नेकपा विवादका विषयमा छलफल गर्न प्रचण्ड पुगे माधव नेपालनिवास


हरेकपल May 1, 2020

काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र चर्किएको विवादका विषयमा छलफल गर्नका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने अडानमा रहेका दुई नेतबीच भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बुधबार साँझ बसेको सचिवालय बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । त्यसको जवाफमा ओलीले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

दुई नेताबीच अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।