तीन मुक्तक


हरेकपल May 2, 2020

प्रश्न

खुइलिएका टालाहरू रङ्गाएर, आदर्शको तुल बनाउँदै हुनुहुन्छ
भत्किएका अनाम सपना तार्न, षड्यन्त्रको पुल बनाउँदै हुनुहुन्छ
खुलेआम आफूभित्रको इमान र नैतिकता खोलामा बगाएर
भन्नुस् महाशय ! अचेल तपाईं कस्तो स्कुल बनाउँदै हुनुहुन्छ ?

सुझाव

हिँड्दाहिँड्दै इज्जतको इँजार चुँडियो भने कि त गाँस्नु पर्छ, कि त फेर्नुपर्छ
हातले समाउँदै माथि पुग्न सकिन्न, कि त त्यसलाई अड्याउन अर्को डोरी बेर्नुपर्छ
मूर्ख र लिँडे स्वभावले लाज ढाक्छु भन्नू, रमिता मात्र हो महोदय !
लाज ढाक्न त कि आफू सम्हालिनु पर्छ, कि त अरूले भनेको टेर्नुपर्छ ।

सम्बन्ध

अनायास स्टेसनमा भेटिएका थियौँ, रेल छुट्यो, सकियो
सुन्दर माला बनेर गाँसिएका थियौँ, धागो टुट्यो, सकियो
सम्बन्ध पनि माटाका घैँटामा बोकेको, गङ्गाजलजस्तै हुँदोरहेछ
हिँड्दा–हिँड्दै ट्वाक्क ठोकियो, प्याट्ट फुट्यो, सकियो ।
०००