काँडाहरूलाई पनि फूलजस्तै थापेर पोल्टाभरि


हरेकपल May 2, 2020

फूललाई जीवन ठान्नेहरू र जीवनलाई फूलजस्तै बनाउन खोज्नेहरू देख्छु जताततै । किन फूलको सौन्दर्य र मादकताभित्र अल्झेर फूलका पत्रदलमा भमरो हुन खोज्छ मान्छे ? तपाईं भन्नुहोला यो फूलका विरुद्धको कुरा हो । हो, फूल चिन्नु सौन्दर्य चिन्नु हो । फूल सुँघ्नु जीवनको मादकता सुँघ्नु हो तर जीवन फूल हो भने जीवनमा फूलको पन कति होला ? जीवनमा सौन्दर्य कति आयो होला ? जीवनमा सुगन्ध कति प्रवाहित भयो होला ?

जीवनमा देखिने सौन्दर्यभन्दा नदेखिने र अनुभव गरिने सौन्दर्य कैयौंगुना गम्भीर हुन्छ । जीवनमा सुँघिने सुगन्धभन्दा नसुँघिने र अनुभव गरिने सुगन्ध धेरैगुना महनीय हुन्छ । म फूल पत्रपत्रहरूमा जीवनमा देख्छु, जीवन सुँघ्छु । सौन्दर्य कहीँ छैन जीवनमा । सुगन्ध कहीँ छैन जीवनमा । फूलमै मात्र सीमित छ सौन्दर्य र सुगन्ध । जीवनमा सौन्दर्य र सुगन्धले प्रवेश नपाएर सङ्गतिको निषेधित क्षेत्र बनेको छ जिन्दगी, ठ्याक्कै मेरो देशजस्तै । अथवा अनूँ मजस्तै, ‘म’ हरूजस्तै ।

ऋषिमुनिहरूले फूलमा जीवनको गहिराइ देखे । रुसोले फूलमा ज्ञानको गहिराइ खोजे । हाम्रो देवकोटाले ‘कुसुमहरू यहाँ छन् वेद्का पत्रतुल्य’ भनेर फूलभित्र ज्ञानको विराट्ता देखे । म फूलको बाहिर देखिने रङ मात्र पनि ग्रहण गर्न नसकेर किंकर्तव्य विमूढ छु यतिखेर । फूलको सौन्दर्य र सुगन्ध नाप्न खोज्नेहरूले जीवनको सुगन्ध र सौन्दर्यलाई कति नाप्न सके ? अथवा मैले कति नाप्न सकेँ ? प्रश्नहरू मेरा अगाडि उभिन्छन् नौलाख तारा बनेर ।

हुन त देशलाई फूल बनाउँछु भन्नेहरूले काँडा मात्र बनाएका र बगैँचालाई काँडाघारी बनाएका दृश्यहरू टुलुटुलु हेरेर हामी हाँसिरहेछौँ मुर्दाशान्ति दृश्यहरूमा । देशमै गति नभएपछि र पूmल हाँस्ने ठाउँमा काँडाले अट्टहास गर्न र घोच्न थालेपछि जीवनको गीत गाउने लय र सुरतालहरू पनि जेठको खडेरीका स्याउला बनेपछि भत्किने नै भयो जिन्दगीको सारेगम ।

तर, मलाई फूलभन्दा काँडा मन पर्छ भनेँ भने तपाईंहरूले मलाई मगज खुस्केको ठान्नु होला, अथवा सनकी सोच्नु होला । तपाईं पत्याउनुस् वा नपत्याउनुस् ! मैले काँडामा जीवनको रस देखेको छु र षोडशीले मधुप्यालामा खन्याएको मधुरसभन्दा धेरै गम्भीर रमरम मादकताले भरिएको देखेको छु काँडाका टुप्पाबाट निस्केको जीवनरस । फूलले जीवनको सौन्दर्य र सुगन्ध पठाउला तर जीवन बाँच्न सिकाउँछन्, अझ भनौँ बाँच्ने कला सिकाउँछन् काँडाहरूले ।

जीवनमा दुःखका अनेकौँ पहाडहरू फोरिए । जीवनमा युद्ध नै गर्नु छ भने ससाना थुम्काथुम्कीहरूसँग किन ? ठुलै पहाडहरूसँग युद्ध गर्नुको आनन्दै बेग्लै । पहाडलाई पल्टनबाजी खुवाएपछिको मजै अर्को । त्यसैले पहाडसँगको युद्ध अर्थात् दुःखका पहाडहरूसँगको सङ्घर्ष, अनि त्यसमाथि विजयको झन्डा फहराउँदा प्राप्त हुने असीमित आनन्दको अनुभूतिलाई मैले पटकपटक साक्षात्कार गरेको छु ।

