काभ्रेपलाञ्चोक, १८ वैशाख । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि सामग्री वितरण गरेको हो । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) तथा मास्क वितरण गरिएको काँग्रेसका जिल्ला सचिव दिनेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको सङ्ख्याका आधारमा एक सेट पिपिइ तथा स्थानीय तहलाई २०० का दरले मास्क वितरण गरिएको हो । काँग्रेसको जिल्लास्थित एक टोली बनाइ स्थानीय तहको कार्यालयमा पुगेर ती सामग्री हस्तान्तरण भइरहेको लामाले बताउनुभयो ।
टोलीले पाँच नगर मण्डनदेउपुर, पाँचखाल, धुलिखेल, पनौती र नमोबुद्ध तथा भुम्लु, चौँरीदेउराली, रोशी गाउँपालिकामा स्वास्थ्य समाग्री वितरण गरिसकेको छ । बाँकी स्थानीय तहमा क्रमैसँग वितरण गर्दै जाने जनाइएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं टे«ड युनियन विभागका केन्द्रीय संयोजक शिवप्रसाद हुमागार्इँको नेतृत्वमा काभ्रेपलाञ्चोकका पूर्वसांसद तीर्थ लामा तथा जिल्ला नेता सुन्दरमणि आचार्य, रमेशप्रसाद हुमागार्इँ, गुणराज मोक्तान, रामशरण भण्डारी, सन्तोष गौतम, नारायण सापकोटालगायतको एक टोलीले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई कार्यालयमै स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
विशेषगरी स्वास्थ्यकर्मी कोरोना भाइरसको उच्च जोखिममा रहने भएकाले उनीहरुको सुरक्षार्थ स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रीय सदस्य एवं टे«ड युनियन विभागका केन्द्रीय संयोजक हुमागार्इँले बताउनुभयो । उहाँले भन्नुभयो, “वितरित स्वास्थ्य सामग्रीले कोरोना भाइरस न्यूनीकरणमा राहत पुग्ने विश्वास गरेका छौँ ।”