नयाँ मोडेलको लकडाउन आवश्यक


हरेकपल April 28, 2020

नेपालमा लकडाउन भएको एक महिनाभन्दा धेरै भयो । यो अवधिमा मानिस मात्र नभई बाँदर, कुकुर,चिडियाखानाका पशुपंछीहरु सबै तीनछक परेका छन् । दोस्रो विश्वयुद्धपछिकै यताको कसैले नभोगेको कोरोना कोभिड १९ नामको भाइरसको नयाँ भोगाइमा परेकाले । पहिलो कोरोना भाइरसले मार्ला भन्ने डर । त्यसबाट बाँचियो भने भोकै मरिएलाभन्ने चिन्ता । यति लेख्दासम्म विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा समेतमा अढाइ लाखजतिको ज्यान गइसकेको छ । २९ लाखभन्दा धेरै यो भाइरसबाट संक्रमित भएका छन् । हरेक दिन हजारौँको संख्यामा संक्रमित भएर मृत्युसमेत भइरहेकाले यो संख्या अझ बढने निश्चित छ । विश्वमा रहेका नेपालीमध्ये ४९ जना कोरोनाले र अन्य कारणले समेत खाडी मुलुकमा १०० जनाजति नेपालीको मृत्यु भए पनि नेपालमा भने अहिलेसम्म कोरोना पोजेटिभ भएका ५२ जनामध्ये १ जनाको पनि मृत्यु भएको छैन र उपचारपछि ठीक भएर १६ जना घर फर्कीसकेका छन् । धन्य यसैलाई पशुपतिनाथको कृपा भन्नुपर्ने भएको छ ।

यसको मूल कारण भनेको हाम्रो पूर्वीय संस्कार, प्रकृतिको बरदानबाट प्राप्त शुद्ध हावापानी र दैनिक सागसब्जी, नुन, बेसार लसुन अदुवासमेतको खाना र पूर्वीय संस्कारको टाढैबाट नमस्कारको रहन–सहनले नै हो भन्ने विज्ञहरुको विचार आएका छन् । यही भएकाले नेपालमा कोरोनाले असर गरे पनि २ प्रतिशतभन्दा धेरै हुनै सक्दैन भन्ने भनाइ विज्ञ र डाक्टरहरुको रहेको छ । विश्वकै अहिलेसम्मको रेकर्डले पनि संक्रमितमध्ये आठ लाखभन्दा धेरै निको भएर घर गएकाले मर्नेको संख्या केवल हाराहारी तीन प्रतिशतभन्दा धेरै छैन । त्यसैले कोरोना रोग लागिहाले पनि ठीक हुने चान्स अत्यधिक भएकाले डराउनै पर्दैन । त्यसमा पनि अहिलेसम्म ठीक भएकाका बिमारीको अनुभवमा बिमारीको हिम्मत र आत्मविश्वास नै रोग ठीक हुने मुख्य उपचार हो भन्ने अनुभव गरिएको छ ।

नेपालीहरु हिम्मतका धनी छन् । यही भएकाले हालसम्म यो रोगले नेपालमा कसैको मृत्यु नभएको हो । सबभन्दा धेरै मृत्यु हुनेमा अमेरिका, इटली, स्पेन, फ्रान्स, बेलायत र चीनजस्ता विकसित र शतिmशाली मुलुक रहेका छन् । ती देशको तुलनामा एसियाको भुटानमा ५ जना मात्र संक्रमित भएकाले कम असर पर्नेमा पहिलो र नेपाल दोस्रो छ भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशसमेतमा हालसम्म कमै असर परेको देखिन्छ । यसको मूल कारण हावापानी, खानपिन र रहनसहन नै हो भन्नेमा दुईमत हुन सक्दैन ।

