कोरोना महामारीमा प्रधानमन्त्रीको जालभित्र बामदेव


हरेकपल May 1, 2020

लाखौ मानिसको ज्यान लिइसकेको कोरोना महामारीबाट कसरी मानव समुदायलाई जोगाउने भन्नेतर्फ विश्वको समग्र ध्यान मोडिएका छ। दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो चुनौतीको रुपमा देखापरेको यो महामारीले ठूलाठूला शक्ति राष्ट्रहरुलाई समेत तहसनहस पारेको छ ।

विश्वभरिका मानिसहरू लक् डाउनको कारण घरभित्र बाँधिएर रहेको बेला नेपालका प्रधानमन्त्री महामारीको लक् डाउनको मौका छोपेर नेपाली राजनीतिमा ठूलो अस्थिरता पैदा गराउने र जनताको स्वास्थ्य र भोकसंग खेलबाड गर्ने फोहोरी खेल खेलिरहेका छन्। स्वास्थ्य सामग्री लगायत विभिन्न खरिद प्रकरणमा भ्रष्ट आचरण देखाएर नांगिएकाहरुको संरक्षण गर्दै आएका छन् प्रधानमन्त्री।

मुलुक महाबिपद्मा रहेका बेला, जनताको जीवन संकटमा रहेका बेला, मजदुरहरु भोकै तातो घाममा पैदल हिँड्दै घन्टौ लगाएर घर फर्कदै गरेका बेला, गरीब मजदुरका नाममा राजनीति गरेर सत्तासीन भएका प्रधानमन्त्री दल फुटाउने र विपक्षीको भूमिकालाई समाप्त पार्न गरिएका अध्यादेशका खेलमा लागे। रबर स्ट्याम्प राष्ट्रपतिसँग अध्यादेशमा लालमोहर लगाउन लगाएर राजनैतिक तरंग पैदा गरे। तर बिना सडकको भिड नै सामाजिक सञ्जालको विरोध थेग्न नसकेर अध्यादेश फिर्ता लिन् बाध्य भए।

लोकतन्त्रमा विरोधका लागि गरिने भिड बिना नै शासकका विरुद्ध दवाव सृजना गर्न सकिने रहेछ भन्ने उदाहरण अध्यादेश फिर्ता प्रकरणले प्रष्ट पारेको छ।

प्रधानमन्त्रीले राजनीतिक दाउपेच स्वरुप आफू कमजोर हुन थालेपछि अर्को जाल फ्याकेर माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रोपोगन्डा फैल्याएका छन्।

प्रधानमन्त्रीज्यू, के तपाइलाई थाहा छैन? चुनाव हारेको, प्रतिनिधि सभाको संसदको सदस्य नभएको मानिसलाई प्रधानमन्त्री बनाउन सकिँदैन भनेर। चुनाव हारेको मानिस बाङ्गो बाटोबाट, पछाडिबाट वा झ्यालबाट छिरेर मुलुकको कार्यपालिका प्रमुख प्रधानमन्त्री बन्नु र बनाउन प्रस्ताव गर्नु राजनीति मुर्खता र लोकतन्त्र माथिको तानाशाही कदम होइन र?

प्रधानमन्त्रीज्यू, संसदको सदस्य नभई, संसदीय दलको नेता नभई कसैलाई प्रधानमन्त्री बनाइदैन। तपाई अब कहाँबाट वामदेवलाई सांसद बनाउँदै हुनुहुन्छ? तल्लो सदनमा चुनाव हारिसकेका र समानुपातिकको सूचीमा नामै नभएका बामदेवलाई माथिल्लो सदनमा ल्याउन संविधान संशोधन गर्नुपर्छ। के तपाईंले बिर्सनुभयो प्रधानमन्त्रीज्यू? मुलुक कोरोना महामारीको विपतको घडीमा छ। पहिलेका मधेसी, जनजाति तथा दलितका समस्याहरु थुप्रै छन्। सबै कुरालाई थाती राखेर एउटा व्यक्तिलाई राज्यसत्ता हस्तान्तरण गर्न, संविधान संसोधन गर्नुहुन्छ? त्यसमा पनि वहाँ राष्ट्रको सर्वमान्य, लोकप्रिय r मुलुकले आवस्यकता ठानेको नेता पक्कै होइन।