कतै पढेको थिएँ– दुःखसँग प्रेम गर्न नजान्नेहरूले जीवनको कखरा पनि चिनेका हुँदैनन् । म दुःखमा भएका बेला बीस हात पर रहेका हितैषी (?) र आफन्तहरू सुखमा भएका बेला एकसेन्टिमिटर नजिकै आएर मेरै प्रशास्तिका स्वस्तिवाचन गरेको पनि देखेको छु । अरूहरूमाथि/तिनीहरूमाथि/उनीहरूमाथि पटकपटक आग्नेयास्त्रहरू बर्सिंदा आफू सुरक्षाकवच बनेर अगाडि तेर्सिएका बिम्बहरू पनि अगाडि आइरहेछन् यति बेला ।

मलाई दुःखका पहाडहरू गोवद्र्धन पर्वतजस्तै लाग्छन् । गोवद्र्धन पर्वत एउटा मिथक हुनसक्छ र हनुमानले उचालेर ल्याएको पर्वत पनि एउटा मिथक हुनसक्छ तर श्रीकृष्णले उचालेको गोवद्र्धन पर्वत र हनुमानले उचालेर ल्याएको पर्वत यी दुवैले मथुराबासी र रामका भाइ लक्ष्मणलाई बचाएकै हुन् त ! म यी दुवै पहाड÷पर्वतमा जीवनको रहस्य देख्छु र देख्छु जीवनको गति पनि ।

मेरो घरको कौसीमा एकजोडी परेवाले गुँड बनाए । चुच्चाले घाँसका त्यान्दाहरू बटुलेर तिनले गुँड बनाएको दृश्य मेरो पढ्ने कोठाको झ्यालबाट नजिकै देखिन्छ । मेरो अलिकति ठूलो आवाजले पनि तिनका जीवनको लय भत्किन्छ । एक मन त लाग्छ– गुँड लगेर कतै राखिदिऊँ तर सक्दिनँ । त्यही गुँडमा परेवाले फुल पार्छ । केही दिनपछि चल्ला कोरल्छ । माउ परेवाले आहार खोजेर ल्याएर चुच्चाले खुवाउँछ बचरालाई । म यति बेला लेखनाथको– ‘उपर दलिनमा गौँथली बस्दा…’ पङ्क्तिहरू सम्झेर भावुक हुन्छु ।

दुःखकै पहाड फोरेर बनाएका हुन् परेवाले गुँड । शून्य क्षितिजमा घाँसका त्यान्द्राहरू बटुलेर गुँड बनाउँदा गरेका दुःख र पसिनाको मूल्य माग्नु छैन परेवालाई बचराबाट । मेरो पढ्ने कोठामा भर्खरै पसेका मेरा एकजना मित्रले पनि देखिरहेका छन् परेवाका क्रियाकलाप । उनले भनि पनि हाले– पोथी परेवाभन्दा भाले परेवा निकै सक्रिय देखिन्छ त ? म हाँसेँ मात्र । मैले परेवाको कुन भाले र कुन पोथी भन्ने कुरा अहिलेसम्म छुट्याउन सकेको थिइनँ । उनले शारीरिक बनोट र आकारप्रकारका केही भिन्नताहरू बताए । मेरो दिमागबाट डिलिट भएर गए एकछिनमै ती कुरा ।

दिनको एकपटक कम्तीमा अनायासै परेवाको गुँडका दृश्यमा ठोकिन्छन् मेरा आँखा र द्रवित हुन्छ मन । केही दिनपछि कालाकाला पखेटा उम्रन थाल्छन् बचराको शरीरमा र देख्न थाल्छु फ्याट्फ्याट् भ्याट्भ्याट् उड्ने प्रयास । आँखै अगाडि भुर्र उड्छ बचरो । भुर्र उड्छन् बचराहरू ! बचराहरू आफ्ना अर्कै नयाँ गुँडको सृजनामा लागेको कल्पना गर्छु म । ती फर्कँदैनन् पुरानो गुँडमा । सायद तिनलाई बिरानो लाग्छ पुरानो गुँडको आँगन । मलाई दार्शनिक पाइथागोरसको जीवनको गतिसम्बन्धी दर्शनको सम्झना हुन्छ र वेदको चरैवेति पनि ।

