कालीचरण र रोबोटीकरण


हरेकपल May 1, 2020

आज मे १ अर्थात् मजबुर दिवस । तपाईँ भन्नुहोला, मजदुर दिवस हुनुपर्ने । मेरो विचारमा सधैँ सास्ती पाएका मजदुरको दिवसलाई मजबुर (असहाय) दिवस नै भन्नु ठीक हुन्छ । झन् यसपाली त कोरोना कहर र एकान्तबासको प्रहरका बीच आएको छ यो । श्रम गर्न नपाएर दैनिक ज्यालादारी मजदुरहरू भोकभोकै हुनुपरेको छ । यस्तो बेलामा आएको यो दिनलाई मजबुर दिवस नै भन्न दिनुस् मलाई । तिनको ‘दिन’ फिरेका दिन मजदुर दिवस भनौँला ।

कवि ध्रुवकुमार सापकोटाको ‘मजदुर’ शीर्षक कविताका केही हरफहरू यहाँ राखूँराखूँ लाग्यो–

जब भुइँचालोले भत्काउँछ
म पुरिन्छु कारखानासँगै
जब आगो लाग्छ
म जिउँदै जल्छु ती प्रोडक्टसँगै
मान्छेको ज्यानभन्दा सम्पत्ति महत्त्वपूर्ण
समाचार बनेर आउँछ भोलिपल्ट
फलानो कारखाना जल्यो,
यति सम्पत्तिको क्षति भयो ।

कविताको पुछारतिर कवि लेख्छन्–

बलिदानको नाममा मेरो रगत बगाइन्छ
आखिर मलाई अघोषित शहीद बनाइन्छ
तर
म फगत एक मजदुर, एक कारिगर !
मलाई कुनै पदक र तक्माले सम्मान गरिँदैन
मलाई कसैले दोसल्ला ओढाउँदैन
!

(‘समीकरण जिन्दगीको’ कवितासङ्ग्रहबाट ।)

वास्तवमै मजदुरलाई अघोषित शहीद नै बनाइँदै आइएको छ । तिनको बलिदानको अपमान गरिँदै आइएको छ । तिनको पहुँच पुग्दैन राज्यले दिने सम्मान र सुविधामा । जब तक्मा र पदक पाउने बेला आउँछ, नेताको कपाल काट्नेहरूले मौका पाउँछन् । जब दोसल्ला ओढ्ने बेला आउँछ, गणेशप्रवृत्तिहरूले अवसर पाउँछन् । लाग्छ, सच्चा बलिदान गर्नेहरू भनेका अरूका निम्ति आन्दोलनका लागि मात्र काम लाग्ने हुन् । कारखानाका मालिकलाई धम्क्याएर चन्दा असुल्न मात्र प्रयोग हुने हुन् । नेताहरूले आह्वान गरेको हडताल र बन्दका लागि मात्र उपयोगमा आउने हुन् । कसैका झण्डा बोकिदिन, कसैले लेखिदिएका नारा लगाइदिन र जुलुसको शोभा बढाइदिनका लागि मात्र उपयुक्त ठानिने हुन् । यी त कुशका बाहुनजस्तै मात्र हुन्, जसको उपादेयता श्राद्धको कर्म सकिएपछि सिद्धिन्छ ।
०००
नेपालमै पनि संगठित रूपमा मजदुर आन्दोलन सुरु भएको साढे सात दशक जति भयो । बिराटनगरको जुट मिलबाट सुरु भएको आन्दोलनमा सहभागी नेता बीपी कोइराला, तत्कालीन मजदुर नेता गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी त मुलुकको प्रधानमन्त्री बन्न सफल भए । तर मजदुरको अवस्थामा भने खासै फरक आएन । यति हो, मजदुरका हक र हितका बारेमा संविधानमा हिजोका भन्दा धेरै कुरा परे । तर व्यवहारमा ती कुरा मजदुरले अनुभूत गर्न भने पाएका छैनन् । तिनको अवस्था तल उल्लिखित गीतका पङ्क्तिमा जस्तै छ –

कोही त भने जहाजमा सरर
कोहीको भने पसिना तरर
हाम्रो नेपालमा ।

(लय सङ्कलन तथा शब्द : रामेश, मञ्जुल ।)

गाई त दुहुने ढुङ्ग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन ।

(लय सङ्कलन तथा शब्द : ऐ.ऐ. ।)

हामी आज जति लोकतान्त्रिक उपलब्धिका कुरा गर्छौैँ, तिनका लागि भएका हरेक आन्दोलनमा मजदुरको योगदान छ । तर मजदुरको भागमा भने कवि रामप्रसाद ज्ञवालीको ‘म नाङ्गो पथ’ कवितामा भनिएजस्तो मात्र छ–

तिमीलाई भन्दै अनल अलकत्रा पनि पिएँ
सहेँ पीडा लाखौँ सबल पिचबाटो बनिदिएँ
तिमी हिँड्छौ हाँक्छौ मउपर सवारी प्रतिदिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

सहेँ लात्ती तिम्रो दिन दिन नयाँ जीवन दिन
बनेँ घोडा तिम्रो हरपल सवारी बनिदिन
सकेनौ खै कैल्यै बदलिन गुनी भै गुण लिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?

