कहिले कोरोना अन्त्य हुने र हामी स्कूल जाने ?


हरेकपल April 29, 2020

कोविड -१९ एक नयाँ संक्रामक रोग हो जसलाई ‘सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस २ अर्थात् सार्स-कोव-२’ पनि भनिन्छ। यो भाइरस वुहान भन्ने चीनको शहरबाट शुरु भएको हो जुन हुबेई प्रान्तमा छ। यो समय मानवतामा भएको एक ठूलो संकट हो। यसले विश्वको अर्थतन्त्र र धेरै मानवीय जीवनको क्षति गरेको छ। विश्वका लगभग सबै देशहरू यस भाइरसको कारण प्रभावित छन्। यो भाइरस चीनबाट उत्पत्ति भए पनि यसले अहिले अमेरिका र युरोपलाई नराम्ररी प्रभाव पारेको छ । बिस्तारै यसले नेपाल र भारत जस्ता एशियाली देशहरूलाई पनि असर गरिरहेको छ।

कोविड-१९ ले हामी सबैको दैनिक तालिकालाई अत्यन्त परिवर्तन गरेको छ। धेरैजसो मानिसहरू दिनदिनै आलस्य हुँदै गइरहेका छन्। कोरोना भाइरसले हामी सबैलाई घरमा बन्द गरेकोले आफ्ना पहिले गर्ने नियमित कार्यहरू गर्न सकिरहेका छैनौँ। यसले रोजगारीको हरेक क्षेत्रलाई असर गरेको छ। यसले विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, मजदुरहरु र व्यापारीहरुलाई सबैलाई प्रभावित गरेको छ। पर्यटन, धार्मिक क्षेत्र, फिल्म, होटल र खेलकुदहरू यस भाइरसको कारण नराम्ररी प्रभावित भएका छन्।

तर महामारीको संकटमा रोजगारका केही क्षेत्रहरू सक्रीय छन्। कृषकहरु कृषि उत्पादनमा सक्रीय छन् । यदि किसानहरूले पर्याप्त तरकारी, फलफूल र बाली उब्जाएनन् भने हामीले पौष्टिक खाना खान पाउँदैनौं। डाक्टर र अन्य स्वास्थ्यकर्मीहरू यस्तो महामारीका जीवित देवताहरू हुन्। उनीहरू रात दिन नखटने हो भने, कोविड-१९ का धेरै बिरामीहरूले ज्यान गुमाउन सक्दछन्। पुलिस फोर्सले कोविड-१९ का बिरामीहरूको हेरचाह गर्ने, लक डाउनलाई कडाइका साथ् लागु गर्ने र कोविड-१९ को संक्रमण बढ्न नदिन कोसिस गर्दैछ। पत्रकारहरू कोविड-१९ का बिरामीहरूका बारेमा समाचारहरू दिन कडा मेहनत गरिरहेका छन्।

कोविड-१९ ले हालको समयमा हामी विद्यार्थीहरुको जीवनलाई सबैभन्दा बढी असर गरेको छ। कोविड-१९ का कारण भएको लक डाउन हुन अघि विद्यार्थीहरू बिहान सबेरै उठ्थे, होमवर्क गर्थे, तयार हुन्थे र स्कूल जान्थे, तर अब आफ्नो दिनचर्या बिर्सिसकेका छन्। स्कूलमा पढ्नुको सट्टा, घरमा बसेर बोर भइरहेका छन् र कुनै काम विनाका जस्ता भएका छन् । अब विद्यार्थीहरू गीतहरू सुन्न, चलचित्रहरू हेर्न र भिडियो गेमहरू खेल्न् सक्य भई आफ्नो समय बिताउछन्। विद्यार्थीहरूको धेरैजसो समय टेलिभिजन र मोबाइल हेरेर बित्दैछन् जुन स्वास्थ्यको लागि विशेष गरी आँखाको लागि हानिकारक छ । केहि विद्यार्थी आमा बुबालाई घरको काममा पनि सहयोग गर्छन् ।