म झल्याँस्स तन्द्राबाट ब्युँझिएजस्तो हुन्छु । एक झोंक्का तन्द्रामा मैले आफूलाई परेवा ठान्छु र एकछिन झकाउँदा सोच्छु– मेरो गुँड त भत्केको छैन ! म परेवाको गुँड हेर्छु, त्यो सबुत छ ।
दर्शनका सूत्रहरूजस्तै रुखो बलौटे जिन्दगीमा मरुद्यान बनाउने सपना सँगालेको म त्यही उद्यानमा फूलहरू रोप्न खोज्छु र रोप्छु पनि । भोलि बिहान उठ्दा फूलहरू काँडामा रूपान्तरित हुन्छन् । फूल रोपेर काँडा उमार्ने कति विपर्यास जिन्दगी ! म काँडालाई फूल सम्झेर सुमसुम्याउँछु, मुसार्छु । फल सम्झेर काँडालाई सुमसुम्याए पनि काँडा सम्झेर फूललाई दुत्कार्न सकिनँ मैले ।

काँडा र पूmलका कुरा सोच्दा, काँडा र फूलका कुरा गर्दा अनि जीवनसङ्घर्षका प्रसङ्ग चल्दा र दुःखसुखका उकाली ओरालीहरूमा गहिरिएर घोत्लिँदा अझ जीवनयात्राको सिलौटे पाटीमा भोगाइ र दुःखका वर्णमालाहरू लेखिरहँदा आनीले गाएको गीत मस्तिष्कमा तरङ्गीत हुन्छ–
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

यस पङ्क्तिमा मैले सकारात्मक सोचको सन्देशभन्दा पनि जीवन बाँच्ने कला देखेको छु र देखेको छु जीवनको सार्थक बचाइ पनि । काँडा र फूलमा कति विरोधाभास देख्छ मान्छे । काँडालाई पर फ्याँकेर फूल टिप्छ मान्छे । फूलको सौन्दर्य, फूलको सुगन्ध कहाँ निरपेक्ष छ र काँडासँग ? मान्छेको स्वार्थीपनप्रति मलाई टिठ लाग्छ ।

एकछिन कल्पना गर्नुहोस्– चौबिसै घण्टा घाम मात्र लागेर उज्यालै उज्यालो मात्र भयो भने कस्तो होला मान्छेको जीवनशैली ? त्यति बेला कति ठूलो होला अँध्यारोको महत्त्व ? कति महिमामय होलान् प्रातः, सन्ध्या र रात्रिहरू ?

म फूल र काँडामा पनि उही र उस्तै महक देख्छु । उज्यालो र अँध्यारोमा पनि जीवनको लय उसरी नै बगिरहेको हुन्छ : मात्र तार चुँडिनु हुँदैन सितारको, तार चुँडिनु हुँदैन सारङ्गीको । नत्र कसरी झङ्कृत हुन्छन् सप्तरागहरू ?

मैले सुरूमै भनेँ– ‘मलाई सुगन्धहीन जीवन मन पर्दैन’ यो अहिले आएर बुझेको हुँ । अब थप्छु– ‘मलाई रङ्गहीन जीवन पनि मन पर्दैन’ तर, अहिलेसम्म जीवन नसुगन्धयुक्त बन्न सक्यो न रङ्गीन नै । सुगन्धहीनता र सुगन्धको भेउ पाउन सकेन जिन्दगीले । रङ्गहीन जीवन र रङ्गीन जीवनको सीमारेखा छुट्याउन सकेन जिन्दगीले । यो पृथक्ता छुट्याउन र छुट्टिन नसक्ने यो बबुरो जिन्दगीको नियतिलाई पूmल र काँडाको भेउ पाउन नसकेजस्तै अनुभव गर्दैछु म ।

दार्शनिकहरू भन्छन्– सुख र दुःखको भेद छुट्याइयो भने सुखको र प्राप्तिको अभिलाषामा मान्छे दुःखी हुन्छ । सम्मै भएकै जाती सबै कुरा । काँडा र फूलमा समदर्शी हुनसके किन घोच्छन् र काँडाहरूले ? कतिपय कुरामा अज्ञानता पनि सुखको कारक बनिदिन्छ । मेरा एकजना आफन्त भित्र छन्– अचानक पूरै श्रवणशक्ति गुमेका ! मैले केही कुरा हातको इसाराले र केही कुरा चिच्याएर समेत भनेपछि उनले गम्भीर भएर भने– ‘मलाई त अहिले श्रवणशक्ति गुमेको पनि ठीक लाग्न थालेको छ, कमसे कम नराम्रा नमीठा कुरा सुन्न त परेको छैन ।’