(कविको टाइमलाइनबाट साभार ।)

तिनीहरूले सोचेका थिएनन् यस्तो महामहारीमा सरकार मजदुरप्रति यति बेखबर बन्छ भनेर । तिनीहरू त हिजो यस्तो सोचेर आन्दोलनमा सरिक भएथे–

दुधैकुण्ड पानीको सराबर सराबर
हुनुपर्छ चमेली सबैलाई बराबर ।
(रचना तथा लय संकलन – ऐ.ऐ. ।)

बग्ने खोला रोकेर रुक्दैन, रुक्दैन
यस्तो चलन धेरै दिन टिक्दैन ।
हाम्रो नेपालमा ।

(रचना तथा लय संकलन – ऐ.ऐ. ।)
०००

मलाई यतिबेला भेट्न मन लागेको छ कालीचरणलाई । भेट्ने सम्भावना भने १ प्रतिशत मात्र देख्छु, (९९ प्रतिशत देख्दिनँ) । को हो कालीचरण भन्नुहोला ? लामो समय जेल नेल भोगेका गरिब दुखी, उत्पीडित र अन्यायमा परेका जनका लागि लडेका केपी शर्मा ओलीको साहित्यिक नाम हो कालीचरण । ओली अहिले नेपालको प्रधानमन्त्री पनि छन् ।

अझ राम्रोसँग चिनाउन कालीचरणले पोखराको बन्दीगृहमा बस्दा रचेको ‘खर्पन’ शीर्षको कविता यहाँ राख्छु –

म यही खर्पनमा हालेर हर दिन बेलुका
बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हर दिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु

हाम्रा धेरै पुस्ताहरू भएर यो खर्पन आएको छ, अथवा–
यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई

यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो, जसमा जिन्दगी हर दिन गुज्रिन्छ
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुकी पनि हो,
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो

मेरो जीवनको दियो जलाउने बत्ती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरूसँगको मेरो ‘जी–हजुर’, ‘तँ–तँ म–म’ सबै सम्बन्धहरू हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार–मेरो हाट जे भने पनि हुन्छ खर्पन ।
(सामाजिक सञ्जालबाट साभार ।)
०००

मजदुरको पीडा यति राम्ररी बुझ्ने कालीचरण पञ्चायतकालमा केपी शर्मा ओलीको हृदयमा बास गर्थे । देशमा प्रजातन्त्र आएपछि किन हो तिनी बेखबरजस्तै भएका छन् । के उनी अचेल ओलीसँग बस्दैनन् ! बुझ्न सकिएको छैन । कालीचरण झल्याकझुलुक देखा पर्दै नपरेका पनि होइनन् । एकपल्ट त्रिदिवसीय हिमवत्खण्ड साहित्य महोत्सवमा चन्द्रागिरि डाँडामा देखिए । त्यहाँ कविता पनि सुनाए उनले–

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ !
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम
सगरमाथा, लुम्बिनी, मेची र महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाऊँ
चन्द्रागिरिको डाँडोमा आएर सपनामा
भावी सन्तति मुस्कुराइरहेको देख्न पाऊँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाऊँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ ।
(सामाजिक सञ्जालबाट साभार ।)

कालीचरणका कविता पढ्दा उनले मजदुरका पीडा बुझ्न सक्तैनन् भनेर शङ्का गर्ने ठाउँ पाइँदैन । उनको सपना भावी सन्ततिलाई खुसी देख्ने नै छ । उनलाई परिवर्तनशील दुनियाँमा सधैँ कोही बाँच्दैन भन्ने बोध पनि राम्रोसँग छ । तर कोरोना कहरमा प्रधानमन्त्रीमा किन कालीचरणका कवितामा जस्तो संवेदना भेटिँदैन ? यसै प्रश्नको उत्तर खोज्न म कालीचरणलाई भेट्न खोजिरहेछु । तर भेट्ने कसरी ?