मेरो दैनिक तालिका पनि कोविड–१९ को कारणले प्रभावित भएको छ। मेरो पनि दिनदिनै आलस्य बढ्दैछ। अहिले मेरो अध्ययन सम्बन्धि केही कार्य छैन। कक्षा सातको पुस्तकहरूको पूरा सेट मैले प्राप्त गर्न सकेकी छैन। मेरो समय सुत्न, मोबाइल हेर्न, भाइसँग खेल्न र कहिलेकाँहि पुस्तकहरू पढ्न उपयोग गरेर बिताउँदैछु । म मेरा आमा बुबालाई मद्दत गर्न घरका सानातिना कामहरू पनि गर्दछु। मलाई बगैंचामा काम गर्न, खाना पकाउन र घर सजाउन मन पर्छ। लकडाउन बढ्दै गर्दा मेरी आमाले घरमा केही नयाँ परिकारहरू बनाउने कोशिश गरिरहनु भएको छ। यस अवधिमा आमाले जेरी, रसवारी, बन्दा कोबी रोल र मोमो आदिको परिकार बनाएर हामी सबैलाई खुवाउनु भयो । मलाई यी खानाहरू मीठो लाग्यो। म अहिले घरमा बस्दा धेरै मनतातो पानी पिउदैछु। बुबा आमा दुवै जना अहिले घरमा हुनुहुन्छ। उहाँहरुको साथमा रमाउदै म घरमा बसेकीले लक् डाउनको समयमा पढाइ बन्द भए पनि खुसी छु ।

हामी विद्यार्थीको लागि पढाइ सबैभन्दा महत्वपुर्ण हो। तर मलाई थाहा छैन हाम्रो स्कूल कहिले खुल्नेछ,मैले कहिले साथीहरूलाई भेट्छु, र उनीहरूसँग खेल्नेछु। अनलाइन कक्षा सुरू हुन्छ भन्ने हल्ला सुनेकी छु तर यो निश्चित छैन। म कक्षा ६ को परीक्षा दिएर बसेको पनि करिब डेढ महिना भयो। मैले फोनबाट पास भएको सुने पनि मार्क सिट हेरेको छैन। म कहिले मार्क सिट पाउछु ? कहिले नयाँ ब्याग र नयाँ पुस्तकहरू लिएर स्कूल जाने हो? फेरी कहिले सर मिसबाट सिक्ने हो? कक्षाको नियमित तालिका कहिले सुरु हुने हो? कहिले कोविड-१९ को डरबाट मुक्त हुने हो? सबै अनुत्तरित बनेका छन्। त्यसैले यो महामारी छिट्टै सकियोस् भन्ने परमात्मासंग प्रार्थना गर्दछु।


म सबै साथीहरुलाई घरमा बस्न अनुरोध गर्दछु। समय समयमा आफ्ना हात धुनुहोस्। तपाईंको घर सरसफाइ गर्नुहोस्। स्वास्थ्यकर हुनुहोस्। तपाईंको परिवारलाई सुरक्षित राख्नुहोस्। लक डाउनलाई पालना गर्नुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्। यदि सम्भव भएमा आपतकालमा बाहिर जाँदा एन-९५ मास्क प्रयोग गर्नुहोस्। स्वस्थकर खाना खानुहोस्। पानी उमालेर मनतातो बनाएर पिउनुहोस्। गेडागुडी, भिटामिक सी युक्त खाना र हरियो सागसब्जीहरू आदि खानुहोस् ।
यो लामो लक् डाउनमा आफूलाई व्यस्त बनाउनको लागि मैले यो छोटो लेख लेख्ने प्रयास गरेकी छु । तपाईंहरू घरमा बसेर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहुन्छ भन्ने म आशा गर्दछु । धन्यवाद