हिउँको अद्भुत वर्षा


हरेकपल April 29, 2020

कार्तिक २२ गते विहान ६ बजे शौचालय जानको लागि ढोका खोल्न खोज्दा ढोकै खोलिंदैन । ढोकालाई केही वस्तुले अठ्याए जस्तो लाग्यो । हिजोसम्म लाउन–खोल्न सजिलो भएको ढोका आज किन खोलिंदैन ?

मनमा शंका–उपशंका उब्जियो । बाहिरबाट के ले अठ्यायो ? शंका र कौतुहलताको बेलुन फुल्दै गयो । कता कता डर पनि लाग्यो । ढोका खोल्नासाथ बाहिर निस्कने भर्‍याङ्ग थियो । १० मिनेट जति प्रयास गर्दा पनि ढोका अटसमटस गरेन ।

शौचालय जान हतार भई सकेको थियो । जमाएर एक लात्ति हानें । धड्याक्क गर्दै अलिकती ढोका उघ्रियोे । टाउकोसम्म छिराएर हेर्न मिल्यो । के ले अठ्याएछ भनेर अझै नियाल्दैछु ।
ओहो, बाहिर त सेतै मैदा पोखिए जस्तो । सेतो बाहेक केही देखिंदैन, बेस्सरी चिच्याएछु । बल बहादुरले सुनेछन्, दौडिएर आए । ढोकामा जोड्ले हाने । गड्याङ्ग गर्दे ढोका पुरै खोलियो । हिउँको ढिक्का नै ढोकामा आएर तेर्सिएछ । ढोका खोल्नासाथ देखिने सामुन्ने अगाडिको जिल्ला शिक्षा कार्यालय हिउँको पर्वतले ढाकिएछ । बाटोमा ६–७ फिट सम्म हिउँ । हिजो सम्मको फुस्रो डाँडा सेतो तन्नाले लपक्कै बेरिएछ । जताततै सेतो ढिस्को मात्र । हिउँमा हेरिरहन सकिन । आँखाको ज्याति नै खाँदो रहेछ । आँखा नै तिरमिर हुने ।

हामी हिउँलाई हेर्न टाढा टाढा जान्छौं । हामीलाई हेर्न हिउँ हाम्रो कोठासम्म आइपुगेछन् । हिम देवता, हिमालय पर्वत तिमीलाई कोटी कोटी नमस्कार । बाहिरको भर्‍याङ्गमा थुप्रिएको हिउँलाई बल बहादुर मिल्काउँदै छन् । शौचालय जाने इच्छा पनि हिउँको थुप्रोसँग हराएछ । चामेलाई हिउँको साम्राज्यले आफ्नो अधिनमा लिइसकेछ ।

हिजोसम्म चामे बजार थियो । आज त हिँउ बजार भएछ । धाराबाट पानी झर्दैन, खोलाको पानी बग्न सकेको छैन । हेर्नलाई सुन्दर तर जनजिवन अस्तव्यस्त ।

अदभुत रोमन्चकारी दुर्लभ हिउँमा वर्षा पहिलो चोटी अनुभूत गर्न पाइयो । पहिलो चोटी हिउँको स्र्पश गरे । हातमा लिए, खेलाएँ, प्रेम गरे । वलवहादुरले भर्‍याङ्गको हिउँ सफा गरे । हिउँको विस्कुनलाई तह लगाए । हिउँले बाहिर चिसो भएपनि मनभित्र तातो भएको महशुस गरें । भर्‍याङ्ग ओर्लेर आगनीमा निस्केँ । हिउँको संसारमा रमाएँ । सेतै असरल्ल परेको हिउँलाई आँखामा अटाउन सकिन । यो विशाल हिउँको विस्कुनलाई सानो आँखाको नानीमा कसरी अटाउन सक्थेँ र ?
उत्तर तिर टेको दिएर उभिए जस्तै लाग्ने लमजुङ हिमालले हिउँका थुप्रा मेरै सन्तान हो भनिरहे जस्तै लाग्यो । उनी आफ्नो सन्तानको सुरक्षाको लागि उभिरहेका हुन् कि जस्तो भान पथ्र्यो । हिजोसम्मको निरास चामे आज प्रेमिल चामे बन्यो । हिउँको सुन्दर सफा सेतो तन्ना कहिल्यै नहटे पनि हुन्थ्यो जस्तो लागिरह्यो । लडिबुडि गर्न मन लाग्यो । हिउँभित्रै हराउन मन लाग्यो ।