केआर खम्बूसँग सम्पर्ग राखे भेट्न पाइन्थ्यो कि ! पोहोर साल उनले लेखेको ‘छायाँको लस्कर’ किताबमा कालीचरणका गीत र कविताको उल्लेख गरिएको छ । किताब विमोचन कार्यक्रममा ओलीले पनि सम्झेका थिए, आफूले गीत कोर्ने र गाउने दिनहरूलाई । तर यो लकडाउनमा मलाई के भेट्न दिन्थे होला र बालुवाटारका भित्रियाहरूले । त्यसैले मैले भेट्ने आस १ प्रतिशतमात्र राखेको हुँ । आस मात्र, भरचाहिँ परेको होइन । ‘सिडियोले थाहा नपाएका कुरा कसरी थाहा पाउँछन् पत्रकारले ?’ प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति छापिन्छन् अखबारमा । यो पढेपछि त झन् अब कहिल्यै भेट्न नपाइने हो कि भन्ने डर चाहिँ छ मनमा । यसै डरको अभिव्यक्ति स्वरूप ‘कालीचरण तिमी कहाँ छौ ?’ शीर्षकमा कविता लेख्न लागेको थिएँ, त्यसले नपुग्ने देखेर मे एकको सन्दर्भ पारेर लेख नै लेख्न थालेँ ।
०००

कतै हाम्रा प्रधानमन्त्रीलाई बालुवाटार नामको खोपीको देवता त बनाइरहेका छैनन् ? यता जान्छ शङ्का । एकपल्ट राजा त्रिभुवन जेलको निरीक्षण गर्न गएका थिए रे । कैदीले भनेछन्, ‘महाराज ! हामी दुई छाक अघाउँजी खान पाऊँ ।’ त्रिभुवनले जेलका अधिकारीलाई सोधेछन्, ‘यिनीहरूले अघाउँजी दूधभात खान पाउँदैनन् ?’ खोपीको देउता बनाएका त्रिभुवनलाई के थाहा होस् देश दुनियाँको बारेमा । तिनलाई त त्यही थाहा हुने हो, जे राणाले बुझाउन चाहन्थे । प्रधानमन्त्रीको अभिव्यक्तिले यस्तै आभास हुन्छ । उनलाई साँचो कुरा थाहा दिइएको छैन । ‘खर्र्पन’ कविता लेख्ने कालीचरण उनीभित्र हुँदो हो त उनलाई सोच्न बाध्य पाथ्र्यो यो लकडाउनमा मजदुर के हालतमा होलान् भन्ने विषयमा । उनी कसलाई कुन आयोगमा अध्यक्ष बनाउने, कसको पार्टी कसरी फुटाउने भन्नेतिर यो समयमा लाग्ने थिएनन् । राजा ज्ञानेन्द्रले शाहज्यादा पारसलाई युवराज घोषित गर्न दशैँको समय रोेजेथे । सबैजना छुट्टीमा मान्यजनको आशीर्वाद थाप्न आआफ्ना घर गएको मौैकामा पारसलाई युवराज घोषित गरेका थिए । जनताको इच्छा विपरीतको काम गर्न उनलाई यो समय उपयुक्त थियो । दशैँ मनाउन छोडेर विरोध गर्न सडकमा जनता आउन नसकूँन् भन्ने उनको सोच थियो । आज पार्टी फुटाउन सजिलो बनाउन ल्याइएको अध्यादेशका लागि पनि लकडाउनको समय रोज्नु भनेको शाहीपथकै अनुशरण गर्नु हो ।

फेरि मन्त्री पनि कस्ता ! कुनै छलफलबिनै जस्तोसुकै अध्यादेश पनि बहुमतले पारित गरिदिई हाल्ने । हैन यी मन्त्री हुन् कि रोबोट ? रोबोटले पो जे भन्यो, त्यही गर्छ त । राष्ट्रपति पनि उस्तै रोबोटले झैँ छिटो अध्यादेश स्वीकृत गरिदिने । परिणाम त सोच्नुपर्छ । हिजो पार्टी विभाजनले ल्याएका विकृतिबारे त सोच्नुपर्छ । सोच्नुस् हिजोका दिन त भन्नुपर्छ । रोबोटको काम पो परिणाम सोच्ने होइन । अह्राएको काम गरिदिने हो । आदेश अनुसार चल्ने हो । जिम्मेवारतहमा बस्नेले पनि आफूलाई रोबोटीकरण गर्नुहुन्छ त ?