अर्को कुरा प्रधानमन्त्रीको पद अहिलेसम्म खाली पनि भएको छैन। त्यस्तै तपाईं विरुद्ध अबिश्वासको प्रस्ताव पनि ल्याइसकिएको छैन। तपाईलाई महाअभियोग पनि लगाइएको छैन। तपाईले राजीनामा दिएर कुर्सी पनि खाली गर्नुभएको छैन। बरु तपाई महामारीको बीचमा पनि अध्यादेश ल्याएर र सांसद अपरण लगायतका घटना गराएर आफ्नो कुर्सी जोगाउन लागिरहनु भएकै छ। हुन त तपाईका प्रस्तावित प्रधानमन्त्री बामदेव पनि तपाईंको अर्को जाल हो, प्रोपोगान्डा हो। किनकि संबिधान विपरित कुरा अहिले सम्भव छैन। त्यसैले यो बामदेव प्रोपोगान्डाबाट भएपनि तपाई आफूलाई पार्टी भित्र साथ-समर्थन जुटाउनमा लाग्नु भएको हो।

अब जनताको कुरा गरौ, तपाइँहरु मध्येका या नेपाली राजनीतिका धेरै अनुहारहरु जो प्रधानमन्त्री भए पनि एउटा भ्रष्टचारीको सट्टा अर्को भ्रष्टाचारी आउने हो। मुलुकको जुनसुकै संकटमा रहेपनि तपाईहरु विभिन्न हत्कन्डा अपनाएर आफ्नो कुर्सी जोगाउने खेलमा लाग्नु नै हुनेछ। कुर्सी जोगाउन विभिन्न नामका भ्रष्टहरुलाई संरक्षण गर्नु सिवाय अर्को कुनै उपलब्धि हुने छैन। नत्र दुई तिहाइको सरकार र पार्टीभित्रैबाट पनि निर्वाध रुपमा काम गर्न पाएको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले अहिलेका विभिन्न काण्डहरु देखाइ सक्नु भएकै छ। अब पनि यस्तै यस्तै अनुहार आउने हुन् र यस्तै कर्मकाण्ड गर्ने हुन् भन्ने कुरामा जनतामा कुनै दुविधा छैन।

तपाई प्रधानमन्त्री र तपाईंको सरकारलाई कोरोना महामारीबाट नेपाली जनतालाई कसरी जोगाउने, लक् डाउनका कारण रोजीरोटी खोसिएको जनताको भोक कसरी मेटाउने, अलपत्र जनतालाई कसरी गन्तव्य सम्म पुर्याउने, भोलिका दिनमा आइपर्ने बेरोजगारी समस्यालाई कसरी सम्बोधन गर्ने र पढ्न नपाएका लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्यलाई कसरी अगाडि बढाउने, महामारीपछि विदेशबाट फर्किने लाखौ बेरोजगार युवालाई कहाँ व्यवस्थापन गर्ने र मुलुकको आर्थिक संकटसंग कसरी जुध्ने भन्ने विषयले रातको निन्द्रा हराउनु पर्ने थियो। त्यसका लागि योजनाहरु निर्माण हुनुपर्ने थियो। तर हामी नेपाली जनता यति भाग्यमानी कहाँ छौ र प्रधानमन्त्रीज्यू। तपाई त राजनीतिको फोहोरी खेलमा लाग्नु भयो। तपाई यो खेल खेलिरहनुहोस्। मुलुकलाई राजनीतिक अस्थिरताको भुमरिमा फसाई रहनुहोस्। कोरोना संक्रमणले जर्जर मुलुक र जनता भाँडमा जाउँन्। तपाईं र तपाइँ जस्तै शासकको जय होस्।