यो रोग विश्वमा नेपालभन्दा ४ महिना पहिले नै चीनको वुहानबाट सुुरु भएको भए पनि त्यहाँ हाल नियन्त्रण भएर युरोपलाई केन्द्रबिन्दु बनाएर दैनिक हजारौँको संख्यामा मानिसको मृत्यु भइरहेको छ । यही क्रममा नेपालमा २०७६ चैत्र ११ गते देखि लकडाउन गरेर चार चरणमा २०७७ वैशाख १५ सम्म लकडाउन गरिएको घोषणा भएको थियो । त्यसपछि यसको स्वरुप परिवर्तन हुने सम्भावना भएप नि उही रुपमा वैशााख २५गतेसम्म पाँचौँ चरणमा लकडाउन गरिएको छ । लामो लकडाउन गरिएकाले मजदुरवर्ग भोकभोकै भएका छन् । त्यसैले लकडाउन उही रुपमा आउनुभन्दा स्वरुप परिवर्तन गरेर ल्याएको भए राम्रो हुने थियो । यो हुन नसके पनि वैशााख २५ पछि भने गरिब जनताको निराशालाई आशामा परिणत गर्न सरकार विषयान्तर नभै यसैमा केन्द्रित भएर अब आउने लकडाउनको परिवर्तित स्वरुप तयार गर्न जरुरी भइसकेको छ ।

जे भए पनि विश्व र हाम्रा दुवैै छिमेकी मुलुक चीनले पहिले नै र भारतले वैशााख १३ गतेदेखि लकडाउन् खुकुलो पारिसकेकाले वैशाख १५ पछि पहिलेकै रुपमा लकडाउन नआएको भए राम्रो हुने थियो । अब सरकारले लकडाउनलाई निरन्तरता दिए पनि नदिए पनि यो अहिले नै सकिने विषय होइन ।

यसको असर लगभग दुई वर्षसम्म पनि रहन सक्छ । यो हाम्रो जीवन रक्षाकै लागि गरिएकाले लकडाउन खुले पनि हामी आफैँ सतर्क भएर आफ्नो र अरुको जीवन रक्षा गर्न अहिले गरेका लकडाउनसमेतका जीवन रक्षाका नियम पालना स्वस्फूर्तरुपमा गरिरहन आवश्यक छ । लकडाउन नेपालको सन्दर्भमा पहिलो र अन्तिम् अस्त्र भए पनि अहिलेसम्म सरकारले लकडाउन् बाहेकका प्रभावकारी काम गर्न सकेको पाइएको छैन । अब नेपालमा नयाँ मोडेलको लकडाउनको आबश्यकता छ । त्यसैले यो रोगबाट नेपाललाई उन्मुतिm दिलाउन अब हामीले निम्न अनुसार गर्न आवश्यक छ ।

नेपाल सरकारको दायित्व

यो रोग नियन्त्रणको तयारी गर्न अन्तर्राष्ट्रिय परिवेशमा पर्याप्त समय पाएर पनि नेपालले यो रोग नियन्त्रण गर्न आवश्यकपर्ने काम औषधि, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स कर्मचारी क्वारेन्टाइन समेतको अन्य व्यवस्था अभैm राम्ररी गर्न सकेको छैन । पहिलो चरणमा राहत सामग्री वितरण गरेको भए पनि यो अधुरो र विवादास्पद भएको गुनासो आइरहेको छ । श्रमजीवी मानिसहरु काठमाडौंमा बेखर्ची भएर सपरिवार हप्तौँ पैदल हिँडेर भोकभोकै आफ्नो घर गएका छन् । उनीहरुलाई समयमै स–सम्मान घरमा जाने व्यवस्था गर्नु पनि सरकारकै दायित्व थियो । यसमा सरकार चुकेको छ । खान नपाएका जनतालाई राहत बाँड्ने ज्ञानेन्द्र शाही र आफ्नो विचार पस्केका पूर्वसचिव भीम उपाध्यायसमेतलाई थुनेर मुद्दा चलाएकोमा पनि नेपाली जनता आक्रोशित भएका छन् । ढिलो गरेर चीनबाट मगाएको औषधिमा पनि भ्रष्टाचारको विवाद आएकाले सरकारले यस्तो संकटको घडीमा राम्रो काम गर्न नसकेको जनताले अनुभूति गरेको चौतर्फी गुनासो आइरहेको छ ।