जिन्दगी फूल बन्यो, बनेन थाहा छैन, तर काँडाले अरूलाई घोचेको छैन र बिझाएको छैन भनिरहँदा म आत्मश्लाघाको भर्याङ पनि चढेको छैन भन्ने कुरा गर्वका साथ भन्ने आँट र हैसियत भने छ भन्छु म । जिन्दगीका दुःखहरू काँडा हुन् र सुखहरू फूल हुन् भने काँडाहरू जम्मै मैले लिएर फूलहरू जम्मै अरूलाई दिन सकेको स्थिति वा दिएको क्षण म हृदयदेखि नै पूर्ण सन्तुष्टिको उत्कर्षमा पुगेको हुनेछु ।

एकजना मेरा मित्र छन् र सायद मेरो दैनिकीलाई नजिकैबाट छामेर होला, उनी भन्ने गर्छन्– ‘तपाईंको जिन्दगीत कस्तो यान्त्रिक ?’ मलाई उनको टिप्पणी बेठीक लागेन । यान्त्रिक जिन्दगी हुनु भनेको जीवनमा गति र लय नहुनु हो, पोखरीको पानीजस्तै । अर्थात् रङ्गहीन र सुन्धहीन जीवन !

म बाटामा हिँड्दै छु र त्यहाँ भेटिन्छन् बयरका उल्टा काँडाहरू । म जिन्दगीको चौबाटाका बीचमा उभिएको छु र चारैतिर काँडेतारका बारहरूले छेकिदिएको भान हुन्छ मलाई । बाटामा/बाटाहरूमा सिउँडीका काँडा, लोंडेका काँडा, कण्टकारिका काँडा अनि सिस्नोका मसिना काँडा ! अनगिन्ती काँडाहरू भोगेको शरीर लिएर, काँडाहरूकै सुमधुर सङ्गीत सुनेका कानहरू लिएर, काँडाहरूकै चुच्चाहरूले घोचिएको गिदी लिएर अविश्रान्त यात्रा गरिरहेको छु म । दुःखसँग प्रेम नगरी हिँड्न सकिँदैन काँडाहरूमा । तपाईं भन्नुहोला, यो सुखविरोधी कुरा हो । सानो झुपडीको खाटमा गुन्द्री ओच्छ्याएर सुतेको मीठो निद्रासँग चारतले घरको पलङमा सुतेको बेचैनीको अनिद्रा कसरी तुलनीय होला र खै ? म जीवन बाँच्ने कला पहिलो निद्रामा देख्छु ।

भीष्मपितामह वाणहरूकै तीक्ष्ण शरशøयामा सुतेका हुन् । वाणका तीखा सुइराहरू पनि त काँडै हुन् । भीष्मपितामह फूलको बिछ्यौनामा सुतेको मलाई थाहा छैन । मलाई गर्व लाग्छ उनको त्यागमा । त्याग र समर्पणमा जति आनन्द आउँछ, जति सन्तुष्ट हुन सकिन्छ, सायद त्यति सन्तुष्टि र आनन्द उपलब्धि र प्राप्तिमा हुँदैन । अरूबाट लिनुभन्दा अरूलाई दिनुमा हुने चरम आनन्द र सन्तुष्टिको तुलना केहीसँग हुँदैन ।

दर्के झरीमा आपूm रुझेर अरूतिर छाता ढल्काउन खोज्ने र ग्रीष्मको चर्को घाममा पनि छाता अरूतिरै ढल्काएर आफूले घाम तापेरै हिँड्नेहरूलाई स्वाङ रचेको भन्नेहरूको पनि यहाँ कमी छैन । म यति बेला कौसीमा गुँड बनाएर बसेका परेवालाई निर्मिमेष हेरिरहेछु । जिन्दगी काँडामा टेकेपछि फूल भएर त मुस्कुराउँदो रहेछ तर मस्तिष्कमा झनन्न पार्दोरहेछ नाङ्गै खुट्टा हिँड्दा बिझेका काँडाले कहिलेकाहीँ ।

