घरमा धारा पुगेपछि माहिलीडाँडाका बासिन्दा हर्षित


हरेकपल April 30, 2020

तनहुँ, १८ वैशाख । व्यासनगरपालिका–१ माहिलीडाँडा वस्तीमा खानेपानी पुगेपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।

माहिलीडाँडामा गठित समितिले खानेपानी क्षेत्रमा काम गर्न नसकेपछि सोही वडास्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत योजना सम्पन्न गरेर घर घरमा खानेपानी पु¥याएपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका हुन् ।

समुद्री सतहबाट करिब ४०० मिटर उचाइमा रहेको उक्त बस्ती सदरमुकाम दमौलीदेखि करिब दुई किलोमिटर दूरीमा रहे पनि बत्तीमूनिको अँध्यारो जस्तो बन्न पुगेको थियो ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाको सपना बल्ल पूरा भएको सोही वडा निवासी श्रीराम गन्धर्वले जानकारी दिनुभयो । पानी बोकेर ल्याउनुपर्ने समस्या थियो । उहाँले भन्नुभयो, “सदरमुकामदेखि नजिक रहेर पनि दुर्गम क्षेत्रका बासिन्दाले जस्तो दुःख भोग्नुपरेको थियो ।”

लकडाउनको समयमा पनि अहोरात्र खटेर घर घरमा खानेपानी पु¥याउन गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै लकडाउन खुलेपछि विशेष कार्यक्रम गर्ने योजना बनाइएको माइलीडाँडा टोल विकास संस्थाकी अध्यक्ष सुनिता सुनारले जानकारी दिनुभयो ।

गत माघ महिनादेखि प्राविधिक तथा कर्मचारी निरन्तर रुपमा खटेका कारण उक्त क्षेत्रमा खानेपानी वितरण गर्न सफल भएको समितिका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । माइलीडाँडामा करिब १२ मिटर उचाइमा १० हजार लिटरका दुईवटा ओभरहेड ट्याङ्की राखेर त्यस क्षेत्रका बासिन्दालाई खानेपानी वितरणको व्यवस्था गरिएको छ ।

व्यासनगरपालिकाको रु १५ लाख र उपभोक्ता समितिको सहभागिता लागत रु चार लाख ५० हजार गरी रु १९ लाख ५० हजारको लगानीमा खानेपानी योजना सम्पन्न गर्न सकिएको समितिका सचिव राजेश्वर हड्खलेले बताउनुभयो ।

उहाँका अनुसार भौगोलिक दृष्टिकोणले माहिलीडाँडा उचाइ रहेका कारण पनि सहज रुपमा पानी वितरण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रमा रहेका ५४ घरपरिवारमध्ये २९ घरपरिवारमा बुधबारसम्म धारा जडान गरिसकेका छन् । नयाँ निजी धारा जडानका लागि निवेदन आएपछि अन्य उपभोक्ताको पनि क्रमिक रुपमा धारा जडान गरिनेछ ।

साढे १२ हर्ष पावरको मोटर प्रयोग गरी छाब्दी खोलाको बोरिङको पानी तानेर रिजर्भ ट्याङ्कीमा जम्मा गरी पानीलाई शुद्धिकरण गरेपछि पुनः दुई हर्षपावरको मोटरको सहायताले ओभरहेड ट्याङ्कीमा पानी चढाएर वितरण कार्य थालिएको हो ।

पानीको स्रोतलाई मध्यनजर गर्दै अहिलेलाई दिनमा एक घण्टा पानी वितरणको व्यवस्था मिलाइएको छ । अहिले परीक्षणकाल भएकाले एक हप्तापछि समय थप गर्न सकिने समितिले जनाएको छ । न्यूनतम शुल्क १७० मा एक घरपरिवारले एक महिनामा सात हजार लिटर पानी गर्न पाउनेछन् ।

उक्त समितिले हालसम्म वडाभित्र दुई हजार ३९५ धारा वितरण गरिसकेको उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । यस क्षेत्रमा मानिसको बढ्दो शहरीकरणका कारण पानीको स्रोतले धान्न गाह्रो हुँदै गएको उक्त समितिले जनाएको छ ।

निजी धारा जडानका लागि करिब ५०० जनाले निवेदन दिएका छन् । उहाँले भन्नुभयो, “यस क्षेत्रमा दीर्घकालीन रुपमा पानीको समस्या न्यूनीकरण गर्न मादीसेती लिफ्टिङ आयोजनाको सर्भे कार्य भइरहेको छ ।”

भिर भिरमा मह शिकारी

गलेश्वर – कोभिड–१९० को जोखिम हुन नदिन लकडाउन जारी रहदा म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको मटला भिरमा स्थानीयवासी जोखिम मोलेर मह निकाल्न व्यस्त रहेका छन् ।

लकडाउनको समयमा स्थानीय सङ्घसंस्थाको अनुमति लिएर मह शिकारीले डोरीको सहायताले भिरमौरीको गोला निकालेका हुन् ।

यहाँको अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुन्डिएर मह काढिरहेका छन् । तल बसेर हेर्दा अत्यन्तै त्रास र रोमाञ्चक लाग्ने यो दृश्यले मुटुको धड्कन बढाउँछ ।

भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ ।

यहाँको लुलाङ, हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले गोला लगाएका छन् । तिनै गोला काढ्नका लागि मह शिकारीहरु डोरी ९परङ० मा झुन्डिएर मह शिकार गरिरहेका छन् ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्ने गरिन्छ ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथीबाट तल भुईंसम्म डोरी ९स्थानीय भाषामा परङ० झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् ।

यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यलाई एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन यसको प्रयोग बढी भएको पाइएको छ ।

भिर महको याम शुरु भएपछि लुलाङ, गुर्जालगायतका जङ्गलमा रहेको भिर महमा मह शिकारी डोरी ९पाराङ० मा झुन्डिएर मह निकाल्न शुरु गरेका धवलागिरि गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थलगत रुपमा नै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले समेत भिर महको सम्भावना भए पनि आधुनिक विधिको प्रयोग गरी ज्यानको जोखिम टार्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।

“महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, विशेष प्रकारको धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने शिकारीले विशेष ध्यान पु¥याउनुपर्छ ।” योजना शाखाका प्रमुख सुवेदीले भन्नुभयो ।

परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुन्छ ।

मुख्य शिकारीले विशेष प्रकारको हतियार प्रयोग गरी निकालेको मह एउटा भाँडालाई डोरीको सहायताले भुईंसम्म ल्याउने गरिन्छ ।

“मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारीहरु जङ्गलमै आइपुग्छन् । बजारमा महको प्रतिलिटर रु दुई हजारमा जति पनि बिक्री हुुन्छ । अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यवसायीकरण बनाउँदै लैजानुपर्छ”, म्याग्दीका मह शिकारी ओमबहादुर जुग्जालीले भन्नुभयो ।

यस्तो जोखिम मोलेर निकालेको मह बजारमा रु एक हजारदेखि एक हजार २०० प्रतिलिटर बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग उच्च हुने गरेको मह व्यापारीले बताएका छन् ।

बन्दाबन्दीमा मस्जिदको अनुगमन तीव्र

दमौली – मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले तनहुँका विभिन्न स्थानका मस्जिद र मदरसाको अनुगमन शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमान धर्मगुरु ९जमाती० मा कोरोना सङ्क्रमण भेटिएपछि आयोगले देशभरका मस्जिद र मदरसाको अनुगमनका लागि समिति गठन गरेको छ ।

तनहुँ र स्याङ्जा जिल्लाको अनुगमन समितिको संयोजकको जिम्मेवारी पाउनुभएका प्रतिनिधिसभा सदस्य कलिला खानले जिल्लाका मस्जिद र मदरसाको अनुगमन शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिका–६ स्थित शेखाटार, शिशाघाट, शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारा, भीमाद नगरपालिका–१ स्थित किहुँ, भानु नगरपालिका–१३ स्थित सम्जुरलगायतका ठाउँमा रहेका मस्जिदको अनुगमन गरिएको छ ।

अनुगमन समितिका संयोजक खान, समितिका सदस्य सर्फु मियाँ, रफिक मियाँलगायतले जिम्मेवारी बाँडफाँड गरी मस्जिदको अनुगमन गरिरहनुभएको छ । जिल्लाका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको संयोजक खानले जानकारी दिनुभयो ।

मस्जिद अनुगमनका क्रममा मुस्लिम समुदायका व्यक्तिलाई कोभिड–१९ का बारेमा जानकारी गराउँदै यसबाट बच्न सकिने उपायका बारेमा जानकारी दिने गरिएको छ । “साबुनपानीले हात धुने, भीडभाड नगर्ने, मास्क लगाउनेलगायत विषयमा जानकारी गराउँदै सचेतना पनि फैलाएका छौँ”, उहाँले भन्नुभयो ।

बन्दाबन्दीका कारण मुस्लिम समुदायमा परेको समस्या र अवस्थाका विषयमा पनि जानकारी लिइएको र समस्यामा परेका मुस्लिम समुदायलाई आयोगले सहयोग गर्ने जनाएको छ ।
“मुस्लिम समुदायलाई बन्दाबन्दीको पूर्ण पालना गर्दै घरमा नै नमाज पढ्न आग्रह गरिएको छ, सोहीबमोजिम घर घरमा नै नमाज पढ्ने गरेको अनुगमनबाट जानकारी प्राप्त भयो”, संयोजक खानले भन्नुभयो ।

रमजानको महिना चलिरहेकाले अधिकांश मुसलमान समुदायले घरमै नमाज पढिरहेका छन् । “प्रत्येक मस्जिद र मदरसाको अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो, कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर बसेको पाइएको छैन”, उहाँले भन्नुभयो ।

समितिले स्याङ्जा जिल्लाका मस्जिदको अनुगमनका लागि समितिका सदस्य इस्लाम मियाँ र अनबर अली खटिनुभएको छ । उहाँहरुले वालिङ, रामखोला, गोगटेलगायतका मस्जिदको अनुगमन गर्नुभएको छ ।