जोखिम क्षेत्रमा परीक्षण सुस्त


हरेकपल May 1, 2020

काठमाडौँ । कोभिड–१९ संक्रमणको बढी जोखिम प्रदेश १ र २ मा देखिएको छ । प्रदेश १ मा ३१ र प्रदेश २ मा ८ जना संक्रमित भइसके पनि संक्रमण देखिएका जिल्लामा व्यापक मात्रामा परीक्षण हुन सकेको छैन । विज्ञहरूले भने सीमित किटबाट धेरै जनाको परीक्षण गर्न पीसीआरअन्तर्गत नै ‘पुल टेस्टिङ’ विधि अपनाउन सुझाव दिएका छन् ।

राष्ट्रिय कोभिड टेस्टिङ गाइडलाइनमा एउटा किटबाट १० वटा नमुनाको पुल टेस्ट गर्न सकिने उल्लेख छ । विज्ञका अनुसार यसले समय र लागतको बचत हुन्छ र किटको कमीको समस्या केही हदसम्म समाधान हुन्छ । सरकारले हाल मुलुकमा पीसीआरबाट १० हजार नमुना परीक्षण गर्न सकिने किट रहेको जनाएको छ । ‘पुल टेस्टिङ प्रक्रिया अपनाउँदा हाल मुलुकमा भएकै किटले करिब १ लाख नमुनाको पीसीआर परीक्षण गर्न सकिन्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागकी प्रमुख डा। वसुधा खनालले भनिन् ।

हाल विश्व स्वास्थ्य संगठनले समेत ट्रेस (खोजी), टेस्ट (परीक्षण), ट्रिट (उपचार) को प्रक्रियाअन्तर्गत कोभिड–१९ परीक्षणलाई व्यापक बनाउन सबै मुलुकलाई आग्रह गर्दै आएको छ ।

हाल मुलुकका १६ ठाउँमा पीसीआर परीक्षणको व्यवस्था गरिए पनि जाँचको संख्या उति धेर छैन । ‘हामीसँग पर्याप्त पीसीआर किट छैन, खोज्दा पनि उच्च मूल्य छ र पाउन पनि समस्या छ । त्यसैले आधिकारिक रूपमा परीक्षणको दायरा विस्तार गर्ने भनिए पनि बढेको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। बाबुराम मरासिनी भने, ‘रकम, किट र श्रमसमेत कम लाग्ने गरी अधिकतम परीक्षण गर्न पुल टेस्टिङ प्रक्रिया सरकारले किन सुरु नगरेको हो, थाहा पाउन सकिएको छैन ।’

राष्ट्रिय कोभिड टेस्टिङ गाइडलाइनमा पुल टेस्टिङबारे उल्लेख गरिएको छ । जसअनुसार १० वटा नमुनालाई एकै ठाउँ राखेर जाँच गर्न सकिन्छ । कुनै प्रयोगशालामा पीसीआरका लागि १ सयवटा नमुना आउँदा सामान्य अवस्थामा पुल टेस्टिङ अपनाएर १० वटा टेस्ट गरे पुग्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा। श्रवणकुमार मिश्रले भने, ‘पुल टेस्टिङ सुरु गरे हामी करिब ९० प्रतिशतसम्म लागत, किट, श्रम जोगाउन सक्छौं ।’ हाल क्वारेन्टाइनमा राखिएका तर लक्षण नदेखिएका व्यक्तिमा पुल टेस्टिङ गर्नुपर्ने उनले औंल्याए । कोभिड–१९ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको भने छुट्टा–छुट्टै पीसीआर गर्नुपर्ने उनले बताए ।

स्वास्थ्य मन्त्रालयमा समेत द्रुत परीक्षण किट ९आरडीटी० मा भर पर्नुको सट्टा पीसीआर परीक्षणमा पुल टेस्टिङ प्रक्रिया अपनाउनुपर्ने राय आइरहेको एक अधिकारीले बताए । उनले आरडीटी किट भित्रिएपछि पुल टेस्टिङमा ध्यान नदिइएको बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहप्रमुख एवं मेडिकल टेक्नोलजिस्ट विष्णु उपाध्यायले समेत स्वास्थ्य मन्त्रालयमा विज्ञहरुको बैठकमा पुल टेस्टिङका विषयमा छलफल भएको जानकारी दिए ।

लक्षण नदेखिने संक्रमितको पहिचान गर्न पुल परीक्षण प्रक्रिया अपनाउनु राम्रो हुने डा। खनालले बताइन् । हाल मुलुकमा ८४ प्रतिशतभन्दा बढी प्रयोगशाला प्रमाणित कोभिड–१९ संक्रमित एसिम्प्टोम्याटिक ९लक्षण नदेखिने० छन् । विज्ञहरूका अनुसार कुनै क्षेत्र विशेषमा सबै जनाको परीक्षण गर्नुपर्दा पुल टेस्टिङ अपनाउन सकिन्छ ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले समेत पुल टेस्टिङलाई स्वीकृति दिएको छ । आईसीएमआरको स्वास्थ्य अनुसन्धान विभागले कोभिड–१९ परीक्षण प्रक्रियामा तीव्रता ल्याउन पुल टेस्टिङ प्रक्रिया अपनाउनुपर्ने जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।