नेपाल कोरोना भाइरसको उच्च जोखिममा छैन, लकडाउन खुकुलो हुन सक्छ : स्वास्थ्यमन्त्री


हरेकपल May 1, 2020

काठमाडौं, १९ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दूरी कायम राखेर सहयोग गरेकाले नेपाल कोरोना भाइरसको उच्च जोखिममा नरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियससभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री ढकालले नेपालमा वेलैमा अपनाइएको सावधानीका कारण उच्च जोखिममा नरहेको दाबी गरेका छन् । दक्षिण पूर्वी एसियाको हिसाबले १० मुलुकमध्ये नेपाल कोरोना संक्रमणको अवस्था न्यून रहेको बताए ।

दक्षिण एसियामा पनि भुटान र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको उललेख गर्दै उनले भने, ‘यसले जसरी विश्वमा महामारीको अवस्था ल्याएको छ, त्यसमा गरिएका सावधानीले हामी उच्च जोखिममा छैनौं ।’

सुरुमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखे पनि अहिले सूचीबाट हटेको मन्त्री ढकालले बताए । कोरोना रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीमा सरकारले धेरै प्रगति गरेको मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले कृषि, उद्योगलगायतका क्षेत्रलाई मध्यनजर गरेर लकडाउन केही खुकुलो बनाउन विषयमा छलफल भइरहेको पनि जानकारी गराए । यद्यपि, काठमाडौंमा कोरोनाको संक्रमित नभेटिएकोमा भने ढुक्क हुन नहुने उनको भनाइ थियो ।