अहिले मेरा आँखा परेवाका बचरामाथि पर्छन् । भुर्र उड्ने अभ्यासमा सानो फन्को मारेर त्यहीँ आएर बस्छन् बचराहरू र एकछिनपछि टाढै पुग्छन् । म सम्झन्छु कवि घिमिरेका कवितांश– ‘बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन् ।’ समयले काँडे जीवनका घाउहरू के कसरी पुर्ला थाहा छैन ।

मेरो पिताजीको निधनका बेला गरुडपुराण लगाउँदा कथा भन्ने क्रममा पण्डितले भनेको एउटा वाक्य सम्झन्छु– ‘वृद्धावरण लागेपछि छोराछोरीका लागि पनि काँडाजस्तो भइन्छ ।’– पण्डित यथार्थ बोध गराउँदै थिए हामीलाई । सेतो कपडामा बेरिएका हामी ज्ञानी बालकले कुरा सुनेझै सुन्दैथ्यौँ त्यो कुरा । त्यो कथा र यथार्थबोध निकै नजिकजस्तो लाग्दैछ । सायद उनले व्यावहारिक यथार्थको बोध गराएको हुनुपर्छ ।

मलाई काँडाको अर्थ निकै गहिरो लाग्यो । मेरो घरको छानामा दश एघारओटा गमला छन् र तिनमा विभिन्न थरीका फूलहरू रोपिएका छन् । सुन्दर र सुगन्धमय फूलहरू गमक्क फुल्ने छन् भन्ने मीठो सपना सँगालेर बसिरहेको छु म । भित्र मनमा कतै आशङ्काको सानो बीज सलबलाउँछ । प्रश्नहरूले काण्ड, हाँगा हुँदै पातहरूमा समेत विचरण गर्छन्–

भोलि तिनमा फूलका सट्टा काँडामात्र पलाए भने ?
ती काँडा घोच्ने र तीखा भइदिए भने ?

दुःख र पीडालाई प्रेम गर्ने म फूलहरू काँडामा रूपान्तर भएको हेर्न त सक्दिनँ तर काँडालाई प्रेम गर्ने ममा अनयासै कहिले काहीँ काँडाप्रति नकारात्मक भाव पलाउन थाल्यो भने मेरो छैटौँ इन्द्रियलाई त्यो मन पर्दैन । यहाँनेर मलाई व्याकरणका अनेकार्थक शब्दजस्ता लाग्छन् काँडाहरू ।

फूल मुस्कुराएको कसलाई मन पर्दैन र ? तर काँडाले बोल्ने भाषामा म जीवनको अर्थ खोजिरहेछु, आकाशमा उड्ने पङ्क्षीजस्तै उन्मुक्त, बगैँचामा फुलिरहेको फूलजस्तै स्वच्छन्द अनि नदीको पानीजस्तै निश्छल । यही अर्थमा म देखिरहेको छु जीवनको अर्थ ।

म अहिले रात्रिको निस्तब्धता र नीरवतामा एकाकी र शून्य अवस्थामा झोक्राएर बसिरहेको छु र अनेकौँ नोस्टाल्जिक बिम्बहरूले मलाई लखेटिरहेका छन् । दुःख र सङ्घर्षका पहाडहरूले पनि लखेटिरहेका छन् । एक हूल सपनाहरूले पनि लखेटिरहेका छन् र अनागत कोलाज बिम्बहरूले पनि खेदिरहेका छन् । म मरेपछि बाँचेका सपनाहरूले पनि आतङ्क मच्चाएर लखेटिरहेका छन् । खेदिरहेका छन् अनवरत । ती सबैले ममाथि बसाईरहेछन् काँडाहरू । कालो पोतिएका अमूर्त कष्टक बिम्बहरूको लखेटाइबाट आक्रमित मभित्रको मान्छे प्रत्याक्रमण नगरीकनै मुस्काइरहन्छ ।

एकछिन गए पनि आफूलाई स्थितप्रज्ञजस्तै बनाउने चेष्टा गर्न पाएकामा म पुलकित हुन्छु । राग, द्वेष, भाव, अभाव, जय, पराजय आदिआदि सबैबाट निस्पृह हुन पाए कसरी लखेट्छन् काँडाहरूले ? काँडाको आक्रमणलाई फूलले प्रत्याक्रमण गर्न पाए ? मलाई लाग्छ– फूलले जित्थ्यो र काँडाले हाथ्र्यो । काँडालाई पूmलमा रूपान्तर गर्न सके ? मभित्र अर्को प्रश्न उब्जिन्छ । त्यसो हुँदा फूलैफूलको मात्र आक्रमण र प्रत्याक्रमण कति सौन्दर्ययुक्त र सुगन्धमय हुन्थ्यो होला ?