मन लागेको सबै कुरा गर्न कहाँ पाइन्छ र ?
भित्रबाट घरबेटी नोर्वृनी कराइन् ।
हिउँको चिसोले हात खुट्टा खाला, कतिबेर बाहिर बसिरहेको भित्र आइजो ।
मलाई भित्र जान पटक्कै मन छैन ।
प्रेमिल हिउँलाई छोड्न पटक्कै मन छैन ।
धेरै वर्षको प्रतिक्षामा भेटिएका प्रेमि–प्रेमिका जस्तो लपक्क टाँसेर बसिरहन मन छ । मिठो स्पर्श गरिरहन मन छ । कसैको बाधा व्यवधान खडा नहोस् भन्ने लागिरहेको छ ।
प्रकृतीको विशिष्ट चमत्कारमा द्रविभुत भएँ । प्रकृति तिमीले कहाँबाट ल्यायौ यो सुन्दर हिउँको विस्कुन् । कृषकले भकारीमा अन्न थुपारे जस्तै तिमीले कहाँ थुपारेको थियो यो अथाह हिम–संसार ? तिम्रा पनि ठूला ठूला भकारी रहेछन् । विशाल हिउँ अटाउने तिम्रो भकारी हामीलाई पनि देखाउन ?
म त हिउँको प्रेममा पागल नै भएछु ।

हात, गोडाहरु कठ्याङ्ग्रीदै गएछन् । बाटाका हिउँहरु सफा गर्दै गरेका सैनिक जवानले भने बहिनी यसरी हिउमा धेरैबेर बसिरहन हुदैँन । तपाईँ त अघिदेखि नै यँहि उभिरहनु भएको छ । चप्पलको भरमा ओहो । होनी म त शौचालय जान पो निस्केको थिएँ ।
गोडा त टेक्नै नसक्ने गरि पो कठ्याङ्ग्रिएछन् । हात पनि झर्ला जस्ता भएछन् । शरीर निकै चिसो भएछन् ।

नोर्बुनीले भित्र आगो बालेर कोठा तातो पार्दै थिइन् । कठ्याङ्ग्रीएका हात गोडालाई सेकाउन खोजेँ ।
नोर्वुनी दिदि कराइन् । चिसो हातलाई आगोमा नसेका अहिले सबै छाला जान्छ ।
ओहो । म त निकै कठ्याङ्ग्रीएछु सास फेर्न पनि निकै गाह्रो भए जस्तो भयो । नोर्वुनी दिदिले तातो ब्लाङ्केट ओढाई दिईन् । ठुलो गिलासमा भोटे चिया पिउन दिइन् । निकै बेर पछि मेरो शरीर ठिक ठाँउमा आयो ।

हिउँ भनेको त छुरा बोकेको सुन्दर यूवती पो रहिछिन् ।
हेरिरहँदा सुन्दर, छुँदा घायल ।
पर्यटकिय सिजनमा ब्यस्त चामेको बाटो सुनसान देखियो । बाटोको हिउँ पन्छाएपछि सिडियो, एलडियो, प्रहरी प्रमुख घोडा चढेर हिउँको निरिक्षण गर्न तलतिर झर्नु भयो ।
धाराको पानी जमेपछि हिउँलाई पखालेर खाना पकाउने काम भयो । दिनभरी नै हिउँको बर्षा भइरह्यो ।
हामी सबै जना चिम्नीको वरिपरी झुम्मेर बसिरह्यौं ।

