कोरोना उपचारका लागि विपी प्रतिष्ठानमा छ्ट्टै कोभिड अस्पताल


हरेकपल April 28, 2020

धरान। विपी कोइरा ला स्वास्स्थ विज्ञान प्रतिष्ठान, धरानमा कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै कोभिड– १९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमितको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर सुविधा छ ।

पहिलोचरणमा सञ्चालनमा ल्याइएको १०० शैयासहितको ‘आइसोलेसन’ कोभिड– १९ अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको केन्द्रबिन्दुकारुपमा रहेको प्रदेश १ मा कोरोनाको उपचार र रोकथामका लागि गम्भीर भएको बताए । ‘कोभिड– १९ लाई पराजित गर्न हामी सबै लकडाउनलाई अनुशासित भइ पालना गर्नुपर्छ,’ उनले भने, ‘सक्रमितलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्नुको विकल्प हामीसँग छैन् ।’

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीपी प्रतिष्ठानमा एक हप्तामा १ सय बेडको अस्पताल तयार भएको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गर्न सरकार प्रतिवद्ध रहेको बताए । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक एैरले जानकारी दिए । उनका अनुसार अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर, छुट्टै एक्सरे र अल्ट्रा साउन्डको सुविधासहित १०० शैयाको कोभिड– १९ अस्पताल सञ्चालनमा ल्याइएको हो ।

यसअघि कोरोनाको आशंकाका बिरामीहरुको थ्रोट स्वाब परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने अवस्था थियो । केही समय अगाडि सरकारले प्रदेश नम्बर १ का लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परिक्षण गर्ने घोषणा गरेको थियो । प्रदेश नम्बर–१ मा कोरोना संक्रमणको दर सबैभन्दा बढि रहेको छ । प्रदेशमा हालसम्म ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमासमेत पठाउँदै आएको थियो । प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो । प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश– १ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।