त्यस्तो कोरोना आइदिए हुन्थ्यो !


हरेकपल May 2, 2020

हातबाट
स्पर्शबाट
र्‍याल, सिँगानबाट
श्वास–प्रश्वासबाट
सर्छ भन्छन् – कोरोना ।
००

सबैबाट टाढा रहू भन्छन्
तातोपानी पिइराख भन्छन्
घरघरमै बस भन्छन्
एकान्तबासमा चुपचाप बस भन्छन्
माक्स लगाएर बस भन्छन् ।
००

कोरोनाको सम्मानमा
यो त हामी गरिरहेछौँ
पटकपटक गरौँला
ठीक पनि हौँला
निरोगी पनि रहौँला
भोलि खोप पनि आउला
औषधी पनि पत्ता लाग्ला ।
००

अहिले विश्वभरि
जसरी बसिरहेछन् मानिसहरू
हामी पनि बसौँला
बिस्तारै यो आततायी महामारी पनि बिदा होला
अनि
हाटबजार जाउँला
गाउँशहर डुलौँला
गोष्ठी–समारोहहरूमा जाउँला
साथीभाइहरूसँग गफ लडाउँदै
चिया दोकानहरूमा पनि बसौँला
रेष्टुराँहरूमा पनि पसौँला
जहाँ जहाँ मन लाग्छ
त्यहाँ त्यहाँ पुगौँला ।
००

कुरा यो कोरोनाको होइन
यो शारीरिक कोरोनाको होइन
यहाँ त धेरैमा
मनभरि कोरोना छ
विचारमा कोरोना छ
संस्कारमा कोरोना छ
राजनीति भन्नु पनि के
यहाँ प्रत्येक नेताहरूमा
सत्ताको कोरोना छ ।

कति ठेकेदार, उद्योगपति र व्यापारीहरू
गुण्डा, दलाल र तस्करहरू
कति वकिल, न्यायाधीश र प्रशासकहरू
कति डाक्टर, प्रोफेसर र वैज्ञानिकरू
भित्रभित्रै बिटुलो कर्मले
भित्रभित्रै अशुभ संस्कारले
भित्रभित्रै स्वार्थी तृष्णाले
पतितको अन्तिम सीमामा उभिएर
राष्ट्रलाई पतन, मात्र पतन बनाउने
अहिले यतिबेला
यी सबैलाई म
कोरोना, कोरोना मात्र देख्छु ।
००

अब यस्तो कोरोना
आइदिए हुन्थ्यो
तिनीहरूको हात होइन
मन धोइरहने
विचार पुछिरहने
मास्क होइन
प्रत्येक राष्ट्रघातीहरूको मुखुण्डो उतारेर
साँचो अनुहार देखाउन सक्ने
त्यस्तो कोरोना आइदिए हुन्थ्यो ।