लकडाउनको ३६ औँ दिन


हरेकपल April 29, 2020

कोरोना है कोरोना
सबैलाई भैदियो बाहाना ।

कोटेश्वरको जाम खुलेपछि,
खुमलटार र बालुवाटारमा भयो तनावपूर्ण यातना
दुई तिहाई बहुमतमा देखियो है अस्थिरताको चाहना ।
स्थिरताको नाममा एकल अधिनायकवादको चाहना
एउटै पार्टीभित्र कस्ले गर्दै छ मतदानको सामना ?

कोरोना है कोरोना
सबैलाई भैदियो बाहाना ।

आफू अनुकूल भए लोकतन्त्र र जनादेश
प्रतिकूल हुनेबित्तिकै विदेशीको चलखेल ।
आफू भएसम्म मात्र स्थिरता र समृद्धिको सम्भावना
अर्को हुन खोज्ने बित्तिकै अस्थिरताको पाइजामा ।।

कोरोना है कोरोना
सबैलाइ भैदियो बाहाना ।

अप्ठ्यारोमा सहमती र आलोपालोको सम्भावना
सप्ठ्यारो हुनासाथै ‘मैँ खाऊँ,मैँ लाऊँ’को चाहना ।
कलमको घाँटी निमोठ्ने कस्तो निर्मम भावना !
प्रतिपक्षी स्वर निस्तेज गर्ने कस्तो हिटलरी कल्पना ।।

कोरोना है कोरोना
सबैलाई भैदियो बाहाना ।

अरूका लागि ल्याएको अध्यादेश बन्दैछ गलपासो
बालुवाटार छोड्नै नहुने यो सत्ता–लिप्सा कस्तो ?
आफन्तैलाई देख्न थाले विरोधी र परिचालितजस्तो
आफूबाहेक सबै बेठीक देख्ने यो मनोभावना कस्तो !

कोरोना है कोरोना
सबैलाई भैदियो बाहाना ।

हट्दा पनि नेकपा, आउँदा पनि नेकपा विपक्षीलाई के दोष !
बालुवाटार र खुमलटारको असन्तुष्टिमा कोटेश्वरको बेग्लै जोश ।
मध्यावधिको छ चाहना तर संविधानमा त्यो भेटिएन
विकास र समृद्धिको जनताको भोक कहिल्यै मेटिएन ।।

कोरोना है कोरोना
सबैलाई भैदियो बाहाना ।

… …. ….

लकडाउनको आज ३६औँ दिनको सन्दर्भका रचना गरिएको ।

१७ बैशाख , २०७७ ,नागार्जुन काठमाडौं ,नेपाल ।

(लेखक – पत्रकार एबं राप्रपा केन्द्रीय नेता हुन्)