लाग्छ, मन्त्रीहरूले लोकतन्त्रको अर्थै बुझेका छैनन् । राजाले प्रजातन्त्रका नाममा अधिनायकवादको अभ्यास गर्न थालेपछि लोकतन्त्र शब्द स्थापित गरिएको हो । गणतन्त्र भन्ने शब्दले पनि नपुगेर लोकतन्त्र भनिएको हो । लोक शब्दले बोक्ने अर्थ त्यति विशाल छ । लोक शब्दले लोकका वनस्पति, जीवजन्तु, हिमाल, पहाड, तराई, नदी, कीटपतङ्ग सबैलाई बुझाउँछ । तर नेताहरू कुर्सी मात्र बुझिरहेका छन् । अझै शाही प्रवृत्तिप्रतिको मोहमा अल्झिएका छन् । कालीचरणको बास प्रधानमन्त्रीभित्रै भए यसरी रोबोटीकरण गर्न दिँदैनथ्यो लोकतन्त्रलाई ।

जताततै रोबोटीकरण बढिरहेको छ । पूर्व मन्त्रीसमेत भएका सांसद ‘अपहरणमा परेँ’ भनेर उजुरी दर्ता गर्न जान्छन् प्रहरीकहाँ । प्रहरी अधिकारीले दर्ता गर्दैनन् । उस्तै प्रकृतिका उजुरी पहिला दर्ता गरेका नजिर हुँदाहुँदै पनि दर्ता गर्न नमान्नु रोबोटीकरण नै हुनु हो । स्विच जसको हातमा उसकै मात्र आदेश मान्ने यो परम्परा र शाही परम्परामा अन्तर नै के रह्यो ! रोबोट बनाउनेलाई के छ, मन नपरे त्यसलाई भत्काइदिन सक्छ । भत्किने डरले यहाँ जोकोहीले आफूलाई रोबोटीकरण गरिरहेका छन् चाहे सांसद हुन् या मन्त्री या अन्यजन । रोबोटीकरणका लागि कोरोना उपयुक्त समय बनेको देख्रिन्छ राजनीतिक परिदृश्यमा । र त अहिले कोरोनाभन्दा सत्ताका समीकरणका समाचार बढी आइरहेछन् समाचार पत्रहरूमा ।

म भने कालीचरणलाई प्रधानमन्त्रीभित्र प्रवेश गराउन खोज्दै छु । कालीचरण प्रधानमन्त्रीभित्र प्रवेश हुने हो भने शाहीपथमा हिँड्न दिने छैन । लाखौँको बलिदानीले आएको लोकतन्त्रको स्वास्थ्यका लागि यो अति जरुरी पनि छ । नत्र देशलाई नै रोबोट बनाउन खोज्नेहरू सक्रिय हुने छन् । यसका लागि प्रधानमन्त्रीले एकछिनलाई म बालुवाटारमा छु भन्ने बिर्सनुपर्छ । आफू चढ्ने महँगा गाडीलाई बिर्सनुपर्छ । आफ्ना सुरक्षाकर्मीलाई बिर्सनुपर्छ । बालकोटको घर पनि बिर्सनुपर्छ । डेराबासका दिन सम्झनुपर्छ । जेलका यातना सम्झनुपर्छ । भोकभोकै बस्नु परेको अवस्था सम्झनुपर्छ । औषधी किन्न नसकेका पीडा सम्झनुपर्छ । हिजो भूमिगत कालमा जनताका माझ गाउने गीत सम्झनुपर्छ । आफैले लेखेका साहित्यिक सिर्जनालाई पढ्नुपर्छ । तर पहल गर्ने कसले ? रोबोट बनेकाहरूबाट यो सम्भव छैन ।

मलाई रोबोटीकरणको राजनीतिले लोकतन्त्रकै अन्त्यको पाठ (टेक्स्ट) त लेख्ने होइन भन्ने चिन्ता लागेको छ । त्यसैले अहिलेलाई रोबोटीकरणको पीडा बुझाउन कवि ध्रुवकुमार सापकोटाको ‘तिमी रोबोटसँग विवाह गर’ शीर्षकको कविताको एउटा अंश राख्दै म यो लेखको अन्त्य गर्दछु–

जब देश रुन्छ
रोबोट चुपचाप हेरिरहन्छ
रोबोटले आँसु बगाउँदैन
जब जनतामाथि दमन हुन्छ
तै पनि उसले कुनै प्रतिकार गर्दैन
गोला बारुद बन्दुकको आवाज सुनिरहन्छ
उसले कुनै क्रान्तिको गीत लेख्दैन
जब देश बेचिन्छ
उसले कुनै आवाज बुलन्द गर्दैन
देशप्रेमका कुनै अलाप गाउँदैन
ऊ लाटो भैदिन्छ
रोबोट सधैँ चुपचाप हुन्छ
ऊ क्रान्ति गर्दैन
तिमीलाई बडा सजिलो हुन्छ
रोबोटले कविता लेख्दैन ।