सांसदहरु र पूर्र्वप्रहरी माहानिरीक्षकसमेतको संलग्नतामा सांसदकै अपहरण गरिएको आरोपमा काठमाडौं प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो सञ्चारमाध्यममा छताछुल्ल छएको छ । मानिसको जिउधनको सुरक्षा गर्नुपर्ने राज्यले अपराधीको पक्षमा काम गर्यो भन्ने जनगुनासो आउनु राम्रो होइन । सरकारप्रति नेपाली जनताको विश्वासको संकट आयो भने सघर्षको आँधीबेहरी आउन सक्छ । त्यसैले यो बेलामा सरकारले समयमै निष्पक्ष र निस्वार्थ काम गर्न सकेको भए राम्रो हुने थियो । उल्टै नेपालको संविधान ०७२ र जनताको भावना विपरीत २ वटा आध्यादेश ल्याउने र खारेज गर्ने काम गरेर सरकार विषयान्तर भएर स्वयं विवादमा परेर बदनाम भएको छ । त्यसैले अब सरकारले विषयान्तर नभई कोरोना भाइरस नियन्त्रण गर्ने काममा केन्द्रित भएर यो रोग नियन्त्रण गर्ने काम गर्न आवश्यक छ ।

नेपाली जनताको दायित्व

सरकारले चरणबद्ध रुपमा जारी गरेको लकडाउन नेपाली जनताकै जीवन रक्षाकै लागि हो । यो लकडाउन हाम्रो जीवनचक्रको क्रममा पहिलो अनुभव भएकाले हामीलाई नौलो मात्र नभएर असहज पनि भएको छ । यो हुनु स्वाभाविक हो । कारण, पहिलो त यो जीवनकै पहिलो अनुभव भयो । दोस्रोमा, वृद्ध, बच्चा, दीर्घरोगी, अपांग र गर्भवती महिलाले समेतले यो लामो होम क्वारेन्टाइन् बेहोर्नुपर्यो । यसरी बेहोर्दा धेरै असुबिधा भोग्नुपरेको छ । केहीले त घर जानुपर्ने बाध्यताले हप्तौँसम्म खाली खुट्टा भोकभोकै हिँडेको कटु अनुभव पनि भोगेका छन् । सयौँको संख्यामा भारतमा काम गर्न गएका नेपाली घर फर्कंदा भारतीय सीमाको क्वारेन्टाइन्मा र नेपालमा समेत असुविधा भोगेर पनि बस्नुपरेको छ । केहीले त ज्यानै माया मारेर माहाकालीमा पौडी खेलेर नेपालतर्फ आएर पनि क्वारेन्टाइन्मा गुजारेर मात्र घरजान पाएको तीतो अनुभव बोकेका छन् । समग्रमा यी सबै दुःखकष्ट परिस्थितिजन्य नै हुन् । सरकारले वा कसैले नियतबस दिएको भने पक्कै होइन । यसोगर्नु परेको सरकारको कारणले मात्र होइन । विश्वमै माहामारीको रुपमा कोरोना रोग अचानक आएकाले यसो भएको हो भनेर हामीले बुझ्न जरुरी छ । यतिले मात्र यो रोग अझै टरेको छैन । अहिलेसम्म यसको औषधि पत्ता लागेको छैन ।

