथिल ब्राह्मण मानिन्छ । मिश्रसँगको अन्तरङ्गले गर्दा शङ्कराचार्य वाचस्पतिको घर/मिथिलाप्रदेश / नेपाल पटकपटक आएका देखिन्छन् । त्यसक्रममा उनले मिथिलामा विशेष प्रचलित जनक राजाको दर्शन (जनकदर्शन) लाई अध्ययन गरेको र त्यही दर्शनबाट प्रभावित भई उनले आफ्नो निर्विशेषाद्वैत सिद्धान्तलाई विकास गरेको सम्भावना समेत देखिन्छ , किनभने शाङ्कर वेदान्त दर्शनभन्दा जनकदर्शन पहिल‍ो हो,प्राचीन हो । जनक दर्शन र शाङ्कर वेदान्तका धेरैजसो मिल्दाजुल्दा छन् र केहीमात्रामा भने पृथक् छन् त्यसैले त यी दुई एउटै वैदिक मूलसिद्धान्तबाट अनुप्राणित भइकन अलग अलग अस्तित्व बोकेका दर्शन बनेका छन्। त्यसैगरी शङ्कराचार्य नेपाली भूमिमा विकसित शैव वा पाशुपत दर्शनबाट समेत प्रभाव लिएक‍ो पाइन्छ। यद्यपि त्यतिबेला बौद्धदर्शन र शाङ्करदर्शन विपरीत ध्रूवमै थिए तथापि प्रतिस्पर्धाकै लागि भएपनि यी दुईले आआफूलाई तिखार्ने अवसर पाएको देखिन्छ । त्यसैले बौद्ध दर्शनबाट शाङ्करदर्शन र शाङ्करदर्शनबा बौद्ध दर्शन प्रभावित छन् ! कतिपय पूर्वीय दर्शनका क्षेत्रमा शङ्कराचार्यलाई प्रच्छन्न बौद्ध भन्ने आरोप पनि लाग्ने गरेको छ , त्यसले पनि यस‌ै तथ्यलाई थप पुष्टि गर्दछ। यसप्रकार नेपाल भूमिमा विकसित भएका ´पाशुपतदर्शन` , ´जनकदर्शन`, ´ब‍ौद्भदर्शन`, ´तन्त्रदर्शन`बाट समेत शङ्कराचार्यको दर्शन धेरथोर मात्रामा प्रभावित तथा अनुप्राणित भएको देखिन्छ ! यी दर्शनका पारस्परिक सम्बन्ध वा समानता र असमानताको तुलनात्मक खोजी तथा अनुसन्धान हुन जरूरी छ।
वेदमा ब्रह्म र धर्म प्रतिपादन गरिएको छ । धर्म र ब्रह्मको वास्तविक स्वरूको वर्णन वेदमा पाइन्छ ।त्यही वेदप्रतिपादित धर्मको स्वरूप र ब्रह्मको स्वरूपलाई यथार्थ ढङ्गले जनमानसमा ल्याउनु नै शङ्कराचार्यको मुख्य देन हो ।यसैका लागि उनले जीवन समर्पण गरेका छन् , आफ्नौ ३२वर्षीय अल्पायुलाई प्रयोजनत् र सार्थक तुल्याएका छन् । उपनिषद,ब्रह्मसूत्र र गीता शास्त्रको वेदानुकूल तात्पर्य र रहस्य खोतलेका छन् । अनि वेदको ´ईशा वास्यमिदम् सर्वम्`´,एकमेवाद्वितीयम् ब्रह्म` , ´नेहनानास्ति किञ्चन`, ´तत्त्वमसि`, `अहम् ब्रह्मास्मि `अादि वेदप्रतिपादित अद्वैत दृष्टिको विकासमा अतुलनीय योगदान पुुर्याएका छन् त्यसैले वैदिक मूल दर्शन नै उनको नाम जोडेर शाङ्करवेदान्त दर्शनको नामले परिचित हुन पुगेको छ । मूलतः शङ्कराचार्यको अद्वैत दर्शन मुख्यतः ´ब्रह्म सत्यम् जगन्मिथ्या जीवो ब्रह्मैव नापर:` मा आधारित छ । यस अनुसार भएको सत्य वस्तु भनेको ब्रह्म नै हो । जे जति चराचर जगत्(असत् जड दुखस्ववरूप ) ब्रह्मदेखि अतिरिक्त देखापरेको छ त्यो सबै भ्रमले देखापरेको हो , त्सैले मिथ्या भनिन्छ। जीवात्मा जो अज्ञानकालमा अन्तकरण तथा अविद्यारूप उपाधिका कारणले कर्ता(गर्नेवाला),भोक्ता, प्रमाता(जान्नेवाला) बनेर प्रतिभासित भएको छ जब आफ्नो वास्तविक स्वरूपको ज्ञान हुन्छ त्यस ज्ञानकालमा आफू(ब्रह्म)मात्र बाँकी रहन्छ । ज्ञानकालमा कुनै भेद बाँकी रहदैन ! यत्रतत्र,सर्वत्र आफूमात्रै रहनु वा आफ्नो स्वरूपमा स्थित हुनु नै मुक्ति हो [स्वस्वरूपावस्थानम् मोक्ष: -शाङ्करभाष्य] भन्ने सिद्धान्त नै शङ्कराचार्यद्वारा प्रवर्धित दर्शनको मूल सार वा आशय हो । यस मान्यतामा मुक्तिकालागि ज्ञानकै आवश्यक पर्छ । कर्म वा उपासनाबाट निरतिशय सुखस्वरूप मोक्ष प्राप्त हुन सक्दैन अपितु चित्त शुद्धिका लागि कर्मको उपयोगिता र चित्तको स्थिरताका लागि उपासना(भक्ति)को उपयोगिता रहन्छ। त्यसैले मुक्तिका लागि कर्म र उपासना परम्परया(अप्रत्क्ष) साधन हुन् भने ज्ञान साक्षात् साधन हो भन्ने दृष्टिकोण यस अद्वैत दर्शनको रहेको छ।
