आज सीताजयन्ती, महिमासहित हेर्नुहोस् २०७७ वैशाख २० गते


हरेकपल May 1, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको२ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको नवमी तिथि बिहान ७।०० बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा नक्षत्र बेलुका ७।४५ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।२६ मा छ भने सूर्यास्त बेलुका ६।३८ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।


आज सीताजयन्ती पर्व परेको छ । मिथिलाका विदेहराजकी पुत्रीका रूपमा जगज्जननी सीता माता प्रकट हुनुभएको दिन वैशाख शुक्ल नवमी हो । विदेहराज खेतमा हलोजोत्दैगर्दा हलोको सीयोबाट भगवतीको प्रादुर्भाव भएका कारण सीता नाम रहनगएको हो । यसैगरी कसैको देहविना नै जन्मनुभएका कारण वैदेही पनि भनिन्छ । यसैगरी विदेहराज लाई नै जनक पनि भनिन्थ्यो । मिथिपछि जतिपनि मिथिलामा राजा भए सबै जनककका नामले पुकारिन्थे । जनक व्यक्ति नभएर पद हो । राजा जनककी पुत्री भएकीले वहाँनको नाम पनि जानकी रहनगएको हो ।
भगवान् श्रीरामको चैत्रशुक्लनवमीका दिन जन्म भएको थियो भने माता जानकीको वैशाखशुक्ल नवमीमा । यसरी सीतारामभगवान्कै नवमी तिथिमा जन्म भएकाले यस तिथि वा दिनलाई भव्य उत्सवका रूपमा मनाउने गरिन्छ ।


सीता माता साक्षात् लक्ष्मी हुनुहुन्छ । यसैले आजको दिन सीताराम भगवान्को लीला चरित्रगानका साथै सीता माताको उपासना विशेष लाभदायी रहने गर्दछ ।