जनजीवन अस्त व्यवस्त भएपनि स्थानिय वासिन्दा निकै खुशी भए । बोटविरुवालाई सिंचाइको काम गर्ने भएकोले हिउँ पार्नको लागि पनि देवतालाई पूजा गर्ने प्रचलन यहाँ रहेछ । सुकेको मललाई हिउले छोपेपछि त्यो चिस्यानबाट बालीनालीलाई पोषण प्राप्त हुँदोरहेछ ।
हिउँ नपरेमा अन्न उब्जनी नहुँदो रहेछ । वर्षा नहुने भएकोले हिउँको वर्षा नै माटो चिस्याउने, बिउ–बिजन उमार्ने ठूलो तत्व रहेछ । जव हिउँ पर्छ तव ठूलै चाडपर्व आए जस्तै स्थानिय खुशी हुँदा रहेछन् । ५ दिनसम्म हिउँ निरन्तर परिरह्यो ।

धेरै दिन हिउँ पर्दाखेरी जन–जीवन अस्तव्यस्त भैरह्यो । सदरमुकाममा नाकाबन्दी भए जस्तै भयो । तलतिरको मानिस माथि आउन नसक्ने माथितिरको मानिस तलतिर जान नसक्ने । ढुवानी गरेर आउने सबै सामान ठप्प ।

टंकी मनाङ्गमा हिउँको पहिरो गएर पाँच वटा घर पुरियो रे । ३०० जति भेंडा पनि पुरिए रे । तीन जना पर्यटक हिउँ पहिरोमा बेपत्ता भए रे । मालसामान ढुवानी गर्दै गरेका खच्चड पनि हिउँले पुरिए रे । यस्तै समाचार चामे बजारमा आइरह्यो । नेपाल बैंकमा कार्यरत कर्मचारीको आमा बितेको खवर आयो । आ.वा. प्राप्त भएपनि उनी घर जान सकेनन् । हिउँलाई टुलुटुलु हेरिरहे । हिउँ पग्ले जस्तै आमाको वेदनामा पग्लिरहे । जाडोबाट बच्न ८–१० वटा थरमसमा भोटे चिया सधैं तम्तयारीमा राख्दा रहेछन् । मुखबाट गिलास छुट्दो रहेनछ । पिएको पियै गर्दारहेछन् स्थानियहरु । खोई मैंले त पटक्कै पिउन सकिन् । बानी नभएर होला, नमिठो गन्ध आइरह्यो । नुन र चौंरी घ्यूमा बनेको चियाले मलाई तान्न सकेन ।

बल बहादुरले कालो चिया बनाएर राखिदिएका छन् । हामी जाडो पचाउन त्यहि पिउछौं । हिउँ परेपछि कार्यालयको कामकाज ठप्प हुने भएकोले समय कटाउन र जाडोबाट बच्न स्याउको सोमरस र सुकुटी खाँदै तासमा रमाउन थालेका छन् कर्मचारीहरु ।
सदरमुकाम कर्फ्यू लागे जस्तै सुनसान छ ।
हिउँसँगै थोराङ्गला पास गरेर मुक्तिनान जाने तिव्र इच्छा पनि पर सर्दै छ ।
जुन कुरा पनि ठ्याक्कै भनेको समयमा गर्न पाइएन भने त्यो अनिश्चित बन्दै जान्छ । अथवा त्यो तुहिएर पनि जान सक्छ । थोरङ्गला पास गर्ने हाम्रो सपना सपनै हुने हो कि ?
यस्तो हिउँ संसारमा थोरङ्गलाको के कल्पना गर्नु ?

श्रीराम दाई यात्रा लम्बिने भयो भनेर चिन्दा गर्दै हुनुहुन्छ । थोरङ्गलाको सपनाले उहाँलाई मनमा हुटहुटी जन्माइदिएको छ । चामेसम्म आउँदा पनि थोरङ्गला जान सकिएन भने त यो जुनीमा थोरङ्गला सपना मात्रै हुने भयो । चियाको चुस्की सँगै यो कुरा दोहोर्याई रहनु हुन्छ ।
थोरङ्गलाको महत्व पहिले नै थाहा पाएको भए दशैं सकिनासाथ चामेतिर हिडिंहाल्थें । पहिले नै थाहा पाइन । बाटोमा साथी भेटेकोले उसकै घच्घच्याइले थोरङ्गलाको मोह जाग्यो दाई एक्लै बरबराउँदै हुनुहुन्छ । म चुपचापप सुनिरहेको छु । अनिश्चित र अन्यौल यात्रामा मन रुमलिरहेको छ ।