वैदिक धर्मदर्शनका क्षेत्रमा अद्वैत दर्शनलाई नै मूल वैदिक दर्शन ठहर्याएर पूर्वीय दर्शनका क्षेत्रमा सर्वोपरि दर्शनका रूपमा शङ्कराचार्यले प्रतिष्ठापित गरेका छन् त्यसैले दार्शनिक जगत्मा शङ्कराचार्यको अद्वितीय स्थान सुरक्षित छ।
यसप्रकार अाफ्नो बारेको खोजी न‌ै अद्वैत (शाङ्कर) वेदान्त दर्शन हो । ज्ञानको सागर वेदले हामीलाई आफ्नो स्वरूप खोज्न सिकाएको छ ! जीव जगत् ईश्वर प्रकृति तथा ब्रह्मतत्त्वको वास्तविक बोध गर्न सिकाएको छ । कविशिरोमणि लेखनाथ पौडेलले –
´कहाँ थियो बाँस अघि म को थिएँ ?
कसो हुँदा यो पिँजरा लिँदो भएँ ?
जानू छ कहाँ कुन साथ लीकन ?
तँलाई मालुम छ कि यो कुरा मन ?
[प्रश्नोत्तरी कवितामा] सोधेझैँ आफ्नो बारेमा सोच्न र खोज्न सिकाउँछ र यिनै प्रश्नहरूको उत्तर नै वास्तविक ज्ञान हो । यही नै अध्यात्म चिन्तन हो । यही आत्मज्ञानलाई भगवान् श्रीकृष्णद्वारा श्रीमद्भगवद्गीतामा ´अध्यात्मविद्या विद्यानाम्` भनेर प्रशंसा गरिएको छ।
जतिबेला विधर्मीको उग्रप्रहार तथा स्वधर्मभित्रै पनि अनेक सम्प्रदायका झुण्डहरूको आपसीद्वन्द्व चलिरहेको थियो र वास्तविक वैदिक धर्म र दर्शन ओझेलमा पर्दै गएको थियो त्यही नै वेला विश्वको सर्वप्राचीन र सर्वश्रेष्ठ मानवधर्मका रूपमा रहेको वैदिक धर्मको संरक्षण र सम्वर्धनका लागि शङ्कराचार्यको रूपमा शङकर भगवान नै अवतीर्ण हुनुभएको विश्वास लिइन्छ । यदि त्यस्तो विषम परिस्थितिमा शङ्कराचार्य पैदा नभएको भए आज सायद हामी धर्मविहीन तथा अस्तित्व विहीनको अकल्पनीय भयावह अवस्थामा हामी हराइ रहेका हुन्थ्यौँ निश्चय नै ।
अन्तःकरणको मालिन्य शुद्धिका लागि कर्म र अन्तःकरणको चाञ्चल्य नियन्त्रणका लागि उपासना र दुखको सर्वथा निवृत्तिपूर्वक परम आनन्दको नित्य प्राप्ति तथा मुक्तिका लागि आफ्नो ( सत्,चित् ,आनन्दमय ) स्वरूपको ज्ञानको अपरिहार्यतालाई प्रतिपादन गर्दै कर्मकाण्ड, उपासना काण्ड र ज्ञानकाण्डको आवश्यकतालाई प्रतिपादन गर्दै शङ्कराचार्यले कर्म,ज्ञान र भक्तिको समन्वयपूर्वक वैदिक धर्मदर्शनको उन्नयनमा महत्त्वपूर्ण योगदान दिएका छन् ! त्यसैले शङ्कराचार्य अद्वैतवादका पक्षपाती हुँदाहुँदै पनि समन्वयवादी चिन्तकका रूपमा चिनिएका छन् । त्यसैले उनी वैदिक धर्मका अद्वितीय उन्नायकका रूपमा परिचित छन्।


वस्तुतः वैदिक धर्मदर्शन सार्वजनीन , वैश्विक , शाश्वत चिन्तन हो । त्यही विश्वात्मवादको वैदिक आदर्शको संरक्षण र सम्वर्धनका लागि जीवन समर्पण गर्ने विश्वकै महान् विभूति श्रीशङ्कराचार्यक‌ै अास्था र श्रद्धापूर्वक समस्त वैदिक सत्यसनातन धर्मानुयायी तथा विश्वको मानवजाति नतमस्तक छ। आज शङ्कराचार्य जयन्तीका अवसरमा बहिर्मुखतालाई त्यागेर अन्तर्मुख बनी स्वत्वको खोजी गरी जीवन सार्थक र प्रयोजनपूर्ण बनाउँन सकौँ ; सबै मानवजातिलाई शुभकामना !!
ॐ वेदो$खिलोधर्ममूलम्`ॐ