एसइई परीक्षा जेठ अन्तिम साता हुन सक्ने


हरेकपल April 30, 2020

काठमाडौं, १८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसइई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले सो सिफरिस गरेको हो ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई यससम्बनधी प्रतिवेदन बुझाएको छ । जसमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसइई परीक्षा गर्न सकिने उल्लेख छ ।

कार्यदलले एसइई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ । असार १५ सम्म दुवै परीक्षा सम्पन्न गर्न सकिने बताइएको छ ।

परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ । कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुने कार्यदलको सुझाब छ ।