काँडाहरूका अनगिन्ती वर्षाहरूले निथु्रक्क भिज्छु म । शिव भएर हलाहल पिउन नसके पनि सोचाइहरू आउँछन् आफैभित्र–
–ती काँडाहरूलाई फूल सम्झिदिए के हुन्छ ?
–काँडाले हान्नेहरूलाई फूलले जवाफ फर्काए के बिग्रन्छ ?
–कसैको खुट्टामा काँडा बिझ्यो भने त्यो झिकिदिँदा के बिग्रन्छ ?
–काँडाहरूमा फूलैफूल मुस्कुराएको देखिदिए के हानि हुन्छ ?
–अरूलाई नराम्रो गर्दा पो बिग्रन्छ, राम्रो गर्दा के बिग्रन्छ ?
अनेकौँ प्रश्नहरूका अनेकौँ कोलाज बिम्बहरू आउँछन् मभित्र ।

मैले काँडालाई माया गर्छु भनेर म सौन्दर्यविरोधी हुन खोजेको होइन, सुगन्धविरोधी पनि हुन खोजेको होइन, फूलविरोधी हुन खोजेको पनि होइन, सुखविरोधी हुन खोजेको पनि होइन र होइन जीवनविरोधी हुन खोजेको पनि ।

बरु, काँडालाई माया गर्नु भनेको दुःखलाई माया गर्नु हो । पीडालाई माया गर्नु हो । कतै पढेको सम्झना हुन्छ– आजभन्दा तीनदशक अगाडि– ‘दुःख र पीडालाई एकपटक हृदयदेखि मायाले चुम्बन गरेर हेर, त्यहाँ तिमीले जीवनको मीठो रहस्य पाउने छौ ।’ – म अहिले सम्झन सक्दिनँ, यो भनाइ कसको थियो । तीन दशक अगाडि कुनै हिन्दी साहित्यको पुस्तकमा पढेको यो वाक्य जीवन बाँच्ने मन्त्रजस्तै लागिरहेछ मलाई ।

दुःख र पीडालाई माया नगरी कहाँ बुझ्न सकिँदो रहेछ र जिन्दगीको रहस्य ? ! फूललाई माया गर्नु जिन्दगीलाई माया गर्नु रहेछ । काँडालाई माया गर्नु त झन् जिन्दगीको सुक्ष्मताभित्र पसेर त्यसको रहस्य पो खोतल्नु रहेछ । समुद्रको पिँधमा पाइने मणि पो रहेछ काँडासँग माया गर्नुको गहिराइ ।

ठूला पहाडी चट्टान रहेछन् काँडाहरू । दुर्भेय र अनुलङ्घेय शिखर रहेछन् काँडाहरू र पूmल त ती चट्टान र शिखरहरूका गर्भगृहबाट निस्केको शीतल जल पो रहेछ जीवनको । एउटा लुप्त रहस्यको पर्दा उघारेर जीवनको नाटक हेरिरहेको जस्तो लागिरहेछ मलाई । सायद ब्रह्मवेत्ताहरू यसैलाई तत्वज्ञान भन्छन् ।

मलाई सबैसबैका दुःखका काँडा, पीडाका काँडा, अभावका काँडा, पीरका काँडा आपूmले मात्र लिन मन लाग्छ र दिन मन लाग्छ सुन्दर फूलका सुन्दर बान्कीहरू । म सबैसबैका सबै काँडाहरूलाई फूलजस्तै थापेर पोल्टाभरि उभिनेछु तिम्रो स्वागतार्थ ।

मेरा प्रियजनहरू ! मेरो जीवनको अवसानपछि मात्र देख्ने छौ तिमीहरूले – मेरो चिताबाट निस्किएर दिग्दिगन्त फैलिँदै गरेको धुवाँमा बनेका अक्षरआकृतिहरू अर्थात् अक्षरबिम्बहरू, जसमा लेखिएको हुनेछ– काँडा दिँदा फूल सम्झेर स्वीकार गर्ने मान्छे ! काँडालाई पनि फूल मानेर पोल्टाभरि थापिरहने मान्छे ।