अमेरिका र चीनले निकालेको औषधि पशुमा परीक्षण गर्दा असफल भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट तयार गरेको औषधि भने मानिसमा परीक्षण गरिएको छ । नतिजा भने अझै आएको छैन । यसरी औषधि अझै पत्ता नलागेको यो रोगले लामै समय लिन्छ भनेर हामीले बेलैमा होस गर्नु हाम्रो बुद्धिमानी हुनेछ । त्यसैले सरकारले लकडाउनको जुनसुकै मोडल ल्याए पनि हामीले अहिलेसम्म गरेको अनुभवबाट सिकेर अब करिब २ वर्षसम्म हरेक दिन व्यायाम र योगगर्ने, धेरैपटक साबुन्पानीले हात धुने, भिडभाडमा नजाने, मास्क र पञ्जा, सेनेटाइजरको प्रयोग गर्ने, चिसोबाट बच्ने र तातोपानी नुन, बेसार लसुन, अदुवा, सागसमेतको सकेसम्म शाकाहारी खाना खाने र हाल पश्चिमका मुलुकसमेतले स्विकारेको हाम्रो पूर्वीय नमस्कारको संस्कृतिको पालना हामी सबैले गरेमा यो रोग आफैँ भागेर जान्छ । हामीलाई कुनै असर नै गर्न सक्दैन ।

निष्कर्षमा अहिलेसम्म नेपालमा जे–जति असर गरेको छ, यो नगन्य असर हो । यतिमा यसलाई टार्न सरकार र नेपाली जनताले संयुक्त रुपमा होसियारीका साथ लामो अवधिसम्म सहकार्य गर्न जरुरी छ । पहिले नेपाल सरकार नेपाली जनताको अभिभावक भएकाले सरकारले यो र त्यो नभनेर सुझबुझका साथ जनतासँगको सहकार्यमा अब गर्नुपर्ने काम समयमै गर्न आवश्यक छ । सर्वप्रथमतः दोस्रो चरणको राहत तत्काल बाँडेर भोका मानिसको भोक मेटाउने काम गरिहाल्न जरुरी छ । अहिले पनि नेपाल रेडियो बाट प्रसारण भइरहेको जीवनरक्षा कार्यक्रममा नेपालभरबाट केही जनता अभाव र भोकभोकै रहेको जनगुनासो आइरहेका छन् । त्यसपछि चिकित्सक, स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारलाई सुरक्षा र सुविधामा भएका कमी छिट्टै पूरा गरेर उहाँहरुको मनोबल उच्च गरेर अझ सक्रियताका साथ काम लिन जरुरी छ । यसो गरेर व्यापक रुपमा स्वास्थ्य परीक्षण गर्न जरुरी छ ।

अहिले प्रयोगमा रहेका छिटो जाँच गर्ने विधिको मेसिन (आरटिडी)ले विश्वास गुमाएको छ । पिसिआरले जाँच्दा धेरै समय लाग्छ । अब नयाँ मोडेलको लकडाउनको व्यवस्था गरेर व्यापक रुपमा स्वस्थ्य परीक्षण गराउने व्यवस्था सरकारले तत्काल गर्न जरुरी छ । त्यसपछि क्वारेन्टाइन् र औषधिको आवश्यक सुविधामा ध्यान दिन जरुरी छ । अहिलेको चिसो आउने घर, चर्पी नभएका, अधुरा र अपुगलाई पूरा गरेर सुविधासम्पन्न स्थानमा रोगको शंका लागेकालाई राख्ने व्यवस्था गर्नुपर्छ । जसले गर्दा रोग छिटो निको भएर सकुशल घर जान सकून् । अनि जनताले पनि सकेसम्म यो रोग नलागोस् भनेर आफ्नै घरमा एकान्तवासको पूर्ण पालना गरेर रोगबाट बच्ने र अरुलाई पनि बचाउने उपायको अवलम्बन् आफैं गर्न सक्नुपर्छ । त्यति गर्दा पनि केही गरी यो रोग लागेमा हिम्मतका साथ स्थानीय सरकारको सहयोगमा अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्छ । भाग्नु वा लुक्नुहुँदैन । यसो गर्न अब नयाँ मोडेलको लकडाउन ल्याउन जरुरी भइसकेको छ ।

